PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

विराटनगर: साढे २ अर्बको परियोजनामा नियमविपरीत प्रमुखको नियुक्ति, 'नगर प्रमुखले मन्त्रालय र एडिबीलाईसमेत झुक्याए'



अनन्तराज न्यौपाने

विराटनगर: साढे २ अर्बको परियोजनामा नियमविपरीत प्रमुखको नियुक्ति, 'नगर प्रमुखले मन्त्रालय र एडिबीलाईसमेत झुक्याए'

विराटनगर: विराटनगर महानगरपालिकामा एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालन भइरहेको २ अर्ब ६१ करोडको परियोजनामा गैरकानुनी रूपमा योजना प्रमुखको नियुक्ति भएको पाइएको छ।

महानगरपालिकामा करार सेवामा कार्यरत इन्जिनियर भरत न्यौपाने गैरकानुनी रूपमा योजना प्रमुखका रूपमा कार्यरत रहेको खुलेको हो।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहालले इन्जिनियर न्यौपानेको नियुक्ति कानुनसम्मत नभएको स्वीकार गरे।

‘सार्वजनिक खरिद ऐन २०६३ र आर्थिक कार्यविधि ऐन २०६९ अनुसार कुनै पनि कार्यालयको स्टोर किपर, आयोजना प्रमुख र लेखा प्रमुख पदमा अस्थायी वा करार कर्मचारीलाई राख्न पाइँदैन’, प्रमुख प्रशासकीय अधिकृत दाहालले भने, ‘न्यौपानेजी करार सेवामा महानगरमा १५ वर्षदेखि कार्यरत हुनुहुन्छ । पुरानो र अनुभवी भनेर नियुक्त गरिएको होला।’

दाहालले आफू महानगरमा आउनु अगाडि नै योजना प्रमुख न्यौपानेको नियुक्ति भएको र निर्णय प्रक्रियामा आफू सहभागी नरहेको जिकिर गर्दै त्यसको गुणदोषको भागी नहुने दाबी गरे।

महानगरको सडक, नाला र ढल निर्माणका लागि एसियाली विकास बैंकको २ अर्ब ६१ करोड १० लाख रुपैयाँको परियोजना शहरी विकास विभागमार्फत् आएको हो।

विराटनगरमा शहरी विकासको डिभिजन कार्यालय नै विद्यमान छ।

दाहालका अनुसार यस अवस्थामा शहरी विकास कार्यालयका प्रमुखलाई योजना प्रमुख बनाइएको भए कानुनसम्मत र बुद्धिमानी निर्णय हुन्थ्यो।

ऐनअनुसार योजना प्रमुख हुन नपाएपछि इन्जिनियर न्यौपानेले योजनाको चेकमा हस्ताक्षर गर्न पनि पाउँदैनन्। तर उनकै हस्ताक्षरमा गत आर्थिक वर्षमा ६२ करोड ९ लाख रुपैयाँको चेक भुक्तानी भइसकेको छ । यसबाहेक ३५ करोडको भुक्तानी प्रक्रियामा रहेको र साउनको दोस्रो हप्ताभित्र सम्पन्न भइसक्ने न्यौपानेले नै जानकारी दिए।

इन्जिनियर न्यौपानेले आफू २०७४ असोज ८ गतेदेखि योजना प्रमुखमा नियुक्त भएको बताए। उनले आफ्नो नियुक्ति कानुनसम्मत भएको दाबी गरे।
न्यौपानेका अनुसार महानगरको कार्यपालिकाको निर्णयअनुसार उनी योजना अवधिभरिका लागि प्रमुखमा नियुक्त भएका हुन्। २०१७ नोभेम्बर २ देखि शुरु भएको योजनाको म्याद २०१९ नोभेम्बर १ मा सकिने उनले जानकारी दिए।

महानगरले आफूलाई नियुक्त गरेको निर्णयलाई शहरी विकास मन्त्रालय र एसियाली विकास बैंकले समेत सहमति दिएको न्यौपानेले उल्लेख गरे।

सम्बद्ध स्रोतका अनुसार महानगर प्रमुख भीम पराजुलीको ‘इन्ट्रेस्ट’मा मन्त्रालय र एसियाली विकास बैंकलाई नै गुमराहमा राखेर योजना प्रमुख न्यौपानेको नियुक्ति गरिएको हो।

मन्त्रालय र एसियाली विकास बैंकमा न्यौपानेको नियुक्तिका बारेमा सहमति लिन पठाइएको पत्रमा उनी करार सेवामा कार्यरत छन् भन्ने जानकारी गराइएको थिएन। पत्रमा न्यौपाने महानगरमा १५ वर्षदेखि कार्यरत रहेको उल्लेख गरिएको थियो।

‘मन्त्रालय र एसियाली विकास बैंकले  करार, स्थायी, अस्थायी के हो भनेर छुट्याउनै सकेनन्, १५ वर्षदेखि कार्यरत भनेपछि त्यत्तिकै सहमति दिइहाले’, स्रोतले बतायो, ‘यसरी मन्त्रालय र एसियाली विकास बैंकलाई गुमराहमा पारियो।

परियोजनामा ठूलो रकमको चलखेल हुने र १ अर्बको परियोजना एक वर्षपछि थपिने निश्चित भएको हुँदा प्रमुख पराजुलीले योजना प्रमुखका लागि इन्ट्रेस्ट लिएको महानगरका एक जनप्रतिनिधिले बताए।

महानगर प्रमुख भीम पराजुलीले गत असार ३० गते गरेको पत्रकार सम्मेलनमा योजना प्रमुख न्यौपानेको नियुक्तिका बारेमा प्रश्न उठेको थियो।

पत्रकार सम्मेलनमा प्रमुख पराजुलीले सरकारले धेरै कर्मचारी पठाउनु पर्ने भएपनि नपठाएको उत्तर दिएका थिए । उनले महानगरमा डिई स्तरका इन्जिनियर चाहिने भए पनि सरकारले नदिएको गुनासो गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell