PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लोप हुँदै कर्णालीको पहिचान देउडा, स्थान नदिएको देउडाप्रेमीको गुनासो



पी बी खड्का

लोप हुँदै कर्णालीको पहिचान देउडा, स्थान नदिएको देउडाप्रेमीको गुनासो

सुर्खेत: कर्णाली प्रदेशको पहिचान झल्काउने देउडा भाका पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। यो भाका विशेष गरी कर्णाली प्रदेशको सल्यान र रुकुमबाहेक सबै जिल्लामा प्रख्यात छ।

यहाँका नागरिकले परापूर्वककाल देखि विभिन्न चाडपर्व, मेललगायत विविध अवसरको मौका पारी खेल्ने गर्छन्। पश्चिमी संस्कृतिको प्रभावले गर्दा पछिल्लो युवा पुस्ताहरु स्थानीय कला संस्कृति प्रतिको मोह घटेको अनुमान लगाउन सकिन्छ।

कालिकोटबाट सुर्खेतमा बसाइ सरेर आएका देउडा खेलका अगुवा मानबहादुर शाहीले देउडा प्रतिको आकर्षण घटेको स्विकारे। ‘हामी पुराना पुस्ता मात्रै हो देउडा खेल्ने,’ उनले भने, ‘हाम्रा छोरा नाति देउडा राम्रो मान्दैनन्।’ पछिल्लो पुस्ताले देउडा भाकाको संरक्षण गर्नुपर्ने उनी बताउँछन्।

भन्छन्, ‘पुरानो संस्कृति हो। अब आउने पुस्ताले देउडा भाका थाहा पाउन सक्दैनन्, त्यसैले यसको संरक्षण गर्न सबै लाग्नुपर्छ।’
कर्णालीमा रत्यौली, देउडा खेल, धमारीजस्ता खेल, कला संस्कृति विभिन्न अवसरहरु पारेर खेल्ने गरिन्छ।

हाल आफ्नो पुरानो कला संस्कृति जागाउनकै लागि प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हरेक महिनाको १ गते र १५ गते खुलाञ्चमा देउडा खेल खेलिने गरिन्छ। यो खेलामा प्राय पुरानै पुस्ता मात्रै देखिन्छन्। देउडा संस्कृतिलाई थोरै भएपनि संरक्षण गर्न सहयोग पु¥याएको स्थानीय रमेश पाण्डे बताउँछन्।

उनी भन्छन्, ‘अब प्रादेशिक सरकारले यसको संरक्षण गर्न सक्रियता देखाउनुपर्छ। अझै मौलिक संस्कृति बचाउन पहल नगरेको खण्डमा देउडा खेल एकादेशको कथा बन्ने पक्का छ । उनले यसका लागि हामी सबैले पहल गर्नुपर्ने र गाँउघरमा देउडा खेलका विभिन्न प्रतियोगिता गर्ने, प्रचार गर्ने गरेको खण्डमा यसलाई बचाई राख्न सकिन्छ।’

पछिल्लो समय प्रदेशमा हुने विभिन्न मेला, महोत्सवमा देउडा खेललाई प्राथमिकतामा नराख्दा देउडा प्रेमीहरुको मन खिन्न हुने गर्छ। आफ्नै ठाउँको कला संस्कृति ओझेलमा पर्न लाग्दासमेत स्थान नदिनुले आफ्नो कला संस्कृतिको वेवास्ता गरेको देउडा प्रेमी मनमाया सुनार बताउँछिन्। स्थानीय कला संस्कृति झल्काउने भने पनि छाडा संस्कृतिलाई भित्त्रयाएको उनको आरोप छ। 

देउडा संस्कृतिलाई जगेर्ना गर्न अब प्रदेश सरकारबाटै पहल नगरिए एकमात्र पहिचानको रुपमा रहेको देउडा खेल लोप भएर जाने निश्चित भएको उनको भनाई छ। कर्णालीमा गाईने ठाडी भाकासमेत लोप हुने चरणमा पुगेको छ। सरकारले नै संस्कृति जोगाउने योजनामा लाग्नुपर्ने गायिका सुनार बताउँछिन्। उनले भनिन्, ‘हामीले एक्लैले संरक्षण गर्न खोजेर हुँदैन।’ उनले भनिन्,‘यसका लागि सरकारले नै पहल थाल्नु पर्छ।’

यता, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मौलिक संस्कृतिलाई संरक्षण र संबद्र्धन गर्न आवश्यक रहेको भन्दै पहल गर्ने बताए। देउडा भाकालगायत पुराना कला संस्कृतिले कर्णालीको पहिचान झल्काउने भन्दै यसको संरक्षणमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए। देउडा भाकाको छुट्टै पहिचान भएकाले यसले पनि कला, संस्कृति र पर्यटनमा विकास पुग्ने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell