PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विश्वविद्यालयमा अनशनरत विद्यार्थी आइसियुमा, विद्यार्थीमाथि प्रहरीले 'दादागिरी' गरेको आरोप

विश्वविद्यालयमा अनशनरत विद्यार्थी आइसियुमा, विद्यार्थीमाथि प्रहरीले 'दादागिरी' गरेको आरोप

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत इन्जिनियरिङ संकायका विद्यार्थीको आन्दोलन पेचिलो बन्ने संकेत देखिएको छ। विद्यार्थीले शैक्षिक सुधारका सात बुँदे माग राख्दै करिब ३ साता अघिदेखि आन्दोलनमा जारी राखेका छन्। तर, विश्वविद्यालय प्रशासन भने वेखबर जस्तै बसेको छ।
 
विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रशासनले अटेर गरेपछि चार दिनदेखि आमरण अनशन सुरु भएको हो। अनशनमा रहेका विद्यार्थीको अवस्था गम्भीर बन्दै गएपछि अनशनरत विद्यार्थीलाई आइसियुमा राखेर उपचार सुरु गरिएको छ। अनशनरत तीन जना विद्यार्थीमध्ये रत्नकुमार शर्मालाई क्षेत्रीय हस्पिटल सुर्खेत र रोशन बस्नेतलाई देउती अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ भने अर्का एक जना मिलन विसी विश्वविद्यालयमै आमरण अनशन बसिरहेका छन्।
 
आन्दोलनरत विद्यार्थीले इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्ग विषयको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था हुनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षाहरु पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, पुस्तकालयको उचित व्यवस्था गरी पर्याप्त पुस्तक उपलब्ध गराउनु पर्ने लगाएतको माग अघि राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।
 
आन्दोलनरत विद्यार्थीले विश्विद्यालयका जिम्मेवार पदाधिकारी र विद्यार्थी बसेर समस्या समाधान गर्नुपर्ने बताउँदै आएका छन्।
 

‘प्रहरीको दादागिरी विद्यार्थीमाथि’

आन्दोलनका क्रममा आज विद्यार्थी र प्रहरीबीच झडप समेत भयो। आन्दोलनरत विद्यार्थी आक्रोशित भएपछि विश्वविद्यालय परिसरमा नाराबाजी गरेका थिए। वार्ताका लागि विश्वविद्यालय प्रशासनले चासो नदेखाउँदा आक्रोशित बनेका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको हो। लाठी चार्ज गर्दा एक दर्जन बढी विद्यार्थीहरु घाइते भएका छन्। विद्यार्थीले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी न्युटन वलीको भनाई छ।

‘विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् तर पनि प्रहरीले विद्यार्थीलाई दवाउन दादागिरी देखाएको छ,’ उनले भने, ‘प्रहरीले लाठीचार्ज गर्दा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन्।’

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले विद्यार्थीले उश्रृंखल व्यवहार गर्दा सामान्यरुपमा तर्साउन लाठी प्रयोग गरिएको बताए।

‘त्यस्तो खासै ठूलो रुपमा प्रहरीले हस्तक्षेप गरेको होइन्,’ उनले भने, ‘विद्यार्थीको आन्दोलन चर्काे र अभद्र नबनोस् भनेर हो। त्यस्तो घटना केही भएको छैन्। प्रहरी पनि संयमित भएर लागेको छ, त्यस्तो ठूलो क्षति नहोस् भन्ने हाम्रो पनि चाहाना हो। यदि प्रहरीले कडाई नगरे अप्रिय क्षति पनि हुन सक्छ।' 

यता, विश्वविद्यालय प्रशासनले भने विद्यार्थीको माग पूरा गरिदिने आश्वासन सहित पत्र पठाएको छ। विश्वविद्यालयको पदाधिकारी वार्तामा नबसेर विद्यार्थीलाई पत्र पठाएका हुन्। विद्यार्थीको माग पूरा गर्न विश्वविद्यालय हदैसम्मको प्रयास गरेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell