PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भेरी–बबई डाइभर्सन निर्माण तीव्र गतिमा : ८ महिनामा ५.६ किमी सुरुङ 

भेरी–बबई डाइभर्सन निर्माण तीव्र गतिमा : ८ महिनामा ५.६ किमी सुरुङ 

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेत: राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तीव्र रुपमा अघि बढेको छ। २०७५ कात्तिक महिनाको पहिलो साताबाट नेपालमा पहिलो पटक आयोजनाको सुरुङ खन्न टनेल बोरिङ (टीबीएम) मेसिन प्रयोग भईरहेको छ।

उक्त मेसिनले दैनिक २५ मिटर बढी सुरुङ खन्दै आएको छ भने मेसिन सञ्चालनका लागि ८४ जना चिनियाँ प्राविधिक, नेपाली र चिनियाँँ गरी ६ सय बढी कामदार सुरुङ निर्माणमा जुटिरहेका छन्। 

उक्त आयोजनाले यस वर्ष अन्य आयोजनाको रकम भन्दा बढी खर्च गरेको छ। प्रदेशमा सञ्चालित अन्य आयोजनाको तुलनामा बढी हुन सक्ने कोष तथा नियन्त्रक कार्यालयको अनुमान छ। आयोजनाले आर्थिक वर्ष २०७४÷०७५ मा ४ अर्व ५४ करोड ९५ लाख ३६ हजार खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका सुचना अधिकारी लोकप्रसाद पौडेलले जानकारी दिए। कार्यालयमा अन्य आयोजनाको भन्दा बढि भुक्तानीका लागि चेक काटिएको उनको भनाई छ। 

उक्त आयोजना लक्ष्यअनुसार प्रगति गर्न सफल भएको दाबी गरिएको छ। आठ महिनाको अवधिमा साढे ५ किलोमिटर भन्दा बढी सुरुङ खन्ने काम भएको आयोजना प्रमुख शिवकुमार बस्नेतले जानकारी दिए। 

यही गतिमा कुनै अवरोध नआए अव केही महिना भित्रै सुरुङ निर्माणको काम सकिने उनले बताए। ‘सुरुङ निर्माणको काम तीव्र भईरहेको छ,’ उनले भने, ‘कुनै बाधा अवरोध नआए अबको एक डेढ महिनामा आधा भन्दा बढी सुरुङ खन्ने काम सकिन्छ।’ 

थपेँ, ‘अहिले सुरुङ खन्न थालेको ८ महिनामा ५.६ किलोमिटर सुरुङ खन्ने काम भयो।’ सुरुको चौडाई ५.६ मिटर रहेको छ भने सुरुङ निर्माणको काम आगामी फागुनमा सक्ने सम्झौता भएको छ। 

अहिले आयोजनाका लागि भेरीगंगाको चिप्लेमा बाँध निर्माण गरिने छ। जसका लागि अहिले बाँध र बबईमा पावरहाउस डिजाइनको अध्ययन भइरहेको उनको भनाई छ। छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेमा १४ मिटर अग्लो बाँ निर्माण गरी प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिने छ। 

आर्थिक वर्ष २०६८÷६९ बाट आयोजना सुरु भएको सो आयोजना आर्थिक वर्ष २०७७÷७८ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ। यस आयोजना सम्पन्न गर्न कुल १६ अर्व ४३ करोड लाग्ने सरकारको अनुमान थियो। तर, सो लागत अनुमानले नभ्याउने देखिएको छ।  

हाल लागत बढेर करिब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आयोजनाको बाँकी काम सम्पन्न गर्न थप तीन अर्ब रुपैयाँ माग गसकेको आयोजनाले जनाएको छ।  भेरीको पानी सुरुङ मार्फत बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ। उक्त उत्पादन गरिएको विद्युतले बाँके, सुर्खेत बर्दिया लगाएतका क्षेत्र लाभान्वित हुने छन्। अहिले बबईमा धमाधम जलविद्युगृह र अन्य सम्बन्धित संरचना निर्माण भइरहेका छन्। 

आयोजना बाट बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाईको सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell