
नाइजेरिया फुटबल टोलीका कप्तान जोन मिकेल ओबीका बुबा विश्वकपमा अर्जेन्टिनासँगको खेलअघि अपहरणमा परेको खुलेको छ। उनको बुबा सात वर्षमा दोस्रो पटक अपहरणमा परेका हुन्। माइकल ओबी र उनका ड्राइभरलार्इ बन्दुकको निशानामा २६ जुनमा अपहरण गरिएको थियो। प्रहरीको सहायतामा सोमवार अपहरणमा परेका दुवैलार्इ मुक्त गरिएको थियो।
अर्जेन्टिनासँगको खेलहुनु ४ घण्टा अघि मिकेलले आफ्ना बुबा अपहरणमा परेको थाहा पाएका थिए। उनी बसमा अर्जेन्टिनासँगको खेलका लागि स्टेडियम जादैं गर्दा परिवारका सदस्यले फोन गरी अपहरणमा परेको जानकारी दिदैं अपहरणकारीलार्इ फोन गर्न भनेका थिए। अपहरणकारीले फिरौतीमा १० मिलियन नाइरा (३० लाख) भन्दा बढी मागेको मिकेलले बताए।
खेलमा कुनै प्रकारको अवरोध नहोस भनेर मिकेलले आफ्नो टोलीका सदस्यहरु र नाइजेरियन फुटबल फेडेरेसनलार्इ आफ्नो बुबा अपहरणमा परेको जानकारी दिएका थिएनन्।
बीबीसीसँग उनले भने 'आफ्नो बुबालार्इ दोस्रो पटक गुमाउनु पर्ने डरका साथ आफू बस्नु परेको र त्यो क्षण निकै डरलाग्दो थियो। आज मेरो बुबा अपहरणमा परे, भोलि अरु कोही हुन सक्छ त्यसले धेरै भयको सिर्जना गरेको छ।'
पहिले चेल्सीबाट फुटबल खेल्ने मिकेल हाल चाइनिज क्ल्ब टायनजिन टेडाबाट खेल्दैछन्। देशका केही ठाउँहरुमा श्रृङखलाबद्ध रुपमा आतंकी हमला भइरहेको र यसले देशको सुरक्षा अवस्था डरलाग्दो भएको मिकेलले बताए।
प्रि-क्वाटरफाइनलमा खेलमा नाइजेरिया अर्जेन्टिनासँग २-१ ले पराजित भएका थियो।