
काठमाडौंः नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ। केरुङ र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित ८ औँ नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको हो।
बैठकले तातोपानी नाका आगामी कात्तिक भित्र खुलाई सक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउने लगायतका निर्णय लिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए। दुई दिनसम्म चल्ने बैठकमा नेपाल–चीनबीच हुने व्यापारलाई सहज बनाउने विषयमा पनि छलफल केन्द्रित हुनेछ।
बैठकले केरुङ र तातोपानी नाकामा चीनको आर्थिक सहयोगमा निर्माण हुने पुल छिटो सम्पन्न गर्न आवश्यक कार्ययोजना पनि तय गर्नेछ। नेपाल र चीनबीचको व्यापार सहजीकरणका लागि सन् २००९ मा यो समिति गठन गरिएको हो।
यस वर्षको बैठकमा समितिले नेपालको उद्यम विकासका लागि चीनको लगानी भित्रयाउने विषयमा पनि छलफल हुने सहसचिव सैंजुले बताए।