PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

३ दिनमै जथाभावी बाटो काट्ने यात्रु पुगे १० हजार!



पहिलोपोस्ट

३ दिनमै जथाभावी बाटो काट्ने यात्रु पुगे १० हजार!

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक काट्ने १० हजार पैदल यात्रुलाई ‘सचेतना कारवाही’ गरेको छ। असार ३१ गतेदेखि तीन दिनमा राजधानीका १२ स्थानमा जथाभावी पैदल काट्ने १० हजार ५ सय ७ जनलाई सडकमा नै ‘प्रशिक्षण’ दिएको महाशाखाले जनाएको छ।  

जेब्राक्रसिङ र आकासेपुल भएका स्थानबाट बाटो नकाट्ने यात्रुलाई सजक गराउन यस्तो नियम ल्याएको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए। कारवाही भनिएको प्रशिक्षणमा यात्रुलाई कसरी र कहाँबाट बाटो काट्ने तथा ट्राफिक नियमको जानकारी गराउने गरिएको छ।

यसका लागि कोटेश्वर, थिमि, नयाँ बानेश्वर, थापाथली, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगन्ज, कालीमाटी र जावलाखेलमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।

महाशाखाले यसअघि जथाभावी काटो काट्ने पैदलयात्रीका लागि २ सय रुपैयाँ जरिवाना गरेको थियो। चौतर्फी आलोचना भएपछि गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त व्यवस्था हटाइएको थियो। आगामी दिनमा अन्य स्थानमा समेत यो नियम लागू गरिने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell