PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

रोनाल्डोको फ्यान ज्योति मगर, आज कराउँदै छिन् ब्राजिल ब्राजिल

रोनाल्डोको फ्यान ज्योति मगर, आज कराउँदै छिन् ब्राजिल ब्राजिल

रीना मोक्तान/पहिलोपोस्ट


२००६ मा पहिलोपटक मोडल तथा गायिका ज्योति मगरले विश्वकप फुटबल हेरेकी थिइन्। भर्खर रोल्पाबाट काठमाडौँ आएकी थिइन्। असन चोकमा ठुलो पर्दा। पर्दामा फुटबल र वरपर मान्छेको भीड। बीचबीचमा भीड कराउँथ्यो ‘गोल’।

फुटबल नबुझे पनि त्यतिखेर ज्योतिले थाहा पाइन् फुटबलको महाकुम्भ विश्वकपबारे।

भन्छिन् 'सानै थिएँ। फुटबल बुझ्नु परको कुरा। हेरेर ट्वाल्ल पर्थेँ।’

अहिले बुझ्नेमात्र होइन विश्वकपमा रमाउँछिन्। अर्जेन्टिना, पोर्चुगल र ब्राजिल उनले समर्थन गरेको टिम हुन्। जसमध्ये दुई टिम अर्जेन्टिना र पोर्चुगल अन्तिम १६ बाट घर फर्के।

खेलको हारजितलाई उनी सामान्य मान्छिन् भन्छिन्,’हार्‍यो भन्दैमा रोएर कराएर के काम। अब ब्राजिल बाँकी छ नि।’

आफूले समर्थन गरेका दुई टिम बाहिरिएसँगै उनीमा ब्राजिलको खेललाई लिएर छुट्टै जोस बढेको छ। खेलका मज्जा लिन थालेकी ज्योति ब्राजिल जित्नेमा आशावादी छिन्।

ब्राजिलका अन्य खेल हेर्न उनी उत्साहित छिन्। आफ्नो फेवरेट टिमले खेल्दा रमाइलोसँगै डरको सीमा रहने बताइन्। 'अरू देशको खेल हेर्न मज्जा लाग्छ। तर फेवरेट टिमको खेल हेर्दा एक्साइटमेन्टको साथमा डर हुन्छु।' उनले सुनाइन्। 

विपक्षी टिमले गोल गर्दा त उनी फल खेलेको आरोप लगाउन पनि पछि पर्दिनन्। ‘समय कत्ति चाँडो गएको जस्तो लाग्छ। त्यसपछि खेल छुट्टै मजा हुन्छ।’

पेलेको आत्मकथाले उनलाई ब्राजिलतर्फ आकर्षित गरेको बताउँछिन्। अहिले उनलाई मन पर्ने खेलाडी नेयमार। तर रोनाल्डोप्रति उनको छुट्टै आकर्षण छ। ‘रोनाल्डो सेक्सी छ।’ रोनाल्डोको कहिलेकाहीँ देखिने एटिट्यूड, मैदानमा लिने खेलको प्रेसर र हार्दाको दु:ख -उनी रोनाल्डोको अपिरियन्सको फ्यान हुन्।

उनले विश्वकप खेल्न मैदानमा उत्रिएका सबै विजेताहरू रहेको बताइन्। उनलाई ट्रफी उचाल्दैमा विजेता हुन् भन्ने लाग्दैन।

अरू समय त्यति फुटबल नहेर्ने उनी विश्वकपको समयमा भने कुनै गेम नछुटाउने कोसिस गर्छिन्। विशेषगरी आफूले समर्थन गरेको टिमको।

ज्योति फुटबल हेर्ने विश्वव्यापी ट्रेन्डबारे पनि बोल्छिन्, ’विश्वकप र युरोकपमात्र हेरे पनि मलाई लाग्छ सङ्गीत र राजनीतिपछि फुटबललाई सर्वाधिक रुचाइन्छ।’

फ्यान हो भन्दैमा जर्सी लगाउनै पर्छ भन्ने पक्षमा भने छैनन् ज्योति। सुनाइन्, 'मलाई अर्जेन्टिनाको जर्सी अरूले लगाउँदा खेलाडीको बेइज्जत भएको फिल हुन्छ। कस्तो मैलो, कालो बनाएर लगाएका हुन्छन्' हाँस्दै भनिन्।

सबै टिम योग्य भएर विश्वकपका लागि छनोट भएकोले यसैले जित्छ भन्ने दाबी गर्दिनन्। तर समर्थन गरेको टिमले जितोस् भन्ने उनलाई लाग्छ। ‘यदि जितेन भने पनि ठिक छ। ब्राजिल आफैँमा जित हो, वर्ल्डकपको इतिहास हो।'

पाँचपटक विश्वकप जितेको ब्राजिलको लेभलमा अरू देशको टिम पुग्न नसक्ने उनको विचार छ।

बेटिङको पक्षमा छैनन् उनी। उनलाई बेटिङ गर्नु गलत लाग्छ। 'पैसा र वर्ल्डकपको कुनै कनेक्सन नै देख्दिनँ।'

उनी साथीभाइसँग बसेर खेल हेर्न रमाउँछिन्। आज हुने खेल पनि उनी सामूहिक रूपमा हेर्दैछिन्। ‘आज त मस्त हुटिङ गर्ने हो। हारे पनि जिते पनि ब्राजिल ब्राजिल।’



ट्रेन्डिङ पोस्ट

Ncell