PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

राजपा नेतालाई प्रम ओलीको डेढ घन्टे समृद्धिको कथा, ‘संविधान संशोधनको कुरा छाड्नुस्, ज्ञापनपत्र संशोधन गरेर ल्याउनुस्’



बीपी साह

राजपा नेतालाई प्रम ओलीको डेढ घन्टे समृद्धिको कथा, ‘संविधान संशोधनको कुरा छाड्नुस्, ज्ञापनपत्र संशोधन गरेर ल्याउनुस्’

काठमाडौं : गएराति प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो पटक ज्ञापन पत्र बुझाउन पुगेका थिए राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरु।

संविधान संशोधनलाई मुख्य विषय बनाउँदै ज्ञापनपत्र बुझाउन पुगेका नेताहरुलाई प्रधानमन्त्री ओलीले शुरुबाटै समृद्धिका कथा सुनाएर अलमल्याउन थाले।

करिब दुई घन्टाको छलफलमा प्रधानमन्त्रीले शुरुको डेढ घण्टा आफूले भोगेका कथा र आफ्नो योजनाहरु सुनाए।

रात छिप्पिँदै थियो।

आफ्नो विषयभन्दाबाहिरको कुरा हुन थालेपछि राजपाका नेताहरुले हाई काढ्न थाले।

आफ्नो कथामा नेताहरुको ध्यान नदेखेपछि बल्ल प्रधानमन्त्रीको ध्यान ज्ञापनपत्रमा पर्‍यो।

त्यसपछि ओलीले ज्ञापन पत्र पढे।

एकैछिनमा पहिलो नम्बरको माग बारे भने,‘तपाईहरुले इमोसनमा बगेर संविधान संशोधनको, संविधानको त्रुटिको कुरा गर्नु भएको थियो। त्यसबाट तपाईहरुलाई फाइदा पनि भयो। तर अब त्यो अवस्था छैन। संविधान संशोधन गर्ने अहिलेको आवश्यकता छैन। तपाईहरुले यो बुँदालाई संशोधन गरेर ल्याउनुस्। आउनुस् समृद्धिको कुरा गरौं, विकास निर्माणको कुरा गरौं।’

त्यसपछि ओलीले दोस्रो नम्बरको बुँदा पढेर भने,‘रेशम चौधरीको बारेमा अहिले कुनै कुरा नगरौं। अहिले यो विषयलाई छाडौं।’

राजपाको अहिलेको मुख्य माग संविधान संशोधन र रेशम चौधरीकै विषयलाई पन्छ्याएपछि राजपाका केही नेताहरुले मौन असन्तुष्टि पोखे।

तर ओलीले पुनः विकास निर्माणको कुरा गर्न थाले र मधेशका दलितको चिन्ता व्यक्त गरे। ओलीले भने,‘मधेशका दलितहरुको घर छैन है। उहाँहरु सबैको घर बनाइदिने विचार गरेको छु। तपाईहरुले पनि सहयोग गर्नुस्।’

राजपाले तेस्रो नम्बरको बुँदामा राखेको बाढीपीडितको विषयमा प्रधानमन्त्री ओलीले तत्कालै समस्याको समाधान हुने आश्वासन दिए।

राजपाको ज्ञापन पत्रको अरु कुराहरुलाई पन्छ्याउँदै प्रधानमन्त्री ओलीले भने, ‘सबै प्रदेश सरकारले त राम्रोसँगै काम गरेको छ। यो तपाईहरुको दुई नम्बरमा मात्रै किन किचकिच? अरु प्रदेशले त मजाले काम गरेको छ।’

प्रधानमन्त्री ओलीको कुरा सुनेपछि नरम स्वभावका देखिने राजपा संयोजक महन्थ ठाकुर पनि रिसाएको देखिएका थिए। त्यसपछि राजपाका नेताहरु आफै जाने तरखर गरिरहेका थिए। तर पनि प्रधानमन्त्री ओलीले विकास निर्माणको कथा सुनाइ राखे।

कथाक्रम जारी राखेपछि राजपा संयोजक ठाकुरले उठे, र ‘हस्त अब हामी लाग्छौं’' भन्दै अरु नेतासँगै बाहिरिए।

प्रधानमन्त्री ओलीको शैलीबाट अक्रोशित भएका राजपाका नेताहरुले सरकारबाट तत्कालै समर्थन फिर्ता लिनुपर्ने अडान राखेका छन्। तर अध्यक्ष मण्डलकै कतिपय नेताहरुले समर्थन फिर्ता लिँदैमा सरकारमाथि कुनै दबाब सिर्जना हुन सक्ने अवस्था नरहेकोले केही दिन कुर्ने मानस्थिति बनाएका छन्।

विहीबार विहान कांग्रेसले राजपालाई बोलाएर लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव गरेको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले संविधान संशोधनको कुरामा सहमति जनाए पनि रेशम चौधरीको विषयलाई अस्वीकार गरेका थिए। जसकारण राजपाले पार्टीभित्र छलफल गर्ने भन्दै बैठकबाट बाहिरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell