ठूला प्रतियोगिताको पेनाल्टी सुटआउटमा बेहोर्दै आएको हारलाई ब्रेक लगाउँदै इंग्ल्याण्डले रसिया विश्वकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ।
मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४-३ ले हरायो।
विश्वकपमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा पुगेर खेल जितेको यो पहिलोपटक हो। यसबाहेक सन १९९६ को युरोमा पनि इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा स्पेनलाई हराएको थियो।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमा भएको हो। जहाँ इंग्ल्याण्डलाई जिताउन गोलकिपर जोर्डन पिकफोर्डले माटेउस उरिवको पेनाल्टी रोके भने कोलम्बियाका कार्लोस बाक्को प्रहार बाहिरियो।
इंग्ल्याण्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन, मार्कोस रासफोर्ड, किरण ट्रिपर र एरिक डारले गोल गरे। जोर्डन हेन्डरसनको प्रहार कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले रोके।
कोलम्बियाका लागि कप्तान राडेमल फाल्काओ, जुवान कुअड्राडो र लुइस मुरिएलले मात्र गोल गरे।
कोलम्बियाले लगातार ३ पेनाल्टी गोलमा परिणत गर्दै इंग्ल्याण्डको तेस्रो पेनाल्टी रोक्दै अग्रता बनाएको थियो। तर लगत्तै पिकफोर्डले पेनाल्टी रोकेपछि इंग्ल्याण्ड खेलमा फर्केको हो।
इंग्ल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि स्वीडेनसँग खेल्नेछ। इंग्ल्याण्ड सन् २००६ पछि पहिलोपटक क्वाटरफाइनल पुगेको हो।
यसैगरी कप्तान ह्यारी केनले रसिया विश्वकपमा अहिलेसम्म ३ खेल खेल्दै सर्बाधिक ६ गोल गरिसकेका छन् र गोल्डेन बुटको होडमा अगाडि छन्।
इंग्ल्याण्डका लागि पेनाल्टी रोकेका पिकफोर्ड हाल प्रिमियर लिगमा एभरटनबाट खेल्नछन्। ८ वर्षको उमेरमै सण्डरल्याण्डको युथ एकेडेमीमा पुगेका उनले सन् २०११ मा सण्डरल्याण्डको सिनियर टिमसँग सम्झौता गरेका थिए। तर त्यसपछि लगातार ६ क्लबमा लोनमा बिताए र अन्तत: गत वर्ष देखि उनी एभरटनको पहिलो रोजाइको गोलकिपर छन्। उनले एभरटनसँग ५ वर्षे सम्झौता गर्नुअघि डार्लिङटन, अल्फ्रेटोन टाउन, बर्टन अल्विओन, चार्लिस्ले युनाइटेड, ब्राडफोर्ड सिटी र प्रेस्टन नर्थ एण्डमा लोनमा बिताएका थिए।
उनले २०१७ नोभेम्बरमा वेम्वलीमा जर्मनीविरुद्ध खेल्दै इंग्ल्याण्डका लागि डेब्यु गरेका थिए।
पहिलोपटक ठूलो प्रतियोगिता खेलरहेका पिकफोर्डले रसियामा समूह चरणका ३ वटै खेल पहिलो रोजाइमा रहेर खेलेका थिए।
विश्वकपमा पेनाल्टी सुटआउटमा पेनाल्टी रोक्ने पिकफोर्ड दोस्रो इंग्लिस खेलाडी हुन्। यसअघि १९९८ मा डेविड सिअमनले अर्जेन्टिनाका हर्नान क्रेस्पोको पेनाल्टी रोकेका थिए।