PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

काँग्रेस प्रतिनिधिद्वारा गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी



पहिलोपोस्ट

काँग्रेस प्रतिनिधिद्वारा गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ नेपाली काँग्रेस संसदीय दलको प्रतिनिधि टोलीले वीर अस्पताल पुगी अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।

काँग्रेस टोलीसँग गंगामायाले आफ्ना मागप्रति वर्तमान सरकारले कुनै चासो नदेखाएकाले सरकारको कुनै विश्वास नरहेको बताइन्। सो क्रममा टोलीले गंगामायाको स्वास्थ्य अवस्था र मागका सम्बन्धमा आफूहरु गम्भीर रहेको बताउँदै संसद्मा कडा रुपले प्रस्तुत हुने प्रतिबद्धता जनाएको थियो।

टोलीले वीर अस्पतालका कार्यकारी निर्देशक डा भूपेन्द्र बस्नेत र स्वास्थ्य उपचारमा संलग्न चिकित्सकसँग गंगामायाको स्वास्थ्य अवस्था र उपचारका बारेमा जानकारी लिएको थियो। टोलीलाई अस्पताल प्रशासनले गंगामायाको मुटुको चाल कम हुनुका साथै स्वास्थ्य अवस्था कमजोर भएकाले औषधि दिनलाई समेत कठिनाइ भएको जनाएको थियो।

टोलीमा काँग्रेसका प्रतिनिधिसभा सदस्य पार्वता डिसी चौधरी, लक्ष्मी परियार, डा अमरेशकुमार सिंह, प्रमिला राई, विमला नेपाली, देवप्रसाद तिमिल्सिना र नमिता कुमारी चौधरी सहभागी हुनुहुन्थ्यो ।

काँग्रेस संसदीय दलको बुधबारको बैठकले वीर अस्पतालमा अनशनरत गंगामाया र जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न एक प्रतिनिधि टोली पठाउने निर्णय गरेको थियो। डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार एक टोली त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell