टेलिभिजनमा फुटबल हेर्दा हामी सबैको नजर खेलाडी, रेफ्री र उनीहरुको गतिविधिमा रहन्छ। तर मैदान बाहिर उनीहरुलार्इ धेरैले सहयोग गरिरहेका हुन्छन्। फुटबल हेर्न आउने दर्शक देखि खेलाडी, पत्रकार, खेल अफिसियल्सहरुको सहयोगका लागि रसियामा १७ हजार ४० जनाको छुट्टै टोली रहेको छ। उनीहरुले रसियाका विभिन्न २० स्थानमा रहेर स्वयम् सेवा गर्दैछन्।
लुजनिकी स्टेडियममा जब खेलाडीहरु खेलको तयारी गरिरहेका हुन्छन् जोनले प्रत्यक्ष त्यो हेरिरहेका हुन्छन्। उनले खेल सुरुहुनु पूर्व खेलाडीहरु एकआपसमा कुरा गरिरहेको देख्छन् र मैदानको वातावरणमा विस्तारै तनाव बढ्ढै जाने महसुस पनि गरेका हुन्छन्।
कोलम्बियाका जोन हाल रसियामा जारी विश्वकपमामा स्वयम् सेवकका रुपमा सहयोग गर्दैछन्। 'मेरो दायित्व टोलीलार्इ सहयोग गर्नु हो। म चेन्जिङ रुममा सबै ठिक ठाउँमा रहेको सुनिश्चित गर्छु। साथै टोलीका फोटोग्राफरहरुलार्इ मैदानसम्म लिएर जान्छु र स्पोर्ट स्टाफले सोध्ने हरेक प्रश्नको उत्तरका लागि म तयार हुन्छु।'
डेभिड पनि लुजनिकी स्टेडियममा स्वयम सेवा गर्दैछन्। उनी त्यहाँ मिडिया एसिस्टेन्टका रुपमा पत्रकारहरुलार्इ खेलको रिपोर्टिङ गर्न चाहने सबै कुराको व्यवस्था गर्ने गर्छन्।
रसियामा १७,०४० लोकल अर्जनाइजिङ कमिटि स्वयम् सेवक रहेका छन्। उनीहरुलार्इ १,७६,८७० आवेदकहरुमध्ये बाट छानिएको हो। फिफाका अध्यक्ष गियानी इन्फ्यान्टिनो भन्छन् 'दर्शकहरु आउँदा उनीहरुले पहिला देख्ने भनेकै स्वयम सेवकहरु हुन्। उनीहरुको मुस्कानले दर्शकहरु खुसी हुन्छन्।'
स्वयम सेवकहरु विविध कार्य क्षेत्रबाट आएका छन्। तेल ट्याङकरको क्याप्टेन देखी पूर्व फुटबलरसम्म रसियामा स्वयम सेवकको भूमिकामा रहेका छन्। उनीहरु सबैलार्इ फुटबलप्रतिको मायाले रसियमा पुर्याएको हो। साथै उनीहरु पूर्ण समर्पणका साथ हप्तौं सम्म सहयोग गर्न दृद रहेका छन्।
रसियामा स्वयम सेवकको भूमिकामा महिला अगाडी देखिएका छन्। ६३ प्रतिशत स्वयम सेवक महिला छन् भने ३६ प्रतिशत पुरुष छन्। स्वयम सेवा गर्न आउनेमा हजुरआमा र उनकी नाती, जोडीहरु र पुरै परिवार पनि रहेको छ। ९३ प्रतिशत स्वयम सेवक रसियाका हुन भने बाँकी ७ प्रतिशतमा रहेका ११२ जना विभिन्न देशबाट प्रतियोगिताकै लागी रसिया आएका हुन्।
विश्वकपमा सहभागी ३२ राष्ट्रबाहेक अरु देशबाट आएर स्वयम सेवा गरिरहेकाहरु विश्वकप प्रत्यक्ष हेर्न पाउँदा सपना पुरा भएको बताउँछन्। जोन र साइमन भन्छन् ' टेलिभिजनमा विश्वकप हेर्नु एउटा कुरा हो, तर प्रत्यक्ष खेल हेर्न पाउँदा छुट्टै अनुभव हुन्छ।' इंग्ल्याण्ड र कोलम्बियाको खेल हुनु अघि ति दुवै जनाले विशेष सम्मान पाएका थिए। उनीहरुले फाल्काओ, जोस पेकरम्या, एस्ले योङ, र ग्यारेथ साउथगेटसँग तस्विर लिने मौका पाएका थिए। उनीहरुले सो क्षण अविस्मरणीय रहेको बताएका थिए।
डेभिड भन्छन् 'रसियाले स्पेनलार्इ पेनाल्टी सुट आउटमा पराजित गर्दा त्यहाँ हुन पाउनु अरु भन्दा ठूलो कुरा हो।' यस्तै जोनले भने 'मैले लुजनिकीको मैदानमा गएर खेल्ने अवसर पाए। क्यामराहरुले हामीलार्इ कैद गरिरहेको थियो। हेलिकप्टर हामी माथिबाट उडिरहेको थियो। र मैले महसुस गरे की फुटबल टेलिभिजनमा हेरेको जस्तो सजिलो छैन।
विश्वकप उपाधी जित्न फाइनलसम्म पुग्ने लक्ष्यका साथ क्वाटरफाइनलमा टोलीहरु संघर्षमा उत्रदैछन्। तर जोन र डेभिड दुवै जनाले १५ जुलार्इमा हुने फाइनल खेलका लागि लुजनिकी स्टेडियममा आफ्नो स्थान पक्का पारिसकेका छन्।
