PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा

इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा

पहिलोपोस्ट /पहिलोपोस्ट


ह्यारी मगुइरे र डेली अलीको गोल तथा गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट बचाउमा इंग्ल्याण्ड स्वीडेनलाई पराजित गर्दै २८ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। 

रसियामा भइरहेको २१औँ विश्वकप अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा स्वीडेनलाई २-० ले हराउँदै थ्री लायन्सले अन्तिम चारमा स्थान बनाएको हो। उसले अब फाइनल प्रवेशका लागि आयोजक रसिया र क्रोएसियाबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ।

सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्याण्ड ५२ वर्षपछि फाइनल पुग्ने दाउमा छ। इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुगेको भने समग्रमा यो तेस्रो पटक हो।

सामारास्थित सामारा एरेनामा शनिवार भएको खेलमा इंग्ल्याण्डले दुवै हाफमा एक-एक गोल गर्‍यो।

३०औँ मिनेटमा एस्लो योङको कर्नरमा ह्यारि मगुइरेले हेडमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा डेले अलीले पनि हेडर गोल गर्दै अग्रता दोब्बर पारे। ५९औँ मिनेटमा जेस लिनगार्डको पासमा अलीले गोल गरेका हुन्।

सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल पुगेको इंग्ल्याण्ड तत्कालीन पश्चिम जर्मनीसँग पेनाल्टीसुटआउटमा ४-३ ले पराजित हुँदै फाइनल पुग्नबाट बन्चित भएको थियो। त्यसबेला इंग्ल्याण्डले क्वार्टरफाइनलमा अफ्रिकन टोली क्यामरुनलाई पारजित गरेको थियो।

उता सन् १९९४ मा चौथो भएको स्वीडेनको २४ वर्षपछि सेमिफाइनल पुग्ने सम्भावना भने पूरा हुन सकेन। इंग्ल्याण्डविरुद्धको खेलमा स्वीडेनले गोल गर्ने अवसर बनाएपनि इंग्ल्याण्डका गोलकिपर पिकफोर्डले दुई उत्कृष्ट बचाउ गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell