PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

धुम्बाराही र पेरिसडाँडा सुनसान, ने क पाको 'मिटिङ जक्सन' बालुवाटार

धुम्बाराही र पेरिसडाँडा सुनसान, ने क पाको 'मिटिङ जक्सन' बालुवाटार

विधुर ढकाल/पहिलोपोस्ट


काठमाडौं : धुम्बराही र पेरिसडाँडा, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का दुई स्थानमा केन्द्रीय कार्यालय छन्। तर, 

दुबै पार्टी मुख्यालय सुनसान जस्तै। 

एकाध दिनबाहेक कार्यालयमा पार्टीका प्रमुख नेताहरु कमै देखिन्छन्। 

सामान्य रुपमा कार्यकर्ताहरु कार्यालयमा देखिने भए पनि नेताहरुको उपस्थिति भने देखिँदैन। 

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच असार ३ गते भएको पार्टी एकतापछि गठन भएको ने क पाका हरेक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएका छन्। यसबीच ने क पाका दुई अध्यक्षहरु प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसमेत कार्यालयमा पुगेर आफ्नो कार्यकक्षमा पुगेका छैनन्। 

पार्टी एकतापछि ने क पाले तत्कालिन नेकपा एमालेको मुख्यालय धुम्बाराही र तत्कालिन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई केन्द्रीय कार्यालयको रुपमा राखेको छ। निर्वाचन आयोगले पनि दलदर्ताको प्रमाणपत्र दिँदा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) धुम्बाराही, पेरिसडाँडा भनेर उल्लेख गरी दिएको थियो। 

जेठ ३ गते विहानै देखि बालुवाटारमा तत्कालिन दुई पार्टीका नेता कार्यकर्ताहरुको जमघट बाक्लिँदै गयो। साँझ सम्म ‘भोज’मा परिणत भयो। त्यसपछि लगातार रुपमा ने क पाको केन्द्रीय समिति, स्थायी समिति र सचिवालयका बैठकहरु बालुवाटारमा नै भइरहेका छन्। तर, मुख्यालयहरु भने सामान्य कार्यकर्ता बाहेक सुनसान जस्तै छन्। 

प्रधानमन्त्री ओली यसबीच एक पटकमात्र पेरिसडाँडा पुगेका छन्। जेठ ४ गते पार्टी कार्यालय अवलोकनका लागि उनी पेरिसडाँडा पुगेका हुन्। उनी पेरिसडाँडामा वेपत्ता परिवारको कार्यक्रममा जाने बताइए पनि उनी त्यहाँ त्यस दिन पुगेनन्। कार्यक्रममा सुवास नेम्वाङ पठाए दुई अध्यक्षले।

त्यस यता ने क पाका अध्यक्ष ओली बाहेकका तत्कालिन एमालेका केही नेताहरु पेरिसडाँ पुगेका छन्। छिटपुट कार्यक्रममा। पार्टी जनसंगठनको एकताको लागि हुने बैठकका लागि उनीहरु त्यहाँ पुग्ने गरेका छन्। 

यसबीच प्रचण्ड धुम्बाराही तीन पटक पुगेका छन्। जेठ ३ गते धुम्बाराही पुगेका उनी त्यसपछि पार्टी निकट पत्रकार संगठनको एकताका कार्यदलले आयोजना गरेको प्रेस चौतारी र प्रेस सेन्टरको विस्तारित बैठकलाई सम्बोधन गर्न त्यहाँ पुगे। 

त्यस्तै असार ३० गते तत्कालिन एमाले नेता तथा पूर्व राज्यमन्त्री मोहम्मद मुस्तक आलमलाई श्रद्धाञ्जली दिन धुम्बाराही पुगेका थिए।
 
यसबीच प्रधानमन्त्री ओली पनि पार्टी कार्यालय धुम्बाराहीमा कम नै पुगेका छन्। उनी जेठ ४ गते पछि असार ३० गते पुगे प्रचण्डसँगै । त्यस्तै १ साउनमा समेत उनी पार्टी कार्यकर्तालाई सम्बोधन गर्न धुम्बाराही पुगे। 

‘पार्टीको काम पनि बालुटारबाटै हुन थालेको छ। त्यसैले कार्यालय पनि सुनसान हुन्छ,’ धुम्बाराहीका कार्यालयका एक सहयोगीले भने। उनका अनुसार ‘पेरिसडाँडा’बाट कमै नेताहरु आउने गरेका छन्। 

‘पार्टी एकता भयो। बालुवाटारमा एकता देखिन्छ। यहाँ सम्म अलि पुगेको छैन,’ नाम नबताउने शर्तमा ती सहयोगीले भने।
 
पेरिसडाँडामा पनि धुम्बाराहीबाट कमै नेताहरु पुग्ने गरेको तत्कालिन माओवादी केन्द्रका कार्यालय सचिव प्रल्हाद बुढाथोकीले बताए। ‘अध्यक्ष तथा प्रधानमन्त्री ओली ज्यू एक पटक आउनु भएको छ। नेताहरु माधव नेपाल, महासचिव लगायत केही नेताहरु दुई चार पटक आउनु भएको छ,’ उनले भने।   

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने पार्टी अध्यक्ष प्रधानमन्त्री भएकाले पनि समयको बचतका लागि बालुवाटारमा बस्नुपरेको बताउँछन्। 
‘पार्टीका एक अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्री ज्यूको सदुपयोगका लागि मात्रै हो, यसलाई अन्यथा लिन हुँदैन।’


ट्रेन्डिङ पोस्ट

Ncell