काठमाडौं : २१ दिनदेखि आमरण अनशनरत चिकित्सक प्राध्यापक डा गोविन्द केसी पक्ष र सरकारबीचको वार्ता अनिश्चित भएको छ। सरकारी पक्षले वार्ताको लागि नबोलाएकाले वार्ता हुने नहुने भन्नेमा अन्यौल भएको डा केसी पक्षका वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज सिंहले बताए। 'सरकारी टोलीले बोलाए हामी जुनबेला पनि वार्तामा बस्न तयार छौँ,' उनले भने।
जुम्लामा अनशनरत डा केसीको स्वास्थ्य अवस्था खराब भएपछि जीवन रक्षाका लागि बिहीवार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि सरकारले वार्ता गर्न पहल नगरेपछि अन्यौलता बढेको छ।
उनीसँग थप वार्ताबारे छलफल भए पनि अर्को निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।
यसअघि केसी पक्षले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखेको र सरकार त्यसमा सहमत नभएपछि वार्ता स्थगन भएको हो। डाक्टर केसीले अधिकारसहितको वार्ता टोलीको पनि माग गरेका थिए।
सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। डाक्टर केसी र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अघिल्लो सरकारले ल्याएको १० वर्षसम्म काठमाडौँ उपत्यकामा नयाँ मेडिकल कलेजको सम्बन्धन रोक्काको व्यवस्था भएको चिकित्सा शिक्षा अध्यादेशको मर्मअनुसार नै विधेयक आउनुपर्ने अडान छ भने सरकार विधेयकलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउने पक्षमा छ।
डा केसीलाई ल्याउनु अत्यावश्यक भएकाले बिहीवार बिहान हेलिकोप्टर ल्याइएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए। अनशनरत डा केसीलाई हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।