PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

विराटनगर महानगरपालिकामा आर्थिक अनियमितता : काम फुटाउँदै कोटेसन बाँड्दै, यसरी विवादमा पर्दैछन् प्रमुख पराजुली



अनन्तराज न्यौपाने

विराटनगर महानगरपालिकामा आर्थिक अनियमितता : काम फुटाउँदै कोटेसन बाँड्दै, यसरी विवादमा पर्दैछन् प्रमुख पराजुली

विराटनगर : ‘आफू भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टाचार गर्नेविरूद्ध शून्य सहनशीलता अपनाउँछु’, भन्ने नारा दिँदै आएका विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली एक वर्ष नपुग्दै आर्थिक विवादमा मुछिन थालेका छन्।

गत साउन २ गते शपथ ग्रहण गरेर पदभार सम्हालेका महानगरपालिकाका प्रमुख पराजुलीले विकास–निर्माण र मरम्मत–सम्भारका अधिकांश कामहरू फुटाएर कोटेसनमा गराएपछि विवादमा तानिएका हुन्।

आर्थिक ऐनअनुसार ५ लाखभन्दा माथिका कामहरू टेन्डर प्रक्रियाबाट गर्नुपर्छ। पराजुली प्रमुख भएर आएपछि महानगरले यस्ता कामहरू विभिन्न शीर्षकमा फुटाएर ५ लाखभन्दा घटी बनाउँदै कोटेसनमा गर्दै आएको छ। 

महानगरपालिका भवनको सभाकक्षको मरम्मत–सम्भारमा ३७ लाख रुपैयाँको इस्टमेटलाई विभिन्न शीर्षकमा ८ भागमा फुटाएर कोटेसनमा काम गराइएको छ। त्यस्तै वीरेन्द्र सभागृहमा २० लाखको कामलाई ४ भाग लगाएर कोटेसनमा गराइएको छ। 

महानगरमा गत आर्थिक वर्षमा कोटेसनबाट कति रुपैयाँको काम गराइएको छ? महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहालले भने, ‘कामहरू कोटेसनबाट थुप्रै गरिएका छन्। हामी तथ्याङ्क तयार पार्दैछौं। एक हप्तापछि मात्र भन्न सक्छौं।’ 

कोटेसनमा काम गराउन प्रमुख पराजुलीले महानगरकै इलेक्ट्रिक इन्जिनियर अनिल सिंहलाई जिम्मा दिने गरेका छन्। 

इन्जिनियर सिंहले आफूले प्रमुखको आदेशअनुसार महानगरपालिका भवनको सभाकक्ष र वीरेन्द्र सभागृहको मरम्मत सम्भारको काम कोटेसनमा गरेको स्वीकार गरे।

‘मलाई जिम्मा दिइयो, मैलै गरेँ’, इन्जिनियर सिंहले भने, ‘कोटेसनमा काम गर्न कुनै पत्रिकामा र भित्तामा पनि सूचना निकाल्नु पर्दैन। आफूले इच्छाइएका आपूर्तिकर्तालाई सप्लाई गर भने पुग्छ। यस्ता आपूर्तिकर्ताले ३ वटा अलगअलग फर्ममा एउटै कामको तीन वटा अलगअलग मूल्य देखाउनु पर्छ। जुन फर्मले कम मूल्य देखाएको छ, उसैका नामबाट काम गरिन्छ वा सामान आपूर्ति गरिन्छ।’

इन्जिनियर अनिलले सभाकक्ष र सभागृह दुवैको मरम्मतका लागि कोटेसनका आपूर्तिकर्ता आफैँले ल्याएको बताए।

यसरी फुटाइयो काम

उनका अनुसार सभाकक्षको फल्स सिलिङको काम नेपाल कन्स्ट्रक्सनलाई ४ लाख ४९ हजारमा, आल्मुनियम रेलिङको काम आयुष टेडर्सलाई ३ लाख ४० हजारमा, बिजुली वायरिङको धर्मदेवी सप्लायर्सलाई ३ लाख ३७ हजारमा, एअर कन्डिसनरको नानोटेक आइटी सोलुसनलाई ४ लाख ९५ हजारमा, रङ्गरोगनको चेमजोङ कन्स्ट्रक्सनलाई ४ लाख ४६ हजारमा र फर्निचर मर्मतको काम समीर कन्स्ट्रक्सनलाई ३ लाख ४२ हजारमा दिइएको हो। सबैले काम सकेर भुक्तानी पनि लगिसकेका छन्।

‘सभाकक्षमा १३ लाखको काम अझै बाँकी छ, यो काम पनि फुटाएर कोटेसनमै गर्न प्रमुखज्यूको आदेश भएको छ’, सिंहले भने, ‘सभाकक्षमा सोफा, कार्पेटिङ, पर्दा आदि लगाउने काम बाँकी छ। यो कामलाई हामी ३ भागमा बाँडेर कोटेसनमा नै गर्नेछौँ।’ 
 

४५ हजारको एसी ५४ हजारमा 

सभाकक्षमा जडान गरिएका १ टन क्षमताका ६ थान चिगो कम्पनीका एअरकन्डिसनर प्रति गोटा ५३ हजार ९ सयमा कोटेसनबाट खरिद गरिएको सिंहले बताए। 

चीनमा उत्पादित उक्त एसी नेपालमा पाइने भारतीय एसीका तुलनामा कम गुणस्तरको र बिजुली धेरै खाने मानिन्छ। यसको वास्तविक बजार मूल्य भने प्रति गोटा ४५ हजार छ।

महानगरमा एसीको आपूर्तिकर्ता नानो टेक आइटी सोलुसन हो। यसको विराटनगर मेनरोडमा एलिना इन्फोटेक नामको सो रुम छ। एलिना इन्फोटेकका सञ्चालकलाई उक्त एसीको मूल्यका बारेमा जिज्ञाशा राख्ता ती सञ्चालकले प्रति गोटा ४५ हजार भएको बताए।
 

वीरेन्द्र सभागृहमा त्यस्तै हाल

विराटनगरको सबैभन्दा ठूलो सभाकक्ष वीरेन्द्र सभागृहमा पनि २० लाखको काम फुटाएर ४ भागमा बाँडेर गरिएको छ।
रङ्गरोगनको एउटै १० लाखको कामलाई दुई भागमा बाँडेर २ वटा अलगअलग फर्मबाट गराइएको छ।

महानगरको योजना शाखाले उपलब्ध गराएको जानकारीअनुसार रङ्गरोगनको १० लाख इस्टमेटको एउटै कामलाई २ भागमा फुटाएर दाताराम पौडेलको शुभलक्ष्मी निर्माण सेवा र यमुनादत्त दाहालको नाममा रहेको डिएस निर्माण सेवाबाट गराइएको छ।

शुभलक्ष्मीले ४ लाख ९९ हजार २ सय १८ तथा डिएस निर्माणले ४ लाख ९९ हजार ८ सय ४ रुपैयाँ भुक्तानी पाइसकेको योजना प्रमुख गोपाल पोखरेलले बताए।

शुभलक्ष्मीका दातारामले ऐनअनुसार एउटै फर्मले १० लाखको कोटेसनको काम गर्न नमिल्ने उल्लेख गर्दै डिएस निर्माण सेवाको काम गर्ने पनि आफू नै भएको जानकारी दिए।

‘हो दुवै काम मैले नै गरेको हुँ’, पौडेलले भने, ‘दुवै फर्म म नै सञ्चालन गर्छु।’

इलेक्ट्रिक इन्जिनियर सिंहले वीरेन्द्र सभागृहमा कुर्सी मर्मतको काम ४ लाख ९५ हजार विवेक ग्रिल उद्योगलाई र वायरिङको काम यशोदा ट्रेडर्सलाई २ लाख २२ हजार ७ सयमा दिइएको र भुक्तानी पनि लगिसकेको जानकारी दिए।
 

प्रमुखको स्वीकारोक्ति : 'असार मसान्तका कारण'

‘वीरेन्द्र सभागृह र महानगरपालिकाको सभाकक्षको बेहाल देखेर हरेक मान्छे मेयरलाई गाली गर्ने गर्थे’, गत असार ३० गते भएको पत्रकार सम्मेलनमा मेयर पराजुलीले भनेका थिए, ‘त्यसैले जसरी भए पनि असार मसान्तभित्र दुवै ठाउँको मरम्मत सम्भार सकौं भन्ने निर्णय महानगरको कार्यपालिकाले गरेको हो र हामीले समयमा काम सक्न कोटेसनमा काम गरेका हौं।’

पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीले विकास–निर्माण र मरम्मत–सम्भारका काम फुटाउँदै कोटेसनमा सम्पन्न गरेर आर्थिक अनियमितता गरेको भन्दै प्रश्न गरेका थिए।

प्रमुख पराजुलीले विकास निर्माणका अन्य काम पनि कोटेसनमा गरिएको स्वीकार गरे।

उनले भने, ‘अन्य विकासे कार्यालयभन्दा महानगरको परिस्थिति र परिवेश अलग हुँदो रहेछ। यहाँ उपभोक्ता समिति र कोटेसनमा काम गर्नुपर्ने रहेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell