PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

जुम्लामा वार्ता बसेर स‌ंसदीय प्रक्रियामा गइसकेको विधेयक परिमार्जन हुँदैन- शिक्षामन्त्री पोखरेल



विधुर ढकाल

जुम्लामा वार्ता बसेर स‌ंसदीय प्रक्रियामा गइसकेको विधेयक परिमार्जन हुँदैन- शिक्षामन्त्री पोखरेल

काठमाडौंः शिक्षामन्त्री गिरिराजमाणि पोखरलेलले संसदमा दर्तामा भएको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। विधेयक संसदीय प्रक्रियामा गइसकेकाले विधेयक फिर्ता नहुने उनले बताएका हुन्। 

बिहीबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विधेयकमा सांसदहरूले संशोधन प्रस्ताव भने दर्ता गर्न सक्ने बताए। ‘सरकारले दर्ता गरेको विधेयकमा माननीयहरू सरिता गिरी, गगन थापा, प्रेम सुवालसहितले विरोधको प्रस्ताव टाँस गरिसक्नु भएको छ। योसँगै विधेयक संसदीय प्रक्रियामा गइसक्यो,’ उनले भने, ‘विधेयक संसदले संसदमा छलफल गरी आवश्यक सुधार र संशोधन हुन सक्छ।’ 

उनले सदन बाहिर वार्ता गरेर विधेयक फिर्ता नहुने र संशोधन पनि नहुने बताए। उनले कार्यदलले दिएको प्रतिवेदन आफैमा विधेयक बन्न नसक्नेसमेत बताए। 

सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको सुझाव विपरीत आएको भन्दै चिकित्सक गोविन्द केसी २० दिन देखि जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनमा छन्। 

उनीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। चिकित्सक केसीका तर्फबाट मन्त्रिस्तरीय वार्ता टोली जुम्लामै आउनुपर्ने बताएका छन्। 

यस्तोमा मन्त्री पोखरेलले मन्त्रिस्तरीय वार्ता टोलीले बाहिर वार्ता गरे पनि विधेयक परिमार्जन नहुने र फिर्ता पनि नहुने बताएका हुन्। 
‘माथेमा कार्यदलले दिएका सुझाव तथा प्रतिवेदन राम्रो छ। तर, कार्यदलका सुझाव तथा प्रतिवेदन आफैमा विधेयक बन्न सक्दैनन्,’ मन्त्री पोखरेलले भने। 

नेपाली कांग्रेसका कारण प्रतिस्थापन विधेयक आउन नसकेको उनले आरोपसमेत लगाए। ‘२० गते प्रतिस्थापन विधेयक आउनुपथ्र्यो कांग्रेसकै कारण आउन सकेन,’ उनले भने, ‘कांग्रेसले नै नियमित प्रक्रियाबाट नै विधेयक ल्याउन भनेपछि नियमित प्रक्रियाबाट विधेयक अगाडि बढेको हो।’ 

उनले माथेमा आयोगको मनसाय अनुसार नै विधेयक ल्याइएको दाबी गरे। ‘माथेमा कार्यदलको मनसाय अनुसार नै विधेयक ल्याइएको छ। विधेयकमा लेखिएन भन्दैमा त्यो हटाइयो भन्ने होइन,’ मन्त्री पोखरेलले भने, ‘केही विषय आयोगका क्षेत्राधिकारभित्र समेत राख्न सकिन्छ। राखिएका छन्।’ 

शिक्षामन्त्री पोखरेलले अध्यादेश काँग्रेस सरकारले ल्याएको भन्दै त्यसमा आफूहरूको सहमति नभएको समेत बताए। ‘त्यति बेला नै विधेयक ल्याउने विषयमा छलफल भएको थियो। कांग्रेसकै कारण विधेयक आउन सकेन। संसद विघटन भएपछि कांग्रेसले अध्यादेश ल्याएको हो,’ उनले भने, ‘अहिले अवस्था फेरिएको छ। हामीलाई जनादेश प्राप्त भएको छ। हाम्रो एजेण्डालाई जनताले जिताएका छन्। यस्तोमा अध्यादेश जस्ताको तस्तै विधेयक बनेर आउँदैन। हाम्रो एजेन्डा अनुसार आउँछ।’ 

चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सरकारले उनलाई ल्याउन हेलिकोप्टर पठाएको छ। ‘हामी वार्ता गर्न त्यहाँ पनि जान सक्थ्यौँ। तर उहाँको अवस्था ओरालो लागेको छ। राम्रो सेवा सुविधा छैन,’ उनले भने, ‘मौसम विग्रियो भने उद्धार गर्न समेत कठिन हुन्छ। उहाँलाई यही ल्याएर वार्ता गर्छौँ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell