सुरुङ्गाः झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो। दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा झरेर डुबेको प्रहरीले जनाएको छ।
यता बिर्तामोड–२ निवासी धनमाया लिम्बूको करेन्ट लागेर मुत्यु भएको छ। ६५ वर्षीया लिम्बूलाई विद्युत्को तार जडान गर्ने क्रममा आइतबार करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सातजना पक्राउ
प्रहरीले झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको भ्यू पोइन्ट होटल एण्ड लजबाट सात जनालाई पक्राउ गरेको छ।
गएराति होटलमा रहेर सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई युवतीसहित सात जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। रासस