काठमाडौं : ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत दोस्रो चरणको खेलमा नेपालका युवा स्टार सन्दीप लामिछानेले वेष्टइन्डिज बी टिम विरुद्ध ३ विकेट लिएका छन्।
मोन्ट्रेल टाइगर्सबाट खेलेका सन्दीपले मंगलवार आफ्नो ४ ओभर स्पेलमा ३१ रन खर्चँदै ३ विकेट लिएका हुन्। क्यानडामा सन्दीपले एकै खेलमा लिएको यो सर्वाधिक विकेट हो। सन्दीपले यसअघि खेलेका ४ मध्ये एक खेलमा २ तथा तीन खेलमा १-१ विकेट लिएका थिए।
पहिलो खेलमा वेष्ट इन्डिज बी विरुद्ध बिर्सनलायक प्रदर्शन गर्दै ५७ रन खर्चेर १ विकेट लिएका सन्दीपले त्यसपछि पुनरागमन गर्दै ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका हुन्।
किङ सिटीमा भएको खेलमा मोन्ट्रेलले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेष्टइन्डिज बी लाई १६२ रनमा रोक्न सन्दीपले महत्वपूर्ण भूमिका खेले।
सन्दीपले आफ्नो पहिलो ओभरमा २३ रन बनाएका ब्रान्डोन किङलाई बोल्ड आउट गरेका थिए। त्यसपछि उनले शामर स्प्रीन्जर र निकोलस पुरनबीच भएको ७२ रनको साझेदारी तोडे।
पुरनलाई २५ रनमा जर्ज वर्करको हातबाट क्याचआउट गराएका सन्दीपले अर्धशतक बनाएका स्प्रीन्जरलाई पनि वर्करको हातबाट क्याच गराए।
वेष्ट इन्डिजका लागि स्पीन्जरले ४० बल खेल्दै ७ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ६२ रन बनाए।
मोन्ट्रेलका लागि सन्दीपले ३ तथा सेसिल परभेजले २ विकेट लिए।
सुरुको ३ बलमा बाउण्ड्री जाँदा केही नर्भस भएपनि आफ्नो उत्कृष्ट प्रदर्शन दिँदा विकेट लिन सफल भएको सन्दीपले पहिलो इनिङ्सपछि बताए। सन्दीपको टोलीले अब जितका लागि १६३ रनको लक्ष्य पछ्याउनेछ।
