काठमाण्डौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म छन्। 'भैरे', 'चक्कर' र 'पण्डित बाजेको लौरी' प्रदर्शनमा आएका फिल्महरु हुन्।
'भैरे'मा अभिनेता दया हाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी र बुद्दी तामाङको मुख्य अभिनय छ। नेपालय सिनेमा इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा कमेडी, एक्सन र रोमान्स समेटिएका छन्। एभरेस्ट सुर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन्।
फिल्ममा कविराज गहतराज,बसन्त श्रेष्ठ, रामजी लामिछानेको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटा, यम बराल, अर्जुन पोखरेलको संगीत, सुर्य थोकरको एक्सन र वनिष शाहको सम्पादन रहेको छ।
यसै साता प्रदर्शनमा आएको फिल्म 'पण्डित बाजेको लौरी'मा अभिनेत्री सन्ध्या केसी, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, विजय बराल लगायतको अभिनय रहेको छ। महेश दवाडीको लेखनमा बनेको फिल्ममा पण्डितहरुको जीवनकथा देखाइएको छ। अधृत फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन्।
फिल्म 'चक्कर'मा भने कलाकारहरु सिर्जना सुब्बा, अर्पण थापा, अभोनराज उप्रेती, ऋचा शर्मा, भोलाराज सापकोटा, स्मृति पोखरेल लगायतको अभिनय छ। अनुष्का रौनियारको निर्देशन तथा लेखनमा फिल्म बनेको छ।
बलिउड फिल्म 'धडक' पनि नेपाल प्रदर्शनमा आएको छ। स्वर्गीय अभिनेत्री श्रीदेवी कपुरकी छोरी जान्वी कपुरको यो डेब्यू फिल्म हो। आमाको निधन पछिको फिल्म भएकोले पनि जान्वीका लागी र बलिउडका लागी फिल्म संवेदनासँग जोडिकएको छ। फिल्म बलिउडमा प्रतिक्षित बन्यो। शंकर खेतान निर्देशित फिल्ममा जान्वीसँगै इसान खत्तरको मुख्य अभिनय छ।
हलिउड फिल्म 'इक्वेलाइजर' पनि यसै साता प्रदर्शनमा आएको छ। एन्टोनिया फ्यूक्वा निर्देशिन एक्सन विधाको फिल्ममा डेन्जेल वासिङटन, पेन्ड्रो पास्कल लगायको अभिनय छ।