PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

काम नगर्ने ठेकेदार पोसिरहँदा चाबहिल-जोरपाटी-साँखु सडकको यो हालत



दिनेश खड्का

काम नगर्ने ठेकेदार पोसिरहँदा चाबहिल-जोरपाटी-साँखु सडकको यो हालत

काठमाडौं : चाबहिल- जोरपाटी हुँदै साँखु जाने सडक विस्तार आयोजनाको ठेक्का लागेको तीन वर्ष पुगेको छ। यो सडक विस्तार थालिएसँगै अधिकांश सडक हिउँदमा धुलो उडेर हिँड्न सकिँदैन भने वर्षा याममा असारे खेतजस्तै हिलाम्मे हुन्छ।

वर्षौँदेखि यो क्षेत्रमा स्थानीय बासिन्दाले सडकको सास्ती खेप्दै आएका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा यहीँ पर्छ। सडकमा ठूला-ठूला खाल्डा र पानी जमेका कारण विदेशी पर्यटक प्रभावित छन् भने सर्वसाधारण हिलाम्मे नबनी हिँड्न सक्दैनन्। 

निर्माणमा कसैको ध्यान नगएर सडक हिलाम्मे भएपछि बौद्ध-जोरपाटी सडक खण्डमा स्थानीयले धान दिवसका दिन धान रोपेर सरकारको ध्यानाकर्षण समेत गराएका थिए। धान दिवसको अवसर पारेर आधा दर्जन साहित्यकारले व्यङग्यात्मक कविता बाचन गरेका थिए भने कविता बाचन कार्यक्रमपछि स्थानीय सडकमा रोपाईं गरेर धान रोपेका थिए।

चाबहिल-बौद्ध-साँखु १२ किलोमिटर लामो यो सडक समयमै काम सक्ने भन्दै उपत्यका सडक विस्तार आयोजनाले २०७२ असोजमा ५ वटा प्याकेज बनाएर ठेक्का लगाएको थियो। तर एक तिहार्इ पनि काम हुन नसक्दा सडक विस्तारका नाममा अस्तव्यस्त बनेको छ।

चाबहिलबाट बौद्ध-जोरपाटी हुँदै दक्षिणढोकासम्म ३.६ किलोमिटर सडक निर्माणको जिम्मा युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालिले पाएको छ। २०७२ असोजमा ठेक्का लागेर २०७४ चैतमा सम्पन्न गर्ने सम्झौता भएको भए पनि १० प्रतिशत मात्रै काम सकिएको छ। केही घर सडक सिमानामा परेको देखाउँदै अवरोध नभएका ठाउमा कामै भएको छैन।

दक्षिणढोकाबाट २.४ किलोमिटर सडक निर्माणको जिम्मा बज्रगुरु च्याङमिला खानी जेभीले पाएको छ। २०७२ असोजमा २०७४ माघमा सम्पन्न गर्ने गरि सम्झौता भएको भएपनि बल्ल ४० प्रतिशत काम सकिएको छ।

थलिबाट ३ किमी साँखुतिरको खण्ड निर्माणको जिम्मा बज्रगुरु/विरुवा खानी जेभीले पाएको छ। गत वैशाखमा पुरा गर्नुपर्ने भएपनि बल्ल ३० प्रतिशत मात्रै काम सकिएको छ। युटिलिटिजका पोल, स्थानीयको विवादलार्इ देखाएर काम रोकिएको छ।

खुलालटार-सलम्बुटार २.४६ किमी खण्डको जिम्मा बिटी/सुनकोशी वर्ल्डवाइड पाएको छ। गत माघमै पुरा गर्नुपर्ने यो खण्डको काम बल्ल ३५ प्रतिशत सकिएको छ।

१.०४ किमी साँखुसम्मको अन्तिमखण्ड निर्माणको जिम्मा लामा समानान्तर जेभीले पाएको छ। जसको बल्ल १० प्रतिशत मात्रै काम सकिएको आयोजनाले जनाएको छ।

खानेपानी, ढलका पाइप, विद्युत, टेलिकमका पोल स्थानीयको अवरोध जस्ता कारण देखाएर अवरोध नभएका ठाउँमा समेत काम नगरि बसेको ठेकेदारलार्इ आयोजनाले १ वर्ष म्याद थप गरिदिएको छ।

उपत्यका सडक विस्तार आयोजना अन्तर्गका मिति सकिएर काम पुरा नभएका सबै ठेक्कामा एक वर्षको समय थपिने आयोजनाले जनाएको छ। ‘आयोजनाका मिति सकिएको सबैमा एक वर्ष थप्छौँ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ भने, ‘यो एक वर्ष नै पहिलो र फाइनल म्याद थप्दैछौँ, हामी अब यो भन्दा बढी जनतालार्इ धुलो र हिलोको सास्ती दिन सक्दैनौँ।’

'राइट अफ वे क्लियर' गरेर दिन नसकिएकाले समय थपिदिएको आयोजनाको भनाइ छ। ‘हामीले ठेक्का लगाउँदै साइट क्लियर नगरी ठेक्का लगायौँ जसको परिणाम अहिले देखिएको छ,’ उनले भने, 'यसमा सडक विभाग, अर्थ मन्त्रालय, आयोजना तीनै निकायको स्विकृतिमा ठेक्का लागेको थियो।'

सर्वोच्चको फैसालले लम्बिँदै सडक विस्तार

स्थानीयले सडक विस्तारको विरुद्धमा हालेको मुद्दामाथि सर्वोच्चले ‘उचित मुआब्जा दिएर सडक विस्तार गर’ भन्ने फैसला गरिसकेको छ। भने फैसलाको पूर्णपाठ समेत आइसकेको छ।

आयोजनाका अनुसार सर्वोच्चको यो फैसलाले आयोजनाको कामहरु लम्बिने देखिएको छ। सर्वोच्चको फैसलापछि जग्गाको समेत मुआब्जा पाउने भएपछि स्थानीयले काम भैरहेका ठाउँमा समेत काम रोकेका छन्।

श्रेष्ठका अनुसार सामान्यतया विदेशी सहयोग अनुदानमा बनेका सडकहरुमा बाहेक नेपाल सरकार आफैँले विस्तार गर्न लागेको सडकमा जग्गाको मुआब्जा दिने व्यवस्था छैन। सर्वोच्चले फैसला गरेका कारण अब जग्गाको पनि मुआब्जा दिनुपर्ने हुन्छ। यसका लागि मुआब्जा दिने प्रक्रियमा जानुपर्छ।

सर्भे, जग्गाधनिको निवेदन जग्गाको दररेट लगाएतका प्रक्रिया सकेर मुआब्जा दिएपछि मात्रै काम अघि बढाउन सकिने आयोजनाको भनाइ छ। ‘सर्वोच्चको आदेशपछि अहिले भैरहेका कामहरु समेत रोकिने अवस्था आयो अब  मुआब्जा नदिर्इ काम अघि बढाउन सकिँदैन,’ उनले भने।


यो सडकको सास्ती कहिलेसम्म?

यो सडकखण्डमा पटकपटक मर्मत सम्भार गर्दा पनि सडक सुधार गर्न नसकिएको आयोजनाको भनाइ छ। खानेपानी र ढलका पाइपहरु सडकको सतह नजिकै भएकाले लिकेज भएर सडकको यस्तो अवस्था भएको आयोजनाको भनार्इ छ।

‘चाबहिलदेखि टुसालसम्म पुरै २२ मिटरमै पीच गर्ने भनेको वर्षा लागिसकेको छ,' उनले भने, 'अब वर्षामा केही गर्न सकिँदैन, हिउँद लागेपछि काम सुरु हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell