PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

माइतीघर टु बानेश्वर : तरुण दल Vs डाक्टर केसी समर्थक, तरुण दल vs सुरक्षाकर्मी, दिनभर के भयो?



सागर बुढाथोकी

माइतीघर टु बानेश्वर : तरुण दल Vs डाक्टर केसी समर्थक, तरुण दल vs सुरक्षाकर्मी, दिनभर के भयो?

डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा नागरिकहरु सडकमा उत्रिएपछि दिनभर नयाँ बानेश्वर तनावग्रस्त भयो। तरुण दलका कार्यकर्ताद्वारा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भयो। नेपाल प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो। केही नेता घाइते भए र भागाभागको अवस्था उस्तै। माइतीघरदेखि नयाँ बानेश्वरसम्म देखिएका मुख्य गतिविधि यस्ता छन्।

 

झण्डाको विवाद


१२ बजे आन्दोलनको लागि माइतीघरमा भेला हुदै गर्दा केही युवा तरुण दलको झण्डा लिएर माइतीघरमा आएका थिए। तरुण दलको झण्डा देख्नासाथ माइकिङमा आवाज सुनियो, 'यो नागरिकको आन्दोलन हो कृपया साथीहरु पार्टीको झण्डा बोकेर आन्दोलनमा नआउनुहोला।' माइकिङको आवाजलाई झण्डा बोकेका युवाहरुले टेर पुच्छर लाएनन्। पटकपटक आग्रह गर्दा पनि झण्डा देखिइरह्यो। दश, दश मिनेटको फरकमा एउटै कुरा दोहोरिएपछि झण्डाधारी युवाहरुले नि जवाफ फर्काए, 'गोविन्द केसी कसैको बिर्ता होइन। हामी झण्डा लुकाउदैनौँ।'

त्यसपछि सोलिडारिटी फर डाक्टर केसी अलायन्सका युवाहरु बानेश्वरतिर र्‍याली गर्दै अघि बढे। नेविसंघका युवाहरु मण्डलामा छुटे। दुइटै समुहको एजेण्डा एउटै थियो, डाक्टर केसीको माग पुरा होस्। फरक यति थियो सोलिडारिटी फर डाक्टर केसी एलाइन्ससँग हातमा नारा लेखिएका पम्पप्लेट थिए भने तरुण दलका युवाहरुको हातमा झण्डा। केही समयपछि ट्राफिक व्यास्थापन अवरोध गर्दै बिचबाटोबाट तरुण दलका युवाहरु अघि बढे भने एलायन्सका युवाहरु नारा लाउँदै बाटो छेउबाट अघि बढे।

 

आकर्षणको केन्द्रमा सेलिब्रेटी


डाक्टर केसीको मागमा एक्यबद्धता जनाउँदै अभिनेत्री मनिषा कोइराला पनि सडकमा आएकी थिइन्। फोटो पत्रकारले उनलाई घेरिरहे। त्यस्तै अभिनेत्री करिष्मा मानन्धर पनि पत्रकारको क्यामेरामा कैद भइरहिन्। पूर्वप्रधानन्याधीश सुशीला कार्की, हिसिला यमी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, केदारभक्त माथेमा, डाक्टर रामेश कोइराला, कलाकार निर्मल शर्मा, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतले पत्रकारहरुलाई डाक्टर केसीको माग किन जायज छन भन्ने विषयमा अन्तर्वार्ता दिइरहे।

 

सुशीला कार्की र खगेन्द्र संग्रौलाको भाषण

माइतीघरबाट निष्किएको र्याली नयाँ बानेश्वर चोकमा आएर कोणसभामा परिणत भएको थियो। नागरिक समाजका अगुवाहरुले भाषण गर्ने कार्यक्रम थियो। मानव अधिकारकर्मी कृष्ण पहाडीले बोलेपछि खगेन्द्र संग्रौलाको पालो आयो। उनको नाम बोलाउँदा नै बानेश्वर चोकमा हुटिङ सुरु भयो। ' गोविन्द केसीलाई बचाउनु ओली सरकार भन्दै म आएको हैन। खड्क प्रसाद ओली ज्यू आफ्नो नाक र आफ्नो सरकारको आयू लम्ब्याउनु छ भने डा केसीको माग पुरा गर्नुस्', संग्रौला बोल्दै गए,' ओली सरकार डाक्टर केसीको मृत्युको प्रतिक्षामा छ। चोटो समयमा धेरै बदनाम कमायो। यो सरकारको नियती अब ज्ञानेन्द्र सरकारको जस्तै हुन्छ।'

त्यसपछि बोल्ने पालो आयो सुशिला कार्कीको। हुटिङ झनै दोब्बर भयो। कार्की बोल्न थालिन्, ' राति सुत्ने बेला पनि चिन्ता लाग्छ, डाक्टर केसीलाई केही भयो कि भनेर। सरकारको मानो खाएर सरकारविरुद्ध बोलेको भन्छन् मलाई। हो म बोल्न बाध्य भएँ, बोल्नुपर्छ। अन्याय टुलुटुलु  हेरेर बस्न सक्दिनँ।' हुटिङ हुँदै गयो, कार्की बोल्दै गइन्, ' सात, आठ कक्षा पढेका मानिसलाई म माफिया, डन केही भन्दिनँ। डा केसीले उठाएका माग जनताका हुन्। उनको माग पुरा नभएर डा केसीलाई केही भए देशमा आगो बल्छ।'

 

निशेधित क्षेत्र तोड्न खोजेपछि झडप


कोण सभामा मानवअधिकारकर्मी पहाडी बोल्दै थिए। तरुण दलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्यो। प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि ढुंगामुढा प्रहार भयो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गर्‍यो। नेविसंघका आन्दोलनकारीले ढुंगामुडा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गर्‍यो।

घटनामा परी तरूण दलका अध्यक्ष जीतजंग बस्नेतलाई चोट लाग्यो। तर कोण सभा रोकिएन। अभिवक्ता ओमप्रकाश अर्याल बोल्दै गए, 'साथीहरु संयमित भएर बसौँ। अश्रूग्यास हामीलाई प्रहार भएको हैन। हामी हिंसाको हैन शान्तिको पक्षमा छौं।'

र, तरुण दलका केही कार्यकर्ताले केही क्षण तनावको स्थिति सिर्जना गरे पनि कोणसभाको अन्त्य शान्तिपूर्ण रुपमा भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell