आँखामा पट्टी बाँधेकाहरु
जुरुक्क उठ्छन् र चिच्याउँछन्
म धृतराष्ट्रको दास हुँ!
पर पहाडमा ठोक्किएर सुइय्यऽऽऽऽऽ
बतास फर्किएको तिमीले सुनेनौं?
............
महाराजले नदेखेको चहक
मैले हेर्नु किन?
छाँया ओढेर मलाई मस्त सुत्न देउ
बगिरहेको पानी बिथोलेर
बस्ती पस्ने खोलाको बाटो फेर्नु छैन
किनकि महाराजले यो सब देख्नुहुन्न!
................
प्रभुले टेक्न नभ्याएको जमीनमा
मैले कसरी फूल रोप्नु?
उनैले चङ्गा नउडाएको आकाशमा
बाज उडे के!
परेवा उडे पो के!
महाराजले नै नदेख्दा
खै किन खेल्छन् हावामा सिमलका भुवा
किन हल्लिरहन्छन् यी रुखका पातहरु
..............
पँखेटा उम्रिँदै गरेका बचेरा खसालिदे गुँडबाट
गर्ल्याम्म ढालिदे त्यो बरको रुख
बज्रन दे चट्याङ कलिला निधारमा
त्यही बेला
रोकेर घण्टा, मिनेट र सेकेन्डका सुईहरु
ए समयऽऽऽऽऽऽऽ
तैँले पनि म जस्तै पट्टी बाँध्नु आँखामा.....