PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मलेठ घटनाको प्रतिवेदनमा आयोगकै प्रवक्ताको असहमति, घटनास्थलमै नगएको दमकल तोडफोड भएको उल्लेख! 



बीपी साह

मलेठ घटनाको प्रतिवेदनमा आयोगकै प्रवक्ताको असहमति, घटनास्थलमै नगएको दमकल तोडफोड भएको उल्लेख! 

काठमाडौं : पाँच जनाको मृत्यु हुने गरी सप्तरीको मलेठमा भएको घटनाको प्रतिवेदन गत सोमवार राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको छ।
 
घटना भएको करिब डेढ वर्षपछि आयोगले सार्वजनिक गरेको प्रतिवेदन पूर्वाग्राही र एकतर्फी भएको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन्।

आयोगकै सदस्य एवं प्रवक्ता मोहना अन्सारीलेसमेत लिखित असहमति आयोगमा दर्ता गराएकी छिन्।
 
यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, तराई मानव अधिकार रक्षक सञ्जाल लगायतका मानव अधिकारवादी संस्थाहरुले प्रतिवेदनको विरोध गरेका छन्।

सदस्य अन्सारीले दर्ता गराएको असहमति पत्रमा प्रतिवेदनका गम्भीर त्रुटिहरु औल्याएकी छिन्। उक्त घटनाको अनुगमन आफूले गर्दा सुरक्षाकर्मीसहितलाई दोषी पाएको बताउँदै अन्सारीले अहिलेको प्रतिवेदनले मात्र मधेशी मोर्चा र एमालेलाई दोषी मानेको जनाएकी छिन्।

प्रहरीले कानुनी प्रवधान विपरीत गोली चलाएको जिकिर गर्दै अन्सारीले प्रतिवेदनमा बाध्यात्मक परिस्थिति देखाएर राज्यलाई जोगाउन खोजिएको आरोप लगाएकी छिन्।

प्रतिवेदनमा सुरक्षाकर्मीले अन्दाधुन्द गोली चलाएको स्वीकार गरिएपनि कसको आदेशमा गोली चलाइएको भन्ने कुरा प्रतिवेदनमा स्पष्ट नरहेकोले प्रतिवेदन गम्भीर त्रुटिपूर्ण रहेको अन्सारीको तर्क छ। मानव अधिकारको दृष्टिकोणले प्रतिवेदन त्रुटी पूर्ण रहेको ठहर अन्सारीले गरेकी छिन्।

२०७३ फागुन २३ गेत भएको मलेठ घटनाको राष्ट्रिय मानव अधिकार आयोगले २०७३ चैत्र ३१ मा अनुसन्धान गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरी छानविन गर्ने निर्णय गरेको थियो।
 
उक्त समितिमा फरेन्सीक विशेषज्ञ डा. हरीहर वस्ती, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृतद्वय मन्जु खतिवडा र जीवन न्यौपाने थिए।
समितिले तयार पारेको उक्त प्रतिवेदन सोमबार राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंमा सार्वजनिक गरेको हो।

प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै तत्कालिन मधेशी मोर्चामा आवद्ध ६ वटा दल सम्मिलित हालको राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि विज्ञप्ती जारी गरी विरोध गरेको हो। प्रतिवेदन एकतर्फ भएकोले सच्याउन राजपाले माग गरेको छ। प्रतिवेदनमा सुधार नभए प्रतिवेदन अस्वीकार गर्ने जनाइएको छ।

यसैगरी तराई मानव अधिकार रक्षक संजालले पनि प्रतिवेदनको विरोध गर्दै राष्ट्रिय मानव अधिकार आयोग घेराउ गर्दैछ।
 
संजालका पश्चिमाञ्चल संयोजक शैलेन्द्र अम्बेडकरले पहिलोपोस्टसँग भने,‘घटना स्थलमा पानीको फोहोरा हान्ने दमकल नै गएको छैन तर प्रतिवेदनमा दमकल तोडफोड गरिएको भनिएको छ। प्रदर्शनकारीले भाला र पेट्रोल बम बोकेको जिकिर प्रतिवेदनमा गरिएको छ तर त्यसको कुनै प्रमाण प्रतिवेदनमा दिइएको छैन। यस्ता कयौं त्रुटिहरु प्रतिवेदनमा छ।’
अम्बेडकरले प्रतिवेदन सरकारमुखी रहेको टिप्पणी गर्दै सुधार गर्नु पर्ने बताए।

तेस्रो मधेश आन्दोलन जारी रहेको बेला स्थानीय निर्वाचनलाई लक्षित गरी तत्कालिन नेकपा एमालेले मेची महाकाली अभियान चलाएको थियो। उक्त अभियानका क्रममा सप्तरीको राजविराजमा पनि आमसभा गर्ने तयारी थियो। तर मधेशी मोर्चाको विरोधका कारण राजविराजभन्दा तीन किलोमटिर उत्तरमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आमसभा भएको थियो।

उक्त आम सभाको विरोध गरिरहेका मधेशी मोर्चाका कार्यकर्ताहरुमाथि सभा सकिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको थियो भने १३ जनाभन्दा बढी गम्भीर घाइते भएका थिए। मारिने सबैको छाती र ठाउकोमा गोली लागेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell