
सोल: दक्षिण कोरियाको उच्च अदालतले सरकारलाई २०१४ मा पानीजहाज डुबेर मृत्यु भएका पीडितका परिवारलार्इ क्षतिपूर्ति दिन आदेश दिएको छ। सरकारसँगै जहाज कम्पनी पनि घटनामा दोषी रहेको अदालतले ठहर गरेको छ।
सिवल भनिने पानी जहाज सन् २०१४ मा डुबेको थियो जसमा ३०४ जना यात्रुको मृत्युका भएको थियो। मृत्यु हुनेमा धेरैजना विद्यार्थी थिए। पीडितका आफन्तले उक्त घटनामा सरकारलार्इ जवाफदेही बनाइनुपर्ने भन्दै पहिले दिइने भनिएको क्षतिपूर्ति लिन अस्वीकार गरेका थिए।
अदालतले आफ्नो आदेशमा उक्त घटना सरकार र चेओनघाइजिन म्यारिन कम्पनीको लापरवाहीका कारणले भएको भन्दै उनीहरुलार्इ त्यसप्रति दोषी ठहर गरेको हो। अदालतले मृत्यु हुने प्रत्येक यात्रुका परिवारलार्इ १ लाख ७७ हजार डलर क्षतिपूर्ति दिन आदेश दिएको छ। यसका साथै उक्त घटनामा मृत्यु हुने विद्यार्थीका परिवारले थप ३५ हजार डलर पाउने भएका छन्।
अनुसन्धानकर्ताहरुका अनुसार सो जहाजको बनौटमा समस्या रहेको र धेरै यात्रु बोक्दै अत्याधिक गतिमा यात्रा गरिरहेको बताएका छन्। २०१४ अप्रिल २६ का दिन जेजु टापु पार गर्ने क्रममा पानीजहाज डुबेको थियो।
२०१५ मा सरकारले मृत्यु हुने लगभग २५० विद्यार्थीहरुका परिवारलार्इ ३ लाख ८० हजार डलर क्षतिपूर्ति दिने निर्णय गरेको थियो। तर, धेरै परिवारहरुले क्षतिपूर्ति दिएर सरकारले सो घटनाको अनुसन्धान बन्द गर्न सक्ने भन्दै रकम लिन अस्वीकार गरेका थिए।
सो घटना पश्चात दक्षिण कोरियाली सरकार उद्धार कार्यमा चरम लापरवाही र ढिलो गरेको भन्दै आलोचित भएको थियो। २०१५ मा जहाजका क्याप्टेनलार्इ लापरवाही गरेको भन्दै आजीवन कारावासको सजाय सुनाइएको थियो।
सिवल जहाजमा १६-१७ वर्षका ३२५ विद्यार्थी जेजु टापुमा शैक्षिक भ्रमणका लागि गएका थिए। सवार यात्रुहरु मध्ये जम्मा ७० जना बाँचेका थिए।