PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

ह्यारी केनलार्इ रोक्ने स्विडेनको लक्ष्य



पहिलोपोस्ट

ह्यारी केनलार्इ रोक्ने स्विडेनको लक्ष्य

आज बेलुकी ७:४५ बजे स्विडेनले इंग्ल्याण्डको सामना गर्दैछ। सन् १९९४ विश्वकपमा तेस्रो भएको स्विडेनका लागि यो नयाँ इतिहास रच्ने अवसर पनि हो। २००२ र २००६ विश्वकपका समूह चरणका खेलहरुमा इंग्ल्याण्डलार्इ बराबरीमा रोक्न सफल भएको स्विडेनका अगाडि यसपटक मुख्य चुनौती हुनेछन् ह्यारी केन। रसियामा हाल सम्म सर्वाधिक ६ गोल गरिसकेका ह्यारी केन गोल्डेन बुटका प्रमुख दाबेदार हुन्। 

स्विडिस फुटबल टोलीका कप्तान आन्द्रेयास ग्रानभिष्टले आफ्ना टोली ह्यारी केनलार्इ रोक्नु नै आफ्नो टोलीको मुख्य लक्ष्य रहेको बताएका छन्। 

'हामीलार्इ थाहा छ कि उनीहरुसँग ह्यारी केन छन्, जो पेनाल्टी बक्समा धेरै खतरनाक छन्। त्यसैले हामी पेनाल्टी एरिया भित्र धेरै बलियो हुनुपर्छ ,’ उनले भने। 

केनले गरेको ६ गोल मध्ये ३ गोल त उनले पेनाल्टीबाट आर्जन गरेका हुन्।  

केनका बारेमा ग्रानभिष्टले भने, 'पेनाल्टीमा मात्र नभइ स्ट्राइकरका रुपमा पनि उनी धेरै उत्कृष्ट छन्। उनी सबै कुरामा राम्रो छन् र उनको विरुद्धको खेल धेरै कठिन हुनेछ। तर, उनलार्इ रोक्न हामी सबै कुरा गर्नेछौं।'

स्विडेनका प्रशिक्षक ज्यानी एन्डरसनले भने रसियामा पहिलो पटक समान स्तरको टोलीसँग प्रतिस्पर्धामा उत्रँदा बललार्इ नियन्त्रणमा राख्नलार्इ आफूहरुले संघर्ष गर्ने बताए। उनले भने स्विडेनले सम्भावित अतिरिक्त समय र पेनाल्टीका लागि पनि रणनीति तयार पारिरहेको पनि बताए। 

इंग्ल्याण्ड पनि २८ वर्षपछि सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। मेक्सिको र जर्मनी जस्तो टोली रहेको समूहमा पहिलो हुँदै अन्तिम १६ मा पुगेको स्विडेनलार्इ पराजित गर्न इंग्ल्याण्डले पनि धेरै मिहिनेत गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell