
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहीबार बस्ने स्थायी समिति बैठकको एजेण्डा तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो। सचिवालय बैठकबाट पार्टीको पार्टीको विधान, नियमावली र राजनीतिक प्रतिवेदन पारितको तयारी गरिएको छ।
कार्यदलस्तरबाट बनेको प्रतिवेदन परिमार्जनसहित पारितको तयारी गरिएको हो।
जेठ ५ गतेको सचिवालय बैठकले विधान, नियमावली र राजनीतिक प्रतिवेदन तयारीका लागि फरक फरक समूह गठन गरेको थियो। १५ दिनको समय दिइए पनि एक महिनाभन्दा लामो समय बितिसकेको छ।
केन्द्रमा पार्टी एक भए पनि तल्लो तहहरुमा पार्टी एकीकरणको प्रक्रिया प्रारम्भ भएको छैन। विधान र नियमावली पारित गरी तल्लो तहको एकीकरणको गाँठो फुकाउने कसरतमा नेकपा छ।
सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।
नियमावली र विधान नभएका कारण तल्ला तहहरुमा एकता हुन सकेको छैन। नेकपाले यसअघि प्रदेश, जिल्ला र प्रवासमा समेत एकता प्रक्रिया अघि बढाउन कार्यदल भने गठन गरेको थियो। विधान र नियमावली टुंगो नलाग्दा कार्यदलले पनि काम गरेका छैनन्।
तल्ला तह र जिल्ला कमिटिहरुमा तत्काल अध्यक्ष र सचिवमात्र राखेर एकता प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।