PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रधानमन्त्री ओलीको निर्देशन : डा केसीको मुद्दामा होस या अरु, सरकारलाई घेर्ने काम भइरहेको छ, प्रतिरक्षा गर्नुस्



विधुर ढकाल

प्रधानमन्त्री ओलीको निर्देशन : डा केसीको मुद्दामा होस या अरु, सरकारलाई घेर्ने काम भइरहेको छ, प्रतिरक्षा गर्नुस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले पार्टी सञ्चालन नियमावलीलाई अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। 

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ने क पाको स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको हो।

यसअघि मंगलवार बसेको पार्टी सचिवालयको बैठकले नियमावली टुंगो लगाउने एजेण्डासहित स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको थियो।
 
पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी सचिवालयलाई दिने निर्णय भएको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सचिवालयका तर्फबाट अघिल्लो स्थायी समितिको बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको नियमावली मस्यौदा समितिले नियमावली अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई वितरण गरेको थियो। 

पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेश गर्नु भएको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका छन्। 

बैठकमा सरकारको काम कारवाही पार्टी संगठनको एकीकरण, वर्तमान राजनीतिक अवस्थाका विषयमा सदस्यहरुले आफ्नो धारणा राखेका थिए। बैठकमा प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चौतर्फी रुपमा घेर्ने काम भएको भन्दै सरकारको कामको प्रतिरक्षा र बचाउ गर्न समेत निर्देशन दिएका छन्।
 
मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र सरकारको काम कारवाही बारे बैठकमा रिर्पोटिङ गरेका ओलीले स्थायी समितिका सदस्यहरुलाई यस्तो निर्देशन दिएका हुन्। ‘सरकारलाई चौतर्फी रुपमा घेर्ने काम भएको छ। सरकारको प्रतिरक्षा गर्नुस् गोविन्द केसीको मुद्दामा होस या अरु कुनै मुद्दामा होस सरकारलाई घेर्ने काम भएको छ। यसको प्रतिरोध गर्नुस,’ प्रधानमन्त्री ओलीलाई उदृत गर्दै एक नेताले भने। 

बैठकमा ओलीले सरकारले चीन र भारत दुवै छिमेकी मुलुकसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएको रिर्पोटिङ गरेका थिए। 
यसैबीच बैठकले वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

बैठकमा नेताहरुले पार्टी जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए। पछिल्लो समय पार्टी एकतापछि जनवर्गिय संगठनहरुको एकता र तल्ला तहका कमिटिहरुको एकीकरणका विषयमा समेत सदस्यहरुले आफ्नो धारणा राखेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell