
आज विश्वकपमा प्रि-क्वाटरफाइनलका अन्तिम दुर्इ खेल हुँदैछ। उरुग्वे, फ्रान्स, ब्राजिल, बेल्जियम, रसिया र क्रोएसिया क्वाटरफाइनलमा पुगिसकेका छन्। आज ७:४५ मा स्वीडेनविरुद्ध स्विटजरल्याण्ड र ११: ४५ मा इंग्ल्याण्डविरुद्ध कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गर्नका लागि संघर्ष गर्नेछन्। ‘गर या मर’ को अवस्थामा रहेको टोलीका केही खेलाडीमाथि सबैको नजर रहनेछ।
मार्कस बर्ग (स्विडेन)
मार्कस बर्ग स्विडेनका मुख्य गोलकर्ता हुन्। जुनियर टोलीहरुमा रहेर धेरै गोल गरेकाले उनलार्इ स्वीडेनमा स्भार्टी मार्कसको नामले बोलाउने गरिन्छ। २००८ बाट अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेका बर्गले स्विडेनका लागि ६० खेलमा १८ गोल गरिसकेका छन्।
जेर्डन शाकिरी स्विटजरल्याण्ड
अल्पाइन मेसीका नामले परिचित जेर्डन शाकिरीले स्विटजरल्याण्डबाट ७३ खेलमा २१ गोल गरेका छन्। २६ वर्षीय शाकिरीले विश्वकपका छनौट खेलमा उत्कृष्ट प्रदर्शन गरी स्विटजरल्याण्डलार्इ अन्तिम २६ मा पुर्याएका हुन्।
ह्यारी केन (इंग्ल्यान्ड)
२४ वर्षीय टोटेनह्याम हटस्परका स्ट्राइकर ह्यारी केन इंग्ल्यान्डका कप्तान हुन। उनले इंग्ल्यान्डका लागि २६ खेलमा १८ गोल गरेका छन्। युवाहरुको वर्चश्व रहेको इंग्ल्यान्डको नेतृत्व गरिरहेका ह्यारीले ट्युनिसिया विरुद्धको पहिलो खेलमा दुर्इ गोल गरी आफ्नो टोलीलार्इ विजयी बनाएका थिए। पानामा विरुद्धको खेलमा केनले हयाट्रिक गर्दै इंग्ल्यान्डलार्इ ६-१ ले विजयी बनाएका थिए।
इंग्ल्यान्डका लागि युवा चरणदेखि नै खेल्दै आएका ह्यारीले युवा जोशले भरिएको इंग्ल्यान्डको टोलीको नेतृत्व गरिरहेका छन्। २०१७ मा 'गार्डियन'ले वेस्ट फुटबलर अन द प्लानेटको सूचीमा पाचौं नम्बरमा राखेको थियो।
एररी मिना कोलम्बिया
२३ वर्षीय एररी मिना कोलम्बियाली फुटबल टोलीका प्रभावशाली युवा खेलाडी हुन्। जापानसँग पराजित भएको आफ्नो टोलीलार्इ उनले अन्तिम १६ मा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। समूह चरणमा सेनेगल र पोल्याण्डलार्इ पराजित गर्ने क्रममा उनले १-१ गोल गरि कोलम्बियाको जितलार्इ सहज बनाएका थिए। मिनाले कोलम्बियाबाट १४ खेलमा ५ गोल गरिसकेका छन्।हाल बार्सिलोनाबाट फुटबल खेल्ने एररी मिनाका बुबा र काका दुवै व्यवसायिक गोलकिपर थिए। इंग्ल्यान्डसँगको खेलमा उनले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्ने अपेक्षा गरिएको छ।