
काठमाडौंः प्रदेश २ का सांसदहरुले प्रदेशका विभिन्न जिल्लामा भएको बाढी प्रभावितहरूका लागि तत्काल राहत उपलब्ध गराउन तथा तराईका जिल्लामा वर्षेनी हुने बाढी तथा कटान समस्याको समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।
प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका प्रदेश २ का प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बाढीको समस्या लिएर प्रधानमन्त्री ओलीलाई भेट गर्न पुगेका थिए।
सांसद तथा नेपाल कम्युनिस्ट पार्टीका नेता प्रभु साहका अनुसार प्रधानमन्त्री ओलीलाई हालैको बाढी तथा डुबानबाट भएको क्षेत्रीको बारेमा जानकारी गराउँदै क्षतिपूर्ति तथा दीर्घकालीन समाधानका लागि पहल गर्न सांसदहरुले आग्रह गरेका हुन्।
जवाफमा प्रधानमन्त्री ओलीले तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएको सांसद साहले जानकारी दिए।
प्रधानमन्त्री ओलीले मानव सूचकांकमा समेत पछि परेको प्रदेश नम्बर २ को विकास निर्माणको कामलाई गति दिने आश्वासन पनि दिएका थिए। उनले चुरे क्षेत्रको संरक्षणका लागि उचित व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको सांसद साहले जानकारीदिए।
‘हामीले प्रधानमन्त्रीज्यूलाई प्रदेशका विभिन्न जिललामा हालै भएको बाढी तथा डुबानको समस्या प्रति ध्यानाकर्षण गरायौँ। प्रदेशको शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गरायौँ,’ सांसद साहले भने, ‘उहाँले त्यसका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो।’