चितवन नारायणगढ–मुग्लिङ सडकखण्डको गाईघाट नजिक अकस्मात सडक भासिएपछि आवागमन एकतर्फी भएको छ।
सडक भासिँने क्रम बढ्दै गएपछि भासिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ।
नारायणगढ–मुग्लिङ सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भासिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भासिएको बताए। भासिँने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ। सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भासिएको हो।
सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ। कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको आधा भागसम्म भासिएको खनालले बताए।
नारायणगढ–मुग्लिङ सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भासिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । उनले तलबाट नदीले खोलेर भासिएको हुनसक्ने अनुमान गरिएको बताए।
विज्ञहरुको समूह आएपछि के गर्ने भन्ने विषयमा टुंगो लाग्ने घिमिरेले बताए। नजिकको भित्तो होचो भएकाले विस्तार गर्न सहज हुने घिमिरेको भनाइ छ। एकलेन थप्न करीब पाँच मिटर उचाइबाट भित्तो काट्नु पर्ने बताइएको छ।
अकस्मात् सडक रोकिन सक्ने भन्दै सडक नियमित बनाउने गृहकार्य सुरु गरिएको छ। सोही ठाउँमा २०६० सालमा रक स्वायल एङकरिङ गरिएको थियो। तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर रक स्वायल एङ्करिङ गरिएको बताए।
भित्तोमा ड्रिल गरी १०/१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङकरिङ भनिन्छ। सोही ठाउँको रक एङकरिङले काम गर्न छोडेर धसिएको पनि हुनसक्ने अनुमान गरिएको छ।
हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ। सोही सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवातजावत गर्दछन्। रासस
