स्पेनका पूर्व स्ट्राइकर फर्नान्डो टोरेस जापानिज क्लब सगान टोसुमा अनुबन्ध भएका छन्।
स्पानिस ला लिगा क्लब एट्लिको मड्रिडसँग गत सिजनको अन्त्यबाट टोरेसको सम्झौता समाप्त भएको थियो। ३४ वर्षिय टोरेसले प्रिमियर लिगमा लिभुपर र चेल्सीका खेलेका थिए। यस्तै सन् २०१४ मा इटालियन क्लब एसी मिलानमा लोनमा खेलेपछि उनी आफ्नो ब्वाएहुड क्लब एट्लेटिको फर्केका थिए।
चेल्सीमा रहँदा टोरेसले सन् २०१२ मा युरोपियन च्याम्पियन्स लिग जितेका थिए। उनले ८ वर्ष प्रिमियर लिगमा बिताउँदा ३१४ खेल खेल्दै १२६ गोल गरेका थिए।
'मलाई फ्रान्स, जर्मनी र स्पेनबाटै पनि प्रस्तावहरु आएको थियो तर मैले अर्को युरोपियन टिममा जाने सोचेको छैन।' टोरेसले भने, 'म छुट्टै स्थानमा नयाँ चुनौतीमा काम गर्न चाहन्छु।'
टोरेस जापानिज क्लबमा अनुबन्ध हुने दोस्रो स्पानिस खेलाडी हुन्। यसअघि आन्द्रेज इनेष्टा जे लिग क्लब भिसेल कोबमा अनुबन्ध भइसकेका छन्।
