
- राधेश्याम दाहाल
हरेक चार वर्षमा एक पटक कुनै न कुनै रूपमा नेपालीहरूले सोध्ने र सोच्ने एउटा विषय हो, नेपालको पालो कहिले? केही वर्ष अगाडि विश्वकप फुटबलका दौरान बनाइएको एउटा विज्ञापनमा अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले हामीले त पाएनौँ अब तिमीहरूको पालो भनेका थिए। उनले त्यसो भन्ने समयमा बालक रहेका अहिले युवामात्र होइन वयस्क नै भइसकेका छन्। तर नेपालको खेलको अवस्था झन् बिग्रँदो छ। अन्य क्षेत्र जस्तै खेल क्षेत्र पनि अस्तब्यस्त नै छ। विश्वकप फुटबल चल्दै गर्दा हरेक क्षेत्रका मानिसहरूमा खेलमा रुचि र चासो भएको नै पाइयो।
राजनैतिक तहदेखि सबै तहलाई विश्वकप फुटबलले राम्रैसँग छोएको छ। सामाजिक सञ्जालका क्रिया र प्रतिक्रिया मात्र होइनन् शहर बजार र गाउँ टोल घुम्दा पनि विश्वकप फुटबलको रौनकता झल्किन्छ नै। सबै क्षेत्रलाई विश्वकप त लाग्यो तर यो लगाइले न नेपालको खेलमा कुनै फाइदा न त खेल क्षेत्रका लागि कुनै अवसर नै हो। यस्तो महाकुम्भलाई हरेक क्षेत्रले अवसरका रूपमा लिएर केही सामान्य मात्रै पहल गर्ने हो भने पनि नेपालको खेल क्षेत्रमा एउटा ठूलो परिवर्तन सम्भव छ।
सन् २०१४ को ब्राजिल विश्वकपका दौरान चिनियाँ राष्ट्रपति सी जिनपिङले ग्वाङजाउमा विश्वको सबैभन्दा ठुलो फुटबल एकेडेमीको उद्घाटन गरेका थिए। त्यो एकेडेमी अहिले एउटा राम्रो चिनियाँ खेलाडीहरू उत्पादन गर्ने कारखानाका रूपमा विकसित भइरहेको छ। चीनको लक्ष्य सन् २०५० सम्ममा आफ्नो देशलाई विश्वकप जित्ने टिमका रूपमा तयार गर्ने हो। चीनले विश्वकपमा आफ्नो कमजोर उपस्थितिलाई बलियो बनाउन सुरु गरेको अभियान हो यो।
अर्थात् खेल एउटा यस्तो क्षेत्र हो जहाँ लामो लगानी र धैर्यताले मात्रै नतिजा दिन सक्छ। एउटा सानो बिरुवा रोपे जस्तै। त्यो बिरुवालाई उचित स्याहार, मलजल र निगरानीले मात्रै मिठो फल दिन्छ। खेल पनि त्यस्तै क्षेत्र हो।
विश्वकपका खेलहरू सञ्चालन भएका रंगशालाको भव्य रूप देख्दा हामीलाई टीठ लाग्नु स्वाभाविक नै हो। खेल मैदान, रंगशाला, रंगशाला बाहिरको क्षेत्र अनि अन्य भौतिक संरचना देख्दा लोभ लाग्ने बाहेक हामीले विगत लामो समयदेखि अरू केही गर्न सकेनौँ। प्राय नेपालीहरूले सन् १९९० देखि विश्वकप फुटबल टेलिभिजनका पर्दामा प्रत्यक्ष प्रसारण हेर्दै आएका छन्।
झन्डै ३० वर्ष बितिसक्दा पनि नेपालीहरूका लागि विश्वकप अर्जेन्टिना, ब्राजिल वा जर्मन वा इङल्याण्डमध्ये कोही हो भन्ने बाहेक अर्को केही रहेन। ३० वर्षमा न नेपालमा अन्तर्राष्ट्रिय स्तरका रंगशाला बने, न सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरका फुटबल एकेडेमीहरू नै बन्न सके। भएका केही रंगशाला र एन्फाले चलाएको एकमात्र एकेडेमीको हालत पनि कस्तो छ देखेकै विषय हो। यो अन्तरालमा नेपालको खेल क्षेत्रको नेतृत्व सम्हाल्नेहरुको अवस्था कस्तो भयो र खेलाडीहरूको अवस्था कस्तो छ त्यो हामी सबैका अगाडि छर्लङ्गै छ।
विश्व खेल जगत् विद्युतीय रेलको गतिमा अगाडी बढिरहँदा नेपालको खेल क्षेत्र ठप्प नै बन्यो। विगतमा देशको अवस्था, राजनैतिक कारण अन्य धेरै कारण बताउँदै खेल क्षेत्रलाई सबैले उपेक्षा गरेकै हुन्। तर अहिले देशको राजनैतिक अवस्था पनि सुधार भएको, देशले स्थिर सरकार पाएको र देश आर्थिक क्रान्तिको युगमा प्रवेश गरेको दाबी गरिएको बेला रसियामा विश्वकप फुटबल आयोजना भएको छ।
विगतमा जस्तो क्रेज थियो अहिले त्योभन्दा बढी नै छ। स्कुले विद्यार्थीदेखि कर्मचारी हुँदै राजनैतिक दलका नेता र मन्त्रीहरूलाई समेत विश्वकप फुटबलको क्रेजले राम्रैसँग छोएको छ। राजनैतिक दलका कार्यक्रममा भन्ने गरिएको जस्तो यो क्रेजलाई शक्तिमा बदल्न सकियो भने के खेल क्षेत्रमा ठूलै छलाङ मारिँदैन त? तर यसका लागि खेल नेतृत्व सम्हाल्नेहरुले एउटा ठोस निर्णय गर्नुपर्ने हुन्छ।
तर, न त यस्तो अवसरलाई सदुपयोग गरेर केही कार्यक्रम सञ्चालन गर्ने विषयमा अखिल नेपाल फुटaल संघ नै तम्सिएको देखिन्छ न युवा तथा खेलकुद मन्त्रालय नै। परिवर्तनको नारा दिएर अखिल नेपाल फुटबल संघमा आएको वर्तमान नेतृत्व पनि विगतकै शैलीमा विदेश घुम्ने र विश्वकपमा जानका लागि तँछाड-मँछाड गर्नेमा मात्रै केन्द्रित रहेको आभास हुन थालिसकेको छ। एन्फा कमिटी भित्रैबाट गुनासोहरू सुन्न थालिसकिएको छ।
रसिया विश्वकपमा वर्तमान एन्फाबाट जो जति प्रतिनिधित्व गरेर गए उनीहरूको सहभागिता पनि विवादभन्दा बाहिर जान सकेन। अर्थात् आम नेपाली संस्कार र सोच नै खेल क्षेत्रको विकासको बाधक हो भन्दा फरक नपर्ला। विश्वकप फुटबलकै अवसर पारेर हरेक पटक केही न केही नयाँ कार्यक्रम सञ्चालन गर्ने सोचमा एन्फा लाग्नु पर्ने हो। न विगतमा यस्तो सोच बनाइयो न त अहिले नै। आम नेपाली जनतालाई सहभागी गराएर फुटबल खेलको मात्र होइन अन्य खेलको पनि विकासका लागि कार्यक्रम ल्याउन सकिने राम्रो अवसर थियो यो। तर कसैले पनि यसतर्फ नसोचेको देख्दा खेल क्षेत्र बुझेकाहरुलाई दुःख लाग्नु स्वाभाविकै हो। अबको केही दिनमा विश्वकप सकिन्छ। दुई चार दिन चर्चा गरेर सबै फेरि आ-आफ्नो काममा लाग्छन्। अनि नेपालको खेलको अवस्था जहाँको त्यहीँ मात्र होइन झन् कमजोर हुने पक्कापक्की छ।
खेलले देशलाई आर्थिक सम्बृद्धि दिन सक्छ, देशको आर्थिक र सामाजिक उन्नतिको मुख्य आधार खेल बन्न सक्छ भन्ने विषय नेपालमा या त बुझिएन या न बुझेर पनि नबुझेको जस्तो गरियो। कुनै पनि देशको विकास कुन रूपमा अगाडि गएको छ भनेर मापन गर्ने आधार खेल भैसकेको छ। ओलम्पिक्समा त्यो देशले जित्ने पदक वा त्यसको बलियो उपस्थिति वा यस्तै विश्वकप जस्ता प्रतियोगिताले त्यो देशको आर्थिक हैसियत दर्साउँछ। विगतमा हामीले सबै रूपमा कमजोर आकलन गरेका अफ्रिकी मुलुकहरू समेत पनि निकै अगाडि गइसके तर नेपालको खेल क्षेत्र दिनदिनै ओरालो लाग्ने बाहेक अर्को बाटोमा छैन।
राजनैतिक स्थिरतापछि बनेको वर्तमान सरकार, निर्वाचनपछिको अखिल नेपाल फुटबल संघको कार्य समिति, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका युवा जोस भएका मन्त्री भएको बेलामा समेत विश्वकप फुटबलको रौनकतालाई अवसरका रूपमा सदुपयोग गर्ने काम भएन जुन सबैभन्दा दुर्भाग्यपूर्ण हो।
कम्तीमा एन्फाले विश्वकपकै अवसर पारेर राष्ट्रिय खेलाडीहरू वा विगतमा राष्ट्रका लागि योगदान दिने खेलाडीहरूलाई विश्वकपको रौनक देखाउनकै लागि रसिया लगेर भए पनि यसको सुरुवात गर्न सक्थ्यो तर त्यसो गरिएन। हरेक पलको सदुपयोग बिना नेपाली खेल क्षेत्रमा आमूल परिवर्तन असम्भव छ।
विभिन्न देशको जर्सीका नाममा करोडौँको कारोबार भए, बाजीमा पनि करोडौँको खेलो पक्कै भयो होला। तर नेपालको खेल क्षेत्रको र विशेषगरी फुटबल खेलका लागि योपटक कम्तीमा एउटा नयाँ योजनाको इटा मात्रै थप्ने काम भएको भए यो क्षेत्रले केही राहत महसुस गर्थ्यो।
हरेक विश्वकपमा एउटा योजना तय गर्दै जाने मात्रै हो भने पनि केही वर्ष पछाडि नेपालले छनोट चरण पार गरेर विश्वकपमा सहभागी हुने सम्भावना रहन्थ्यो कि। आगामी विश्वकपमा अन्तिम चरणमा सहभागी हुने देशको संख्या पनि बढाउने तयारी फिफाले गरेका कारण नेपालको सम्भावना पनि छैन भन्न सकिन्न। तर त्यसका लागि स्पष्ट सोच र भरपुर लगानी र राज्यको प्राथमिकता पहिलो आवश्यकता हो। सरोकारवाला सबै तहमा विश्वकप फुटबलको यो अवसरमा कुनै न कुनै रूपमा चेतना जागृत हुन सक्यो भने मात्रै पनि हाम्रा लागि रसिया विश्वकप सफल साबित होला। अन्यथा अरूको जितमा रमाउने र अर्को तीस वर्षपछि पनि यस्तै चर्चा गर्ने बाहेक अरू के नै होला र!