PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

किशोरीको पीडा : ‘दिमागी’ छाउगोठ नभत्किँदा कहिले सर्पले डस्छ, कहिले बलात्कारीले 



पी बी खड्का

किशोरीको पीडा : ‘दिमागी’ छाउगोठ नभत्किँदा कहिले सर्पले डस्छ, कहिले बलात्कारीले 
सुर्खेतका किशोरी छाउगोठ भत्काउँदै

सुर्खेत : नेपालको पश्चिममा छाउपडी प्रथाले जरो गाडेको छ। कर्णाली लगायत नेपालका पश्चिमी क्षेत्रमा विभिन्न एनजीओ आईएनजीओले छाउपडी प्रथालाई अन्त्य गर्ने भन्दै करोडौँ रुपैँया खर्च गर्दै आएका छन्। परम्परागत मानसिक सोच र रुढीवादी आत्मविश्वासकै कारण यो प्रथा जस्ताको तस्तै छ।

विभिन्न संघसंस्था मार्फत छाउगोठ बस्ने आफैँ किशोरीले समेत छाउगोठ भत्काउने अभियान चलाएका छन्। प्रदेशको राजधानी सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लामा छाउगोठ भत्काउने अभियान चलाइयो। किशोरीहरुकै सक्रियतामा महिनावारी हुँदा राखिने छाउगोठ बेलाबखत भत्काउँदै आएका छन्। भौतिक छाउगोठको घर भत्काइए पनि मानसिकरुपमा जरो गाडेको छाउपडीको घर भत्काउन नसक्दा यो अभियानले सार्थकता पाउन भने सकेको छैन।

सुदुरपश्चिममा झाङ्गिएको ‘कुप्रथा’ले अनाहकमा किशोरीहरुलाई पिरोलिरहेको छ भने कतिको अकालमै ज्यान लिने गरेको छ।  किशोरी अवस्थामा हुने रजस्वला प्रकृतिकै देन भए पनि यो अवस्थामा छुन हुँदैन भन्दै घरपरिवार बाटै अलग्गै राखिने प्रचलन हो छाउगोठ।

अछुत मान्ने मानसिक सोच नहुने हो भने यहाँका किशोरीहरु ज्यान जोखिममा राखेर कष्टकर जीवन बिताउन बाध्य हुने थिएनन्। प्राकृतिक प्रक्रिया रजस्वला हुँदैमा उनीहरु मृत्युसँग पौँठेजोरी खेल्नुपर्ने बाध्यात्मक अवस्था अझै निमिट्यान्न पार्न कति वर्ष कुर्नुपर्ने हो ? यसको जवाफ भने कसैसँग छैन। 

यही छाउगोठमा बस्दाका परिणामले महिला र किशोरीले बेलाबखत नसोचेको परिणाम भोग्न बाध्य हुन्छन्। गत हप्ताको आइतबार मात्रै सुर्खेत बराहतालकी एक किशोरी मध्यरातमा सामूहिक बलात्कारको शिकार हुनुपर्‍यो। छाउगोठमा साथीसँगै सुतेकी किशोरी एकाएक मध्यराततिर तीन युवाले सामूहिक बलात्कार गरे।
 
पीडित किशोरीसँगै सुतेकी साथी निर्मला शर्माको योजना र मिलिमतोमा हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले निर्मलासहित बलात्कार घटनामा संलग्न आरोपमा १८ वर्षीय जनक शर्मा, १५ वर्षीय चेतन गिरी र १४ वर्षीय पदम गिरीलाई पक्राउ गरिसकेको छ।
 
पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदीले जानकारी दिए। ‘घटनामा संलग्न परेकी निर्मलाको योजनामा हो कि वा आफै युवा मध्यरातमा छाउगोठमा पुगेका हुन्, त्यो भने अहिले भन्न मिल्दैन।’

उनले भने,‘अनुसन्धान जारी छ, थप के कसरी भएको अनुसन्धानले बताउँछ।’  

बलात्कारको शिकार बनेकी किशोरीको यौनाङ च्यातिएको र सुन्निएकोले अस्पतालमा उपचार भइरहेको छ।
 
त्यस्तै, अर्काे घटना पनि छाउगोठमै भयो। अछामको तुर्माखाँद गाउँपालिका–४ की १८ वर्षीया पार्वती बुढाको सर्पको डसाईबाट ज्यान गयो । गत जेठ महिनाको अन्तिम साता तिर रजस्वला हुँदा महिनावारी बार्न छाउगोठ गएकी बुढाको सर्पले डस्दा अकालमै ज्यान गुमाउनु पर्‍यो।
 
राति सुतिरहेका बेला उनलाई सर्पले हातको औँलामा टोक्दा उपचार अभावमा ज्यान गुमाउनु परेको थियो । 

नेपालको सुदुर पश्चिममा यस्ता घटना प्रतिनिधि मात्रै हुन्। छाउगोठमा बस्दा थुप्रै दुःख कष्ट झेल्दै अकालमै ज्यान गुमाइरहेका छन्। महिनावारी हुँदा देउता रिसाउने डर, पाप लाग्ने भन्दै छाउ बार्न घरदेखि अलग्गै छाउगोठमा बस्ने गर्छन् अधिकांश किशोरीहरु।
 
कर्णालीको दश जिल्लामा अधिकांश घरहरुमा छाउ बार्ने प्रचलन रहेको छ जसमा प्रदेशको राजधानी सुर्खेत पनि अछुतो छैन।
 

‘चेतना अभावले जान्छ अकालमै किशोरीको ज्यान’ 

कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले अब कर्णालीमा छाउपडीलाई अन्त्य गर्नुपर्ने बताउँछिन्। ‘विभिन्न संघसंस्था लगायतले छाउपडी अन्त्य गर्ने भन्दै देखावटी छाउगोठ त भत्काए तर, हाम्रो गाउँघरमा दिमागी छाउगोठ भत्काउन नसक्दा किशोरीहरुले अकालमै ज्यान गुमाउनु परेको छ’ सांसद खड्काले भनिन्।

अब कर्णालीका आमनागरिकलाई छाउप्रथा सम्बन्धी जनचेतना जगाउनुपर्ने बताइन्। जनचेतना अभावकै कारण पटक पटक नसोचेको घटना व्यहोर्न बाध्य हुने उनको भनाई छ।
 
प्रदेश सरकारले समेत अव विशेष कार्यक्रम बनाएर कर्णालीका जिल्लामा सञ्चालन गर्नुपर्ने बताउँछिन् । ‘छाउपडी अन्त्य गर्न एनजीओ आईएनजीओको मात्र मुख ताकेर बस्नु हुदैँन,’ उनले भनिन्,‘अब प्रदेश प्रदेश सरकारले छाउपडी अन्त्यका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने हुन्छ।’

त्यस्तै महिला अधिकारकर्मी आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले पनि महिनावारी हुदाँ किशोरीहरुले अप्रिय घटना व्यहोर्न बाध्य हुनु दुःखद भएको बताइन्।

‘महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो, महिनावारी हुँदा वित्तिकै घरपरिवारबाटै अलग्गै राख्नुपर्ने समाजको सांघुरो सोचाई छ ।’ उनले भनिन्,‘यस्तै सोचाईले गर्दा आफ्नै छोरीहरुले पीडा भोग्न बाध्यछन्, छोरीहरुको पीडा बुवा आमालाई हुदैँन होला, यदि छाउगोठमा बस्दा घटना भएपछि मात्रै थाहा हुन्छ बुवाआमाालाई, त्यस अघि किन थाहा हुदैँ होला, अलिकतिपनि नसोच्ने घरपरिवार छ हाम्रो समाजमा।’

घरपरिवार लगायत गाउँसमाजमा जनचेतना अभावकै कारणले किशोरीहरुले अप्रिय घटना भोग्ने उनले बताइन् । 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell