
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था केही कडाइ भएपछि सुन तस्करीहरुले नयाँ नयाँ शैलीमा तस्करी गर्न थालेका छन्।
बुधवारमात्र प्रहरीले सुन तस्करी गर्ने तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो। पक्राउ पर्नेहरुमा फैजन खान, मोहमद खासिफ र नाम नखुलेका अर्का एक जना रहेको प्रहरीले जनाएको छ। उनीहरु एयर अरबियाको विमानबाट नेपाल आएका थिए। उनीहरुको साथबाट प्रहरीले ५ सय ५९ ग्राम सुन बरामद गरेको हो।
टाँकको बटम झै सुनको गोटी बनाएर जिव्रोमुनि लुकाइ तस्करी गर्ने गरेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। एसएसपी मैनालीले भने, 'सुन तस्करी भएको सुचना आयो र उनीहरुको चेक गर्दा मुखभित्र जिव्रोमा सुन लुकाएको भेटिएको हो। बरामद सुनको बजार मूल्य २७ लाख सात हजार रुपैयाँ पर्छ।‘
मंगलवार मात्र प्रहरीले विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई दाँतभित्र सुन लुकाएर ल्याउँदै गर्दा नियन्त्रणमा लिएको थियो। यसअघि मलद्वारामा राखेर र सुनलाई झोल बनाएर समेत तस्करी हुने गरेको थियो।