फलेवासः अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।
सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए।
गएराति झण्डै १० बजेदेखि नै पहिरो खस्न सुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन्।
बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ। बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन। वर्षा सुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बागलुङ सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ। दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस