PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

क्वार्टरफाइनल प्रिभ्यू : चार पूर्व विजेतादेखि पहिलोपटक क्वार्टरफाइनल पुग्नेसम्म



पहिलोपोस्ट

क्वार्टरफाइनल प्रिभ्यू : चार पूर्व विजेतादेखि पहिलोपटक क्वार्टरफाइनल पुग्नेसम्म

रसिया विश्वकप २०१८ को क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुङ्गो लागेको छ। अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि क्वार्टरफाइनल समीकरण पूरा भएको हो।

इंग्ल्याण्डको जितपछि अन्तिम ८ मा पुग्ने ८ मध्ये ६ टोली युरोपबाट छन् भने दक्षिण अमेरिकाबाट २ टोली छन्।

यस्तै ८ मध्ये ४ राष्ट्र पूर्वविजेता समेत हुन्। आयोजक रसिया पहिलोपटक क्वार्टरफाइनलसम्म पुगेको हो।

युरोपबाट रसियासँगै फ्रान्स बेल्जियम क्रोएसिया स्वीडेन र इंग्लयाण्डले क्वार्टरफाइनल खेल्नेछन् भने दक्षिण अमेरिकाबाट पाँच पटकको च्याम्पियन ब्राजिल र उरुग्वे छन्। दुई अमेरिकन टोलीसँगै फ्रान्स र इंग्ल्याण्ड पूर्व विजेता हुन्।

अब क्वार्टरफाइनलमा फ्रान्स र उरुग्वे तथा ब्राजिल र बेल्जियम भिड्नेछन्। यी दुई खेलको विजेता सेमिफाइनलमा भिडनेछन्। यस्तै रसियाले क्रोएसिया तथा स्वीडेनले इंग्लयाण्डको सामना गर्नेछ। विजेताले सेमिफाइनल खेल्नेछन्। दुबै पोलको विजेता फाइनल पुग्नेछन्।

अन्तिम १६ मा ३ खेलको नतिजा पेनाल्टी सुटआउटबाट हुँदा ३ खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। आयोजक रसिया र स्पेन, क्रोएसिया र डेनमार्क तथा इंग्ल्याण्ड र कोलम्बियाबीचको खेल पेनाल्टीमा पुगेको हो।

फ्रान्स र अर्जेन्टिनाबीचको पहिलो खेलमा ७ गोल हुँदा फ्रान्स ४-३ ले विजयी भयो। अर्को खेलमा काभानीको दुई गोल मद्दतमा उरुग्वेले पोर्चुगललाई २-१ ले हरायो।

एसियन टोली जापानले २ गोलको अग्रता जोगाउन नसक्दा बेल्जियमसँग ३-२ ले पराजित भयो। ब्राजिलले भने मेक्सिकोमाथि २-० को जित निकाल्यो। अर्को खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १-० को साँघुरो अन्तरले पराजित गर्‍यो।

यसपटक साना टोलीहरुले पनि अप्रत्यासित नतिजा निकालिरहेका छन् र त्यो प्रिक्वार्टरफाइनलसम्म कायम छ। यसैको रिजल्ट हो ३ पूर्व विजेता घर पर्किसक्नु। अब बाँकी ८ खेलमा पनि अझै प्रतिस्पर्धा र रोमाञ्चक हुने अपेक्षा छ।

कस्ता छन् क्वार्टरफाइनल पुग्ने ८ टोली?

क्वार्टरफाइनल खेल्नेमध्ये ब्राजिल (२) र बेल्जियम (३) वरीयतामा सबैभन्दा माथि छन्। यस्तै क्रोएसिया (२०) र रसिया (७०) बीचको खेल सबैभन्दा तल्लो वरीयतामा रहेको टिमबीचको खेल हुनेछ।

 

ब्राजिल  (फिफा वरीयता : २)

विश्वकप र फुटबल दुबैको पर्यावाची शब्द नै हो ब्राजिल। फिफा वरीयतामा दोस्रो स्थानमा रहेको ब्राजिल क्वार्टरफाइनल पुग्दासम्म अपराजित छ। समूहको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेल्दा गोल खाएको ब्राजिलले त्यसयता गोल नखाई खेल जितेको छ। कोस्टारिकालाई इन्जुरी टाइममा दुई गोल गरेको ब्राजिलले सर्वियालाई पनि २ गोल गर्दै समूह विजेता बनेको थियो।

प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई २-० ले नै पराजित गर्दै ब्राजिल लगातार सातौँ पटक क्वार्टरफाइनलमा पुगेको हो। १९९४ र २००२ मा ब्राजिलले विश्वकप नै जितेको थियो। पाँच पटकको च्याम्पियन ब्राजिल १६ वर्षपछि विश्वकप ट्रफी चुम्दै कीर्तिमानी ६ पटक च्याम्पियन बन्ने दाउमा छ।

विश्वकै महँगा खेलाडी नेमार, युवा स्टार गाब्रीएल जेसस, फिलिप काउटिन्हो विलियन पाउलिन्हो कासेमिरो जस्ता खेलाडीको साथ पाएको ब्राजिल जस्तोसुकै नतिजा पनि निकाल्न सक्छ।

चारवर्षअघि घरेलु भूमिमै भएको विश्वकपमा सेमिफाइनलमा जर्मनीसँग ७ गोल खाएको ब्राजिल यसपटक उपाधि जित्दै उक्त घाउमा मलम लगाउन चाहन्छ।

 

बेल्जियम (फिफा वरीयता : ३)

ब्राजिलपछि तेस्रो वरीयतामा रहेको टिम हो बेल्जियम। ‘रेड डेभिल्स’को उपनामले परिचित यो युरोपेली राष्ट्रको वर्तमान टिमलाई ‘गोल्डेन जेनेरेसन’ समेत भनिन्छ। तर बेल्जियम अहिलेसम्म क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन। यसपटक बेल्जियमले पाँच पटकको च्याम्पियन ब्राजिलसँग खेल्नेछ।

समूह चरणको ३ वटै खेल जित्नेमध्ये एक बेल्जियमले अहिलेसम्म सर्वाधिक गोल समेत गरेको छ। कुनै पनि बेला गोल गर्न माहिर र बलिया फरवार्ड रोमेलु लुकालु, कप्तान एडेन हाजार्ड जस्ता खेलाडी उत्कृष्ट फर्ममा छन्। क्लबमा उत्कृष्ट खेलेका केभिन डे ब्रुएनाले भने यस पटक सोचेजस्तो खेल देखाउन सकिरहेका छैनन्।

बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ तथा इंग्ल्याण्डलाई १-० ले हराएणको थियो। प्रिक्वार्टरफाइनलमा जापानविरुद्ध २ गोलले पछि परे पनि उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले ३ गोल फर्कायो र खेल जित्यो। विश्वकपमा यस्तो भएको यो ४८ वर्षयता पहिलो हो। विश्वकपमा अन्डर डगको छवि बनाएको बेल्जियम सम्भावित नयाँ च्याम्पियनको रुपमा हेरिएको छ। त्यसका लागि बेल्जियमले यसअघिका कमजोरीलाई सच्याउँदै उत्कृष्ट खेल खेल्नु आवश्यक छ।

तेस्रो पटक क्वार्टरफाइनल खेल्न लागेको बेल्जियम पहिलोपटक अन्तिम चारमा पुग्ने दाउमा छ।

 

फ्रान्स (फिफा वरीयता : ७)

प्रिक्वार्टरफाइनलकै सबैभन्दा धेरै गोल भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा २ गोल गर्दै अर्जेन्टिनालाई घर पठाउन भूमिका खेलेका किलिएन एमबाप्पेले पेलेको कीर्तिमान नै बराबरी गरे।

समूह चरणमा राम्रो खेल्न नसकेको भन्ने आरोपलाई फ्रान्सले प्रिक्वार्टरफाइनलपछि चिरेको छ। युवा खेलाडीहरुको वर्चस्व रहेको फ्रान्सले कुनै पनि बेला खेललाई परिवर्तन गरिदिन सक्छ।

समूह चरणमा फ्रान्सले अष्ट्रेलियालाई २-१ तथा पेरुलाई १-० ले हराएको थियो भने अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो।

एमबाप्पेसँगै ग्रीजमन, पोग्वा, जिरुड, कान्टे, मटुइडी, डेम्बेले अनी गोलकिपर कप्तान ह्युगो लोरिस फ्रान्सका मुख्य खेलाडी हुन्।

फिफा वरीयतामा सातौँ स्थानमा रहेको फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेसँग खेल्दैछ। प्रतियोगितामा बलियो डिफेन्सलाइन भएको टोलीमा पर्छ उरुग्वे।

सन् १९९८ मा घरेलु भूमिमै उपाधि जितेको फ्रान्स २० वर्षपछि पुन: उपाधि जित्ने योजनामा छ।

 

उरुग्वे (फिफा वरीयता : १४)

रसिया विश्वकपमा उपाधिको दाबेदारको रुपमा नहेरिए पनि पनि अहिलेसम्मको प्रदर्शनले दक्षिण अमेरिकी टोली उरुग्वेले पनि आफूलाई उपाधि दाबेदार बनाएको छ। समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको उरुग्वेले प्रिक्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो। कप्तान डिएगो गोडिनको नेतृत्वमा प्रतियोगिताकै उत्कृष्ट डिफेन्सलाइन भएको उरुग्वेविरुद्ध गोल गर्न जो कोहीलाई कठिन हुने गर्छ।

लुइस सुआरेज र एडिनसन काभानीको जोडी अग्रपंत्तिमा निकै जमेका छन्। यी दुईको आक्रमण विपक्षीको लागि टाउको दुखाई बन्ने गर्छ। तर पोर्चुगलविरुद्धको खेलमा घाइते भएका काभानी क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध फिट हुने/नहुने पक्का छैन। क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध खेल्ने उरुग्वेले फाइनलसम्म पुग्न बलियो चुनौती पार गर्नुपर्नेछ। फ्रान्सलाई हराएको खण्डमा उरुग्वेले सेमिफाइनलमा ब्राजिल वा बेल्जियमसँग खेल्नुपर्छ।

सन् १९३० को पहिलो र १९५० को चौथो संस्करण जितेको उरुग्वे १९५४ र १९७० मा चौथो भएको थियो। त्यसयता अन्तिम १६ मा अल्झदै आएको उरुग्वे २०१० मा पनि सेमिफाइनल पुग्दै चौथो भएको थियो।

 

इंग्ल्याण्ड (फिफा वरीयता : १३)

ठूला प्रतियोगिता खेल्नुअघि इंग्ल्याण्डको टोली बलियो देखिन्छ। समूह चरण पार गर्न पनि ‘थ्री लायन्स’लाई कुनै गाह्रो हुँदैन तर नकआउट चरणमा भने इंग्ल्याण्डको खेल सम्हालिन्न। इंग्लिस टोलीलाई यो आरोप लाग्दै आएको छ। सन् १९६६ मा च्याम्पियन बनेयता इंग्ल्याण्ड एकपटक १९९० मा मात्र सेमिफाइनलसम्म पुगेको छ। नत्र अन्तिम १६ वा क्वार्टरफाइनलबाटै आउट हुने गर्छ।

तर यसपटक भने युवा कप्तान ह्यारी केनको नेत्तृत्वमा रहेको इंग्लिस टोली त्योभन्दा राम्रो गर्ने योजनामा छ। बेल्जियम रहेको समूहमा उपविजेता बनेको इंग्ल्याण्डले प्रिक्वार्टरफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पारजित गर्दै २००६ यता पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाएको छ।

र इंग्ल्याण्डले विश्वकपमा पेनाल्टी सुटआउट जितेको यो पहिलो र ठूलो प्रतियोगितामा दोस्रो पटक हो। १९९६ को युरोमा पनि इंग्ल्याण्ड पेनाल्टी सुटआउट जितेको थियो। पहिलोपटक पेनाल्टीमा विजयी १२ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो।

इंग्ल्याण्डले अब स्वीडेनसँग क्वार्टरफाइनल खेल्दैछ र यो खेल जितेमा आयोजक रसिया वा क्रोएसिया एक सेमिफाइनल अपोनेन्टका रुपमा हुनेछ। इंग्ल्याण्डलाई यसपटक फाइनल पुग्ने राम्रो अवसर छ। कप्तान ह्यारी केन आफैँ ६ गोल गर्दै गोल्डेन बुटको होडमा अगाडि छन्। उनीपछि रहेका बेल्जियमका रोमेलो लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको समान ४ गोल छ। यद्यपि रोनाल्डोको टिम बाहिरिसकेको छ।

केनसँगै अग्रपंत्तिमा रहिम स्टर्लिङ मिडफिल्डमा जेस लिनगार्ड, डेली अली, लेफ्टस चिक डिफेण्डरमा केल वाल्कर, जोन स्टोन्स र किरण ट्रिपरले राम्रो खेलिरहेका छन्। यस्तै युवा गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाविरुद्ध सुटआउटमा पेनाल्टी रोकेका थिए।

 

स्वीडेन (फिफा वरीयता : २४)

स्वीडेनलाई धेरैले यसपटक समूह चरण पार गर्नेमै शंका व्यक्त गरेका थिए। हुन पनि विश्व विजेता जर्मनी मेक्सिको र दक्षिण कोरिया जस्ता टिम रहेको यस समूहबाट समूह विजेता बन्न सजिलो पक्क थिएन। तर दक्षिण कोरिया र मेक्सिकोलाई पराजित गरेको स्वीडेन गोलअन्तरमा अगाडि रहँदै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्यो। यसै समूहबाट विश्वविजेता जर्मनी आउट भयो।

स्वीडेनले समूह्यको अन्तिम खेलमा मेक्सिकोलाई ३-० ले पराजित गरेको थियो। जर्मनीविरुद्ध भने अग्रता लिएर पनि इन्जुरी टाइमममा गोल खाँदै पराजित भएको थियो।

२४ वर्षपछि क्वार्टरफाइनलमा पुग्ने क्रममा स्वीडेनले स्वीट्जरल्याण्डलाई १-० ले हरायो। ८ प्रिक्वार्टरफाइनलमध्ये यो नै निर्धारित समयमा कम गोल हार-जित भएको खेल बन्यो।

स्वीडेननले क्वार्टरफाइनलमा इंग्ल्याण्डसँग खेल्दैछ। सन् १९५८ मा आफैँले विश्वकप आयोजना गर्दा फाइनल पुगेको स्वीडेनले पुन: त्यस्तै नतिजा निकाल्न सकेको छैन। सन् १९९४ मा सेमिफाइनलसम्म पुगे पनि ब्राजिलसँग पराजित भएको स्वीडेन बुल्गेरियालाई हराउँदै तेस्रो बनेको थियो। त्यसयता यो टोली पहिलोपटक क्वार्टरफाइनल खेल्दैछ। स्टार स्ट्राइकर ज्लाटन इब्राहिमोभिकले सन्यास लिए पनि स्वीडेन कुनै एक खेलाडीको भरमा टिकेको छैन भन्ने गतिलो उदाहरण रसियामा दिइहरको छ। अहिले टिममा कुनै स्टार खेलाडी छैनन् तर भेट्रान डिफेण्डर आन्द्रेज ग्राण्डक्भिस्टको कप्तानीमा रहेको स्वीडेनले टिम गेम खेल्दै आएका छ।

 

क्रोएसिया (फिफा वरीयता : २०)

सन् १९९८ को डेब्यु विश्वकपमै सेमिफाइनलसम्म पुगेको सनसनी मच्याएको क्रोएसिया त्यो उपलब्धि दोहोर्‍याउँदै यसपटक अझ अगाडि पुग्ने दाउमा छ।

समूह चरणका तीनवटै खेल जित्ने तीनमध्ये एक टिम रहेको क्रोएसियाले क्वार्टरफाइनल पुग्न भने डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउनुपर्‍यो।

९० को दशकमा मात्र राष्ट्रिय टिम निर्माण गरेको क्रोएसियाले पहिलोपटक १९९८ को विश्वकप खेलेको थियो। जर्मनीजस्तो टिमलाई क्वार्टरफाइनलमा हराएको क्रोएसिया त्यतिबेला प्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो। फ्रान्सपछि ब्राजिललाई हराउँदै च्याम्पियन बन्यो। क्रोएसिया भने नेदरल्याण्ड्सलाई पराजित गर्दै तेस्रो भएको थियो। २००२, २००६ र २०१४ मा समूह चरणबाट बाहिरिएको क्रोएसिया २०१० मा छनोट हुन सकेन। क्रोसिएन टिम १९९८ यता पहिलोपटक क्वार्टरफाइनल खेल्दैछ र १९९८ को टिमले बनाएको कीर्तिमानलाई पछि पार्ने योजनामा छ।

क्रोएसियाले समूह चरणमा नाइजेरियालाई २-० ले हराउँदै विश्वकप सुरुवात गरेको थियो। दोस्रो खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई ३-० ले स्तब्ध बनाएको क्रोसियाले आइसल्याण्डलाई २-१ ले पारजित गरेको थियो।

कप्तान लुका मोडरिकको प्रेरणादायी साथ पाएको क्रोएसियाका लागि इभान राकिटिक, मारियो मान्डुकिच, इभान पेरिसिक जस्ता उत्कृष्ट खेलाडी छन्।

 

रसिया (फिफा वरीयता : ७०)

पहिलोपटक विश्वकपको आयोजना गरेको रसियाले पहिलोपटक क्वार्टरफाइनलमा पुग्दै इतिहास बनाइसकेको छ। तात्तकालीन शोभियत युनियनबाट टुक्रिएपछि सन् १९९४ मा रसियन टिमले विश्वकप फुटबल खेल्न थालेको थियो र त्यसयताको यो सबैभन्दा राम्रो नतिजा हो।

रसियाले प्रिक्वार्टरफाइनलमा सन् २०१० को च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटममा हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो।

सबैको अनुमान विपरीत समूहको सुरुको दुई खेल आरामले जित्दै प्रिक्वार्टरफाइनलमा स्थान बनाएको रसियाले समूहको अन्तिम खेलमा भने उरुग्वेसँग हारेको थियो। रसियाले साउदी अरेबियालाई ५-० तथा इजिप्टलाई ३-१ ले पराजित गरेको थियो।

अहिले विश्वकप खेलिरहेकामध्ये रसिया सबैभन्दा तल्लो वरीयता टिम हो। तैपनि रसियाले घरेलु मैदान र समर्थकको अगाडि राम्रो खेलिरहेको छ। अब रसियाले सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँग खेल्नेछ।

शोभियत युनियन एक भएर खेल्दा सन् १९९६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell