
बराबरीबाट म्यानचेष्टर युनाइटेडले २०१८-१९ को प्रि सिजन टुर सुरुवात गरेको छ। हाल अमेरिका टुरमा रहेको प्रिमियर लिग क्लब युनाइटेडले अरिजोनामा क्लब अमेरिकासँग १-१ को बराबरी खेलेको हो।
एक गोलले पछि परेको अवस्थामा युनाइटेडका लागि हुवाँ माटाले ७८औँ मिनेटमा बराबरी गोल गरेका थिए। मेक्सिकन क्लब, क्लब अमेरिकाका लागि हेनरी मार्टिनले ५९औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
बराबरीपछि युनाइटेडका व्यवस्थापक जोसे माउरिन्होले खेल्नका लागि क्लब अझै तयार नरेहको प्रतिक्रिया दिएका छन्।
विश्वकपमा सहभागिता जनाएका कारण इंग्लिस क्लब युनाइटेडका मुख्य खेलाडी टुरमा अनुपस्थित छन्। विश्वविजेता पउल पोग्वा, बेल्जियमका रोमेलु लुकाकु तथा इंगल्याण्डका जेस लिनगार्ड र मार्कोस रासफोर्ड अमेरिकी टुरमा छैनन्।
यस्तै गोलकिपर डेविड डे हेअ, नेमान्जा माटिक र ब्राजिलियन खेलाडी फ्रेड अर्को साता मात्र टिमसँग जोइन हुनेछ। भिजा समस्याका कारण एलेक्स सान्चेज पनि अमेरिकी टुरमा छैनन्।
युनाइटेड बराबरीमा रोकिँदा अर्को इंगलिस क्लब लिभरपुलले भने ब्ल्याक बर्न रोभर्सलाई २-० ले पराजित गरेको छ। वैकल्पिक खेलाडी ड्यानिएल स्टुरिज र लाजार मार्कोभिचले गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्।