PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकप जित्ने नयाँ राष्ट्र बन्ला क्रोएसिया?, यी हुन् अहिलेसम्मका विजेता



पहिलोपोस्ट

विश्वकप जित्ने नयाँ राष्ट्र बन्ला क्रोएसिया?, यी हुन् अहिलेसम्मका विजेता

विश्व खेलकुदकै सबैभन्दा प्रतिक्षित र चर्चित मानिने फुटबलको वर्ल्ड च्याम्पियनसिप फिफा विश्वकप फुटबलको २१औँ संस्करणको फाइनल आज हुँदैछ।

एक महिना देखि रसियाको विभिन्न ११ शहरमा हुँदै आएको विश्वकप २०१८ को फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दैछन् र खेल मस्कोस्थित लुजनिकी स्टेडियममा राती ८:४५ बजे हुँदैछ।

सारा विश्वले नै प्रतिक्षा गरेको खेल हो विश्वकपको फाइनल। फ्रान्स र क्रोएसियाबीचको विजेताले च्याम्पियन बन्दै विश्वकप ट्रफी उचाल्न पाउनेछन्।

फ्रान्स यसअघि पनि एक पटक च्याम्पियन भइसकेको राष्ट्र हो भने क्रोएसिया इतिहासमै पहिलो पटक फाइनल पुगेको हो।

सन् १९३० को पहिलो संस्करणदेखि नै विश्वकप खेलेको फ्रान्सले ६८ वर्षपछि १९९८ मा घरेलु मैदानमा भएको १६औँ संस्करणमा ब्राजिललाई हराएर उपाधि जितेको थियो। ठिक त्यही विश्वकप मार्फत फुटबल महाकुम्भमा डेब्यु गरेको क्रोएसिया विश्वकपमा सहभागि भएको दुई दशकपछि नै फाइनल पुगेको हो। सन् १९९१ मा युगोस्लाभियाबाट स्वत्नत्र भएपछि फुटबल खेल्न थालेको क्रोएसियाको अन्तर्राष्ट्रिय फुटबल यात्रा भर्खर २७ वर्ष पुगेको छ।

तर जम्मा ४.५ मिलियन मात्र जनसंख्या भएको युरोपियन राष्ट्र क्रोएसियाले यस पटक विश्वकपको फाइनलमा पुग्दै सबैलाई चकित बनाएको छ।

फाइनलसम्म पुग्दा अपराजित रहेको क्रोएसियाले पूर्व च्याम्पियनहरु अर्जेन्टिना र इंग्ल्याण्डलाई पराजित गरिसकेको छ। फ्रान्सले पनि सन १९९८ मा डेब्यु फाइनलमै डिफेण्डिङ च्याम्पियन ब्राजिललाई हराएर पहिलो पटक उपाधि जितेको थियो। सन् २००६ मा पनि फाइनल पुगेको फ्रान्स पेनाल्टी सुटआउटमा इटलीसँग पराजित भएको थियो। १२ वर्षपछि पुन: फाइनल पुगेको फ्रान्स क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रदैँछ। उता क्रोएसिया सन १९९८ को सेमिफाइनलमा फ्रान्ससँगै बेहोरेको पराजयको बदला लिने दाउमा छ र अवसर पनि छ।

अहिलेसम्म विश्वकप फुटबलको २० संस्करण भइसक्का जम्मा ८ राष्ट्रले मात्र उपाधि जितेका छन्। क्रोएसियाले उपाधि जित्न सके विश्वकपले नयाँ विजेता पाउनेछ र क्रोएसिया भाग्यमानी नवौँ राष्ट्र बन्नेछ। फ्रान्स च्याम्पियन भए २ वा सो भन्दा बढी पटक विश्वकप जित्ने छैटौँ राष्ट्र बन्नेछ।
 

अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटली र जर्मनी(पश्चिम जर्मनीसहित) समान ४ पटक तथा उरुग्वे र अर्जेन्टिनाले २-२ पटक विश्वकप जितिसकेका छन्। फ्रान्स, इंग्ल्याण्ड र स्पेनले भने समान १ पटक विश्वकप जितेका छन्।

अहिलेसम्म यी ८ च्याम्पियनसहित १२ राष्ट्रले मात्र विश्वकप फाइनल खेल्ने अवसर पाएका छन्। अब फाइनल खेल्ने क्रोएसिया १३औँ राष्ट्र हुनेछ। विजेता बन्न सके ट्रफी उचाल्ने मौका पाउनेछ र तर फ्रान्ससँग पराजित भए क्रोएसिया विश्वकप पुगेर पनि फाइनलमा हार्ने अनी ट्रफी उचाल्ननपाउने पाँचौँ राष्ट्र बन्न सक्छ। यसअघि चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन र नेदरल्याण्ड्स विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्नबाट टाढा रहे।

सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप प्रत्येक ४-४ वर्षमा हुँदै आएको छ। तर दोस्रो विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप फुटबल हुन सकेन।

 

यी हुन् अहिलेसम्मका विश्वकप विजेता:

वर्ष 

विजेता

उपविजेता

गोलअन्तर

१९३०

उरुग्वे

अर्जेन्टिना

४-२

१९३४

इटली

चेकोस्लोभाकिया

२-१

१९३८

इटली

हंगेरी

४-२

१९५०

उरुग्वे

ब्राजिल

२-१

१९५४

पश्चिम जर्मनी

हंगेरी

३-२

१९५८

ब्राजिल

स्वीडेन

५-२

१९६२

ब्राजिल

चेकोस्लोभाकिया

३-१

१९६६

इंग्ल्याण्ड

पश्चिम जर्मनी

४-२

१९७०

ब्राजिल

इटली

४-१

१९७४

पश्चिम जर्मनी

नेदरल्याण्ड्स

२-१

१९७८

अर्जेन्टिना

नेदरल्याण्ड्स

३-१

१९८२

इटली

पश्चिम जर्मनी

३-१

१९८६

अर्जेन्टिना

पश्चिम जर्मनी

३-२

१९९०

पश्चिम जर्मनी

अर्जेन्टिना

१-०

१९९४

ब्राजिल

इटली

३-२

१९९८

फ्रान्स

ब्राजिल

३-०

२००२

ब्राजिल

जर्मनी

२-०

२००६

इटली

फ्रान्स

५-३

२०१०

स्पेन

नेदरल्याण्ड्स

१-०

२०१४

जर्मनी

अर्जेन्टिना

१-०

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell