PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वीरेन्द्रनगरमा २९ किलोमिटरको चक्रपथ दश वर्षदेखि अलपत्र,  अब निर्माणको गति लिन्छ : नगरप्रमुख



पी बी खड्का

वीरेन्द्रनगरमा २९ किलोमिटरको चक्रपथ दश वर्षदेखि अलपत्र,  अब निर्माणको गति लिन्छ : नगरप्रमुख

सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन चक्रपथ अलपत्र परेको छ। चक्रपथ निर्माणको योजना सुरु भएको एक दशक वितिसकेको छ। तर, निर्माणको प्रगति भने करिव–करिव शुन्य जस्तै। 

दश वर्षसम्म पनि निर्माण कार्य पूरा नभएपछि स्थानीयले तत्काल काम अघि बढाई सम्पन्न गर्नुपर्ने माग गर्दै आएका छन्। 

चक्रपथ निर्माणको काम आर्थिक वर्ष २०६२/०६३ बाट सुरु भएको थियो। २९ किलोमिटर लामो रहेको चक्रपथको निर्माण कार्य प्रगतिले अहिलेसम्म गति लिन सकेको छैन। वीरेन्द्र नगरको प्रवेशद्वार सुव्वाकुनादेखि सुरु भएर घुस्रा हुदैँ उपत्यकाको दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने चक्रपथ नबन्दा स्थानीयले सास्ती खेप्दै आएका छन्। 

द्वन्द्वको समयमा तत्कालीन गाविसमा बजेट खर्च गर्न सक्ने अवस्था नभएपछि जिल्ला विकास समितिले उक्त बजेटबाट वीरेन्द्रनगरमा चक्रपथ निर्माण गर्ने योजना अगाडि सारेको थियो। सोही क्रममा गाविसलाई दिइने बजेटबाट सुरुमा ४१ लाख रुपैँया चक्रपथ निर्माणका लागि विनियोजन गरिएको थियो।
 
तर, निर्माण प्रक्रिया थालिएको एक दशक वित्दा पनि यो सडकले पूर्णता पाएन। 

वीरेन्द्रनगर वडा नं. ११ का भिमबहादुर खड्काले भने,‘योजना सुरु भएको दश वर्ष भन्दा बढी भयो, अहिलेसम्म चक्रपथ बन्न सकेको छैन्।’
 
मध्य पश्चिमाञ्चल क्षेत्रीय सदरमुकाम हुँदा पनि चक्रपथ निर्माण हुन नसकेको र अहिले स्थानीय र प्रदेश सरकार आउँदा समेत निर्माण कार्यको कुनै सुइँको नभएको उनको गुनासो छ। 
पूर्वाधारले सुविधा सम्पन्न प्रदेशको राजधानी हुनुपर्ने उनको जोड छ। जसका लागि मुख्य आधार भनेको सडक भएकाले निर्माणाधीन चक्रपथ छिटोभन्दा छिटो पुरा गर्नुपर्ने उनले बताए।

जिल्ला विकास समितिले सो योजना प्राथमिकतामा नराख्दा अलपत्र परेको स्थानीयवासीको गुनासो छ।  हाल वडा कार्यालय र स्थानीयवासीले सडकको चौडाई निर्धारण गरेर निर्माण कार्य अगाडी बढाउन माग गरेका छन्। वीरेन्द्रनगर नगरपालिकाले यस अघि नै ३० मिटर चौडा सडक राख्ने निर्णय गरिसकेको थियो। सोही निर्णयलाई आधार मानेर चक्रपथको काम अघि बढाउनुपर्ने माग गरिरहेका छन्।
 
यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले चक्रपथको निर्माण कार्यले गति लिने बताए। ‘यसअघि बजेट अभावले निर्माणको गति लिन नसकेको देखिन्छ,’ उनले भने,‘अब स्थानीय सरकार आईसकेपछि चक्रपथको काम अघि बढाउने प्रयासमा छौँ, र प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ, अव चक्रपथको काम द्रुत गतिमा बढ्छ।’ चक्रपथ निर्माणका लागि विभिन्न सरोकारवालासँग छलफल भइरहेको उनले बताए।
 
सडक डिभिजन कार्यालय सुर्खेतले गत चालु आर्थिक वर्षमै टेण्डर आह्वान गरिसकेको जनाएको छ। कार्यालय प्रमुख बेलबहादुर भुजेलका अनुसार अब चक्रपथले गति लिने दाबी गरे। ‘चक्रपथको अब काम अघि बढ्छ, जसका लागि टेण्डर आह्वान भइसकेको छ।’ उनले भने,‘सडकमा ग्राभेल हाल्ने र नालाको काम सुरु हुन्छ।’  

राजधानीलाई विशेष जोड


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पर्यावरणमैत्री र व्यवस्थित सहरको रुपमा विकास गर्ने प्रदेश सरकारले योजना अघि सारेको छ। ‘राजधानी पूर्वाधार विशेष कार्यक्रम’ अन्तर्गत विस्तृत गुरु योजना तयार गर्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
 
‘पूर्वाधारका कार्यक्रमहरू वीरेन्द्रनगर नगरपालिकासँगको समन्वय र साझेदारीमा सञ्चालन गरिने छ। उनले भने,‘उक्त कार्यका लागि रु ११ करोड बजेट विनियोजन गरिएको छ।’

नेपाल सरकारसँगको समन्वयमा प्रदेशको राजधानी सुर्खेतको चक्रपथ निर्माण तथा स्तरोन्नति कार्यलाई समेत अघि बढाइने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell