काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ने क पाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको अन्तिम श्रद्धाञ्जलीका लागि नेकपासहितका विभिन्न दलका नेताहरु पुगेका छन्।
उनको पार्थीव शरीरमा ने क पाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यस्तै, ने क पाका नेता बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहितका नेताहरु पार्टी कार्यालय धुम्बाराही पुगेर उनको पार्थीव शरीरमा माल्यार्पण गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताएका छन्।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर प्रधानमन्त्री ओलीले पूर्व स्वास्थ्य राज्यमन्त्री आलमको निधनप्रति गहिरो शोक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
नेता आलमको शुक्रबार साँझ सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा निधन भएको थियो। उनकोशरीरलाई शनिबार विहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको थियो।
५३ वर्षीय आलमलाई बिहीवार गृह जिल्ला रौतहटमा गएको बेला हृदयघात भएको थियो। रौतहट क्षेत्र नम्बर २ का संविधान सभा सदस्यमा निर्वाचित भएका उनी २०७२ सालमा ओली प्रधानमन्त्री हुँदा स्वास्थ्य राज्यमन्त्री भएका थिए। उनका श्रीमती, २ छोरा र १ छोरी छन्।