
काठमाडौं : नेपालले चीनसँग भएको व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी गरेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण जाँदा भएको सम्झौता भएको थियो।
सम्झौताको प्रोटोकलमा हस्ताक्षरको लागि वार्तामा भाग लिन ९ सदस्यीय टोली बेइजिङ पठाउने निर्णय बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो। सोही अनुरूप नेपालले प्रोटोकलमा हस्ताक्षर गर्नका लागि छलफललाई तीव्रता दिएको हो।
प्रोटोकल सम्बन्धी वार्तामा भाग लिन वाणिज्यसचिव चन्द्र कुमार घिमिरेको नेतृत्वमा एक टोली जुलाई ११ गते बेइजिङ जाँदै छ। बेइजिङमा हुने वार्तामा नेपालको तर्फबाट वाणिज्यसचिव घिमिरेले नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।
दुई दिने वार्तापछि प्रोटोकललाई अन्तिम रूप दिइने छ। मन्त्रिपरिषद्को बुधवारकै बैठकले सोही टोलीलाई प्रोटोकलमा हस्ताक्षर गर्ने अख्तियारी समेत दिने निर्णय गरेको छ। सोही अनुरूप आन्तरिक रूपमा छलफलमा जुटेको वाणिज्यसचिव घिमिरेले जानकारी दिए।
असार ५ गते प्रधानमन्त्री बेइजिङ जाँदा प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी थियो। तर छलफल नपुगेको भन्दै जुलाईमा थप छलफल गरी टुंग्याउने सहमति भएको थियो। प्रधानमन्त्री ओलीले चीनबाट फर्किएलगत्तै जुलाईभित्र प्रोटोकलमा हस्ताक्षर हुने बताएका थिए।