
मस्को : रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार शिखर वार्ता हुँदैछ। शिखर वार्ताको चार दिन अगाडि क्रेमलिनले वार्ताको तयारीका बारेमा जानकारी गराएको छ। मस्कोको समयअनुसार वार्ता १ बजे फिनल्याण्डको राजधानी हेलसिन्कीस्थित राष्ट्रपति भवनमा हुने पुटिनका सहयोगी युरी युसाकोभले जनाएका छन्।
रसियाको समाचार एजेन्सी तासका अनुसार ट्रम्प आइतबार साँझ त्यहाँ पुग्ने छन् भने पुटिन सोमबार मात्रै।
‘हामीलाई जानकारी छैन कि दुई राष्ट्रपतिबीच कति समय वार्ता हुने छ,’ युसाकोभले भनेका छन्, ‘हाम्रो तर्फबाट त्यस्तो कुनै सीमा तोकिएको छैन।’
वार्ता ‘वान अन वान’ हुने छ। उनीहरुको साथमा दोभाषे हुनेछन्। ‘वान अन वान वार्तापछि दुई देशबीचका अधिकारीहरुबीच द्वीपक्षीय वार्ता हुने छ,’ उनले भने।
वार्तापछि दुवै राष्ट्रपतिले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्ने छन्। दुवैले पत्रकारसम्मेलनमा दुई वटा मात्र प्रश्नको जवाफ दिने समेत उनले बताएका छन्। ‘यो एउटा विशेष पत्रकार सम्मेलन हुनेछ,’ युसाकोभले भने।
वार्ताको तयारीबाट दुवै पक्ष सन्तुष्ट भएको समेत उनले जानकारी दिए।
वार्तामा ‘सिरिया’ले महत्त्व पाउने
यसैबीच दुई राष्ट्रबीचको वार्तामा सिरियाले विशेष महत्त्व पाउने छ। ‘सिरियाको सन्दर्भमा धेरै विषयहरु छन्, यदि हामीले यसलाई क्षेत्रीय चासोको रुपमा हेर्छौँ भने मैले यो स्वभाविक रुपमा देखिरहेको छु,’ राष्ट्रपति पुटिनका सहयोगी युसाकोभले भने, ‘सिरिया पुटिन र ट्रम्पबीचको वार्ताको केन्द्रमा रहने छ।’वार्तामा अन्य समस्याहरुको विषयमा समेत छलफल हुनेछ। दुई राष्ट्रपतिबीचको वार्तामा उत्तर कोरिया, पूर्वी युक्रेन तथा इरानको न्यूक्लियर डिलको विषयले समेत वार्तामा प्रवेश पाउने छ।
आर्थिक साझेदारीको विषयमा छलफल हुने
पुटिन र ट्रम्पले शिखर वार्ताका क्रममा आर्थिक साझेदारीका विविध आयाममा छलफल गर्ने बताइएको छ। ‘यो हाम्रो मुख्य विषय हुने छ। स्वभाविक रुपमा हाम्रो ध्यान भनेको कमन युरोपियन नर्ड स्ट्रीम–२ प्रोजेक्टको कार्यान्वयनको विषयमा अमेरिकाको पोजिसन के हुनेछ भन्ने नै हो,’ उनले भने, ‘यो एजेन्डा समेत वार्तामा पेश हुने छ। हामीले हाम्रो मत राख्नेछौँ।’यसैबीच रसियाले अमेरिकासँग आवश्यक आर्थिक साझेदारीका क्षेत्रका बारेमा समेत छलफल गर्ने युसाकोभले जानकारी दिए। ‘हामीसँग आर्थिक साझेदारीका क्षेत्रमा केही ठोस प्रस्तावहरु छन्। हाम्रा राष्ट्रपतिले ट्रम्पसँग वार्ताका क्रममा यी विषयलाई राख्नुहुने छ,’ उनले भने, ‘दुवै राष्ट्रपति यस विषयलाई अगाडि बढाउने या नबढाउने भन्ने निर्णय गर्नेछन्। तर यस विषयमा छलफल गर्न तर्क संगत पनि छ।’
युसाकोभले अमेरिकी राष्ट्रपति सफल व्यवसायी भएका कारण उनले उनले अर्थिक विषयलाई कसरी उठाउने भन्ने जानेको समते बताए।
सेन्ट पिटरसवर्गमा हुने अन्तर्राष्ट्रिय आर्थिक मञ्जमा करिब ५५० अमेकिरी व्यवसायीहरु समेत सहभागी हुँदैछन्। यो सबैभन्दा ठूलो प्रतिनिधिमण्डल स्तरीय छलफल हुनेछ।’
आणविक विस्तारका विषयमा सहमतिमा पुग्ने ट्रम्पको विस्वास
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको छलफलका क्रममा आणविक विस्तारका विषयमा ठोस सहमतिमा पुग्ने विश्वास लिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले लण्डनमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँगको संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।‘हामीले युक्रेन सिरिया, मध्यपूर्वका अन्यक्षेत्रमा भइरहेको आणविक विस्तारका विषयमा छलफल हुने छ। यो विनासकारी प्रविधि हो। यो एउटा खराब नीति पनि हो। तर हामीसँग अर्को कुनै विकल्प छैन,’ उनले भने।
उनले पुटिनसँग यसलाई घटाउने विषयमा केही निष्कर्षमा पुग्न सकिन्छ कि भन्ने तर्फ छलफल केन्द्रित हुने समेत बताए। ‘यसको मतलव यसलाई पूर्ण रुपमा रोक्नु नै हो। सम्भवत यो सपना हो। तर पनि यो एउटा छलफलको विषयमा भने हुनेछ,’ उनले भने।