
रसिया विश्वकपमा हालसम्म भएको डोपिङ टेस्ट नेगेटिभ रहेको फिफाले जनाएको छ। फिफाले प्रतियोगिता अघि र खेलको दौरान १५०० जना भन्दा बढी खेलाडीहरुको डोपिङ नमूनाहरु संकलन गरेको थियो।
बिहीवार एक एक विज्ञप्ती जारी गर्दै फिफाले लेखेको छ 'प्रतियोगिताको अघि र दौरान लिइएका सबै डोपिङ परीक्षणहरुको जाँच गर्दा नेगेटिभ परिणाम देखाएको छ।'
संकलन गरिएका नमूनाहरु वर्ल्ड एन्टी डोपीङ एजेन्सी (वाडा) को ल्याबरेटोरीमा परीक्षण गरिएको थियो। प्रतियोगिताका बेला संकलन गरिएको नमूनाहरु स्वीट्जरल्याण्डको लाउसन्नेमा रहेको ल्याबरेटोरीमा परीक्षण गरिएको हो। नमूनाहरुसँग कसैले छेडछाड नगरोस भनेर फिफाले सबै नमूनाहरुलार्इ बैँकहरुले पैसा राख्न प्रयोग गर्ने सुरक्षित बक्स प्रयोग गरेको थियो। जुन बक्स विद्युतिय साँचोबाट मात्र खोल्न सकिन्छ।
रसियामा गरिएको डोपिङ परीक्षण हालसम्मकै सबैभन्दा बढी भएको जनाइएको छ। फिफा, राष्ट्रिय डोपिङ विरुद्धका निकाय र कन्फेडेरेसनले जनवरी २०१८ देखि २०३५ परीक्षण र ३९८५ नमूनाहरु संकलन गरेको छ।
सेमिफाइनलमा पुगेका चार टोलीका हरेक खेलाडीको जनवरीदेखि हालसम्म कम्तीमा ४ पटक परिक्षण गरिएको फिफाले जनाएको छ। कोही खेलाडीहरुले त ८ पटक डोपिङ परिक्षण गरिएको थियो।
ओलम्पिकमा रसियाका धेरै खेलाडीहरु डोपिङमा पोजिटिभ पाइएका थिए। त्यसैले पनि यसपटक रसियन डोपिङ एजेन्सीहरु माथि धेरैले शंका गरेका थिए। तर फिफाले एक स्वतन्त्र निकाय नै गठन गरी डोपिङ जाँच गर्ने गरेको स्पष्ट पारेको छ। रसियाको एन्टी डोपिङ ल्याबरेटोरीका पूर्व प्रमुख ग्रिगोरी रडचेनकोभले रसियन खेलाडीहरुले प्रदर्शन सुधार्नका लागि ड्रगको सहायता लिएको आरोप लगाएपछि आयोजक राष्ट्र विवादमा फसेको थियो। दुर्इ हप्ता अघि रसियन खेलाडीहरुको डोपिङ आफूहरुले लुकाउन खोजेको समाचारको फिफाले खण्डन गरेको थियो।
संकलित सबै नमूनाहरु १० वर्षसम्म सुरक्षति राखिने र भविष्यमा फेरी परीक्षण गर्नुपरेमा उपलब्ध हुने पनि फिफाले जनाएको छ।