गत मंगलबार दिउँसो राष्ट्रिय ट्रमा सेन्टरबाट डाक्टर भोजराज अधिकारी 'उठाइए'। ‘गृहमन्त्रीले भेट्न बोलाएको’ भन्दै उनलाई जबर्जस्ती मन्त्रालय लगियो। गलत रिपोर्ट बनाउन दवाव दिइयो। अधिकारीले टेरेनन्, मन्त्री रामबहादुर थापाले पनि उनलाई नभेटी फिर्ता पठाए। अधिकारीले यसलाई यातनाका रुपमा सार्वजनिक गरे। उनै अधिकारीले पहिलोपोष्टसँग कुरा गर्दै भनेका छन्, 'मैले अहिले झनै खतरा महसुस गरेको छु। डर लागिरहेको छ। म भगवान भरोसामा छु।'
तपाईँलाई अपहरणको शैलीमा गृह मन्त्रालय लगियो भनियो। बास्तविक कुरा चाहिँ के हो?
मिडियामा आएका समाचारका प्रस्तुती फरक होलान्। घटनाका बारेमा जे-जति सार्वजानिक भएको छ, सत्य हो। म ड्युटीमा हुँदा ‘गृहमन्त्रीले भेट्न बोलाउनुभएको छ, अर्जेन्ट छ’ भनेर फोन आयो। म ड्युटीमा छु आउन मिल्दैन, गाडी पनि छैन। अस्पतालबाट स्वीकृति लिनुपर्छ,स्वास्थ्य मन्त्रालय भए आउन मिल्थ्यो। गृह मन्त्रालय भन्नासाथ कसरी जानु भनिदिएँ। त्यति भन्नासाथ फोन उतैबाट राखे।एकछिनपछि दश/बाह्र जना गृह मन्त्रालयका मान्छेहरु लिन आए। गृह मन्त्रीले बोलाएर लिनै आएपछि म किन नजानु भनेर गए।
गृह मन्त्रालय पुर्यागएपछि एक डेढ घण्टासम्म एक्लै राखियो। कोही पनि सोधपुछ गर्न आएन। त्यसपछि के के सोध्दै धम्क्याउन थाले। गलत रिपोर्ट बनाउनु भन्दै दबाब दिए। सारांशमा भन्नु पर्दा मलाई झुक्याएर लगियो। गृहमन्त्रीलाई भेटाएनन्। गृहमन्त्रीको सल्लाहाकार सूर्यप्रसाद सुवेदीले आफ्नो रवाफ देखाए। सतर्क जस्तो गराए।
अनि त्यसपछि के भयो?
मैले गलत रिपोर्ट बनाउन सक्दिन भन्दिएँ। आफ्नो इथिक्स भन्दा बाहिर जान मिल्दैन भनेपछि उनीहरु अलि शान्त भए। त्यसपछि ‘घर एउटै जिल्ला चितवन रै’छ थाहा पाएको भए म आफै भेट्न आउँथे’ भने। ‘गृह मन्त्रालयमा यस्तै हुन्छ डाक्टर साब माइण्ड नगर्नुहोला अब जानुस्’ भने। मसँग गाडी छैन साँझ परिसक्यो कसरी जानु भनेपछि मलाई गाडीमै पुर्याइदिए।मेरो गुनासो यत्ति हो, काम गरिरहेको मान्छेलाई बिना कारण गृहन्त्रीले बोलाको छ भनेर एक डेढ घण्टासम्म कुराएर अपमान गरेर पठाए। मलाई धम्क्याउनु हुन्नथ्यो। गालीपूर्ण भाषा बोल्नुहुन्नथ्यो। मेरो चित्त दुख्यो। मैलै इमान बेच्दिनँ भन्दा अपमानित भए। मन्त्रीसँग भेट गराउनु भन्न मलाई आँट पनि आएन।
सामान्य घटनालाई अतिरञ्जित गरेको भनेर गृह मन्त्रालयले भनिरहेको छ नि?
मैले अघि नै भने नि मिडियामा आएका समाचारका प्रस्तुति फरक होलान भनेर। काममा भएको मानिसलाई बिनाकारण लगेर धम्क्याइयो। गलत काम गर्न दबाब दिइयो। म आफै भन्छु म अपहरणमा परेको हैन। तर, उहाँहरुको बोल्ने शैलीले बास्तवमै डराएको थिएँ। परिवार अस्पताल कसैलाई सूचना नदिइकन लगिएको थियो। धम्क्याइएको छ। उहाँहरुको शैलीको चित्त नबुझेको कुरा गरेको हुँ मैले। गृह मन्त्रालयले नगरेको कुरालाई म किन अतिरञ्जित बनाउनु? म एउटा नागरिक हो। एउटा नागरिकलाई गृह मन्त्रालयमा लगेर धम्क्याउन मिल्दैन। गलत काम गर्न दबाब दिन मिल्दैन। झुक्याउन मिल्दैन। म अपहरणमा परेको हैन, तर धम्याएको हो। गृह मन्त्रीले भेट्न बोलाको छन् भनेर एक डेढ घण्टासम्म कुराएर धम्क्याउनुको रहस्य के त?
तपाईँले धम्क्यायो, अपमानित गरियो भन्नु भएको छ, के सोधिएको थियो त्यस्तो तर्साउने गरी?
एकदम ठूलठूलो स्वरमा डाक्टर कहाँ पढेको? कति सालमा पास गरेको? जागिर कसरी खाएको भनेर सतर्क गराउने तरिकारले सोधियो। उनीहरुको भाषा एकदम कडा थियो। यी लगायत मेरो व्याक्तिगत र पारिवारिक कुराहरु पनि सोधिए। जबकि, यो कुराहरु गृह मन्त्रालयसँग सम्बन्धित पनि थिएनन्।त्यस्तै केही माओवादी कार्यकर्तालाई द्वन्द्वकालको घाइते भन्दै गलत ढंगले ‘अपांगता रिपोर्ट’ तयार पार्न दबाब दिएका हुन्। ‘तपाईँले हाम्रो मान्छेको काम यसरी गर्नुस्। यस्तो रिपोर्ट बनाउनुस्’ सम्म भने। ‘जनयुद्धका महान योद्धाहरुको मन नदुखाउनुस्’ भन्दै धम्क्याए पनि।
त्यसो भए, तपाईँ गृह मन्त्रालयबाट अपमानित भएको निर्क्यौलमा पुग्नुभयो?
हो, म अन्यायमा परेको छु। अन्यायमा नपरेको भए म किन बोल्थेँ? मलाई जस्तो अरुलाई नहोस् भनेर बोलिरहेको छु। गृह मन्त्रालयले नागरिकलाई राम्रो व्यवहार गरोस् भनेर बोलिरहेको छु।गृह मन्त्रालयमा लगेका कारणले कति बिरामीले मबाट सेवा पाउन सकेनन्। मेरा आफन्त परिवारहरु चिन्तित भए। कति धेरै फोन आए। गृह मन्त्रालयमा एक्लै राखिएको थियो, के हुने हो म अलमलमा परेको थिएँ। डराएको थिएँ। राम्ररी बोलाएको भए म डराउँदिन थिएँ।
अहिले पनि मलाई डर छ। न पावर छ, न पैसा। लुखुर लुखर हिँडिराख्ने मान्छे जुनबेला जे पनि हुन सक्छ। म भगवान भरोसामा हिँडिरहेको छु। पैसा पावर भएको मान्छेसँग पैठेजोरी खेल्न सक्दिन। मलाई भएको बास्तविकता बताउनबाहेक।
सरकारले यो घटनाको बारेमा केही बोलेको छैन। इगो लिएर बसेको छ। सरकार सामान्य नागरिकसँग संवेदनशील भएन। गृह मन्त्रालयले घटनाको बारेमा यस्तो भयो भनेर केही सार्वजानिक गरेको छैन। मन्त्रालयले गलत भयो भनेर माफी माग्न सक्थ्यो। नागरिकसँग माफी माग्दैमा सरकारको इज्जत जाँदैनथ्यो। तर, गृह मन्त्रालय घटनाको बारेमा मौन बसेर मलाई झनै डर लागेको छ।
तपाईँको माग के हो त?
मलाई मात्र हैन, काम गरेर खाने सबैलाई शान्ति सुरक्षा हुनुपर्यो भन्ने मेरो माग हो। यो घटनाको कारण मैलै झनै असुरक्षित महसुस गरेको छु। नागरिकले बिनाकारण दु:ख नपाउन र काम गर्नेले काम गर्न वातावरण पाउन भन्ने हो। सरकारले गर्न सक्ने अरु के नै छ र? हामी सबैले आफ्नो लागि त काम गरिरहेका छौं नि।अनि अर्को कुरा, यो घटनाको बारेमा सरकारले प्रष्ट पार्दिनु पर्यो। सरकार संवेदनशील छ भन्नुपर्यो। मैले निउँ खोजेको हैन, आफुलाई परेको कुरा भनेको हुँ। गृह मन्त्रालयमा पनि सबै मान्छे राम्रा नहुन सक्छन्। कसैले आफ्नो स्वार्थ पूरा गर्न गृह मन्त्रीको नामको सहारा लिएको नि हुनसक्छ। त्यो प्रष्ट पार्नुपर्यो। त्यो सार्वजानिक गर्नुपर्यो। हैन भने झनै एग्रेसिभ हुनुपर्यो। मलाई लगेर थुन्नुपर्यो। सरकार चुप लागेर बस्दा मानिसहरुले खेल खेल्ने बाटो पाउँछन्। म सरकारबाटै अन्यायमा परेको प्रतिनिधिपात्र मात्रै हुँ। त्यसैले सरकार जिम्मेवार हुनुपर्यो।
तपाईँले आफु खतरा महसुस गरिरहेको छु भन्नुभएको छ। अन्यायमा परेको भन्नु भएको छ। त्यसको लागि कानुनी बाटाहरु नि छन् नि?
यो घटनामा मेरो साथीहरु, हाम्रो चिकित्सक संघले बोलिरहेको छ, बिरोध जनाइरहेको छ। यो देशमा कानुनी बाटोमा जाँदा झनै झन्झट हुन्छ। म त्यो झन्झट बोक्न चाहन्न। मैलै साथीहरुबाट सहानुभूति पाएँ। मेरा लागि त्यो नै ठूलो कुरा हो। कानुनको नौ वटा सिङ हुन्छ भन्छन्, म म त्यतातिर लाग्न चाहन्न।
म गृहमन्त्री विरुद्ध लागेको हैन। निउ खोजेको पनि हैन। आफूलाई परेको कुरा भनेको हुँ। त्यो भन्दा खतरा हुन्छ भने म भगवान भरोसामा छु। अरु कुरा काम गर्ने संस्था र सरकारले बुझ्नुपर्यो।