- ‘तानाशाही ओली, अस्पतालमा गोली’
- ‘पुलिसका दाजुभाइ, साथ दिनु हामीलाई’,
- ‘माफियाका ताँती, ओली सरकारका साथी’
- ‘सरकारलाई संक्रमण, अस्पतालमा आक्रमण’
आज माइतीघरमा पूर्व संकेत मिलेको थियो- केही नयाँ हुँदैछ। केही राम्रो र केही नराम्रो दुवै भयो आज। तर, त्यही भेटिए एक रोचक पात्र।
भिडमा एकजना वृद्ध देखिए। ढाका टोपी, दौरा सुरुवाल र कालो स्टकोट लगाएका। हातमा छडी र निधारमा रातो टीका। उनी तातो घामको प्रवाह नगरी र्यालीमा हिँडिरहेका थिए।
नजिकै पुगेर नमस्कार गरेँ।
'हँ' भन्ने जवाफ आयो।
मैले फेरि नमस्कार गरेँ। उनले त्यही हाउभाउ दोहोर्याए। अनि भने, 'कान अलि कम सुन्छु बाबु।'
त्यसपछि मसँग गफिन थाले।
'कोटेश्वरबाट आएको बाबु। गोविन्द केसीलाई सपोर्ट गर्न। नाम पनि मेरो गोविन्द नै हो, थर चाहिँ श्रेष्ठ।'
'अनि किसान बाबु पनि भन्छन मलाई। सतासी वर्ष पुगेँ।'
एकै छिनमा आफ्नो परिचय सकाए।
र्याली अगाडि बड्दै गयो। उनी हिँड्दै गए। म उनको कुराहरु सुनिरहेको थिएँ।
देशमा राणा शासन आएको जस्तो लाग्छ उनलाई अहिले। ८७ वर्षको उमेरसम्म अहिलेजस्तो महँगी, बेरोजगारी नदेखेको बताए। जता जाँदा पनि आफ्नो देशजस्तो लाग्दैन अहिले। बुढेसकालमा विरक्त लाग्न थालेको सुनाए। भने, 'हेर्नुस् बाबु पहिला पहिला आन्दोलन हुँदा देश बन्छ भन्ने कत्रो आश थियो। अहिले त झनै महाराजहरु निस्किए। सम्झँदा पनि मन अमिलो हुन्छ।'
बोल्दा बोल्दै उनलाई खोकी लाग्यो। धेरै लामो समयसम्म खोकी नरोकिएपछि डर पनि लाग्यो। सेतै फुलेका बुढा घाममा हिँड्दा केही हुने हो कि भन्ने डर। हेर्दा अस्वस्थ जस्तो पनि देखिन्थे।
सितलमा बस्न आग्रह गरेँ। जोसिँदै जवाफ दिए, 'किसानको छोरो हुँ बाबु। खेती किसानी गरेको मान्छे बलियो छु। अहिले पो डाँकाहरुले देश बर्बाद पारे। सबै धुलो धुँवा। तपाईँहरु हामीजस्तो बाँच्न सक्नुहुन्न।'
उनको जवाफले डर पनि लाग्यो।
सोधेँ, 'डाक्टर केसीको माग थाहा छ ?'
उनी जंगिए, 'हामी पहिलाको मान्छे हौं। अहिलेको ठेउके जस्तो हो र केही नबुझी हिँड्ने। चिकित्सा शिक्षा अध्यादेश पास हुनुपर्छ भन्ने माग हो केसीको। माथेमा प्रतिवेदनमा भएको कुरा माग गरेका छन् उनले। पत्रिकाहरु पढ्छु। टिभी हेर्छु। आफ्नो विवेक प्रयोग गर्न सक्छु।'
उनी बोल्दै गए, 'के गाँउका जनताले अस्पतालमा उपचार नपाउने? गरिबको छोराले डाक्टर पढ्न नपाउने। करोड तिरेर धनीका छोरा मात्रै डाक्टर बन्ने? गरीबको छोरोले कहाँबाट झिक्छ हँ करोड?'
बोल्दा बोल्दै फेरि खोकीले एकछिन रोक्यो। एकछिन पछि फेरि बोले, 'बिरामी छु। धेरै बोल्न सक्दिन।'
'अस्पताल जानुपर्छ नि त बा।'
सुझाव सुनेर आफ्नो कथा सुनाउन थाले। उनी केही वर्षअघि धेरै अस्पताल धाएछन्। तर, न रोग पत्ता लाग्यो न सञ्चो नै भए। अस्पताल जाँदा राम्रो उपचार नपाएकै भएर अस्पताललाई हेर्ने नजर राम्रो रहेनछ उनको। भने, 'दशतिर धाएँ बाबु। बुढो मान्छे कति धेरै लाइन बसेँ। दशथरी डाक्टरलाई देखाएँ। अनेक चेक गर्यो डाक्टरले। अलिकति नि सन्चो भएन। पैसाको मात्रै सत्यानास।'
उपचार गतिल नभएकै कारण डाक्टर केसीलाई सपोर्ट गरेको बताए उनले। डाक्टर केसीको माग पूरा भए जेहेन्दार मान्छे डाक्टर बन्न सक्ने विस्वास छ उनको। डाक्टर पढ्दा राम्रो अभ्यास पाउनको लागि पनि केसीको माग पूरा हुनुपर्ने सुनाए। डाक्टर केसीको माग पूरा भएपछि राम्रो डाक्टर मात्र हैन अस्पताल पैसामुखि भन्दा पनि सेवामुखि हुने तर्क छ उनको।
'धेरै मान्छेले डा केसीको माग ठीक छैन भनिरहेका छन नि त बा?'
यो सोध्न जरुरी थियो। उनले पनि जवाफ दिन जरुरी ठाने।
डाक्टर केसीको माग जायज नै लागेको रहेछ उनलाई। सबै जनता राजनीतिमा लागेर केसीका माग ठीक नदेखेको अनुभव छ। अहिले डाक्टर केसीको मागको विरोध गर्नेहरु भोलि उपचार नपाएर मर्ने खतरा रहेको बताए। सुनाए, 'अहिले राम्रो गर्नेहरुको विरोध गर्छन्। पछि देशमा रोजगार नपाएर खाडी पुगेर आफ्नो देशलाई गाली गर्छन्। यस्तै ठेउकेले देश बिग्रको हो बाबु। सब नेताको पछि लाग्ने भेडा भए।'
उनले मलाई प्रश्न गरे, 'म मर्न लागेको बुढो किन यो घाममा आन्दोलनमा आको छु थाहा छ?'
'आफ्नो नेपाल आमाप्रतिको कर्तव्य पूरा गर्न,' प्रश्न सँगै उत्तर पनि दिइहाले।
'तपाईँ त कांग्रेस हो कि क्या हो बा?'
प्रश्न नसक्दै जवाफ दिए, ' म बुढो मान्छे प्रतिनिधिलाई साक्षी राखेर ५ वटै भोट एमालेलाई हालेको छु। यस्तो गर्छ भन्ने थाहा पा'को भए किन हाल्थेँ? अहिले पछुतो लागिरा'छ।'
सरकारको आँखा फुलो परेको बताए उनले। बालकृष्ण ढुंगेललाई माफी र डा केसीलाई अपहरणको शैलीमा लगेको चित्त बुझेको छैन उनलाई। सरकारले गति छाडेको अनुभव गरेको बताए। कुनै पनि पार्टीको सदस्य भने नभएको सुनाए। भने, 'पैला पैला कांग्रेसलाई भोट हालेर पछुतो गरियो बाबु। अब एमालेले केही गर्ला भनेर भोट हालेको त झनै पछुतो भो।'
'अबको चुनावमा कस्लाई हाल्ने त भोट?'
'खै बाबु सबै उस्तै छन्। यस्तो धुलो धुँवाको देशमा त्यतिन्जेल के बाँचिएला र, भोट हाल्नु?'
उनी खिन्न देखिए। केही नबोली सरासर हिँड्न थाले।
ठीक अगाडि माइकमा ठूलो स्वरमा रन्जु दर्शना 'एक, दुई, तीन, चार, हामी मान्ने छैनौं हार' भन्दै नारा लगाउँदै थिइन्। दर्शनातिर संकेत गर्दै सोधेँ, 'उहाँलाई चिन्नुहुन्छ।'
'टिभीमा हेरिराछु। पत्रिकामा देखिराछु। चिन्छु नि बाबु। केही गर्न खोजिरा'छन्।'
उनी पहिला जसरी खुलेर बोलेनन्। पार्टीको पछि लागेर देश बर्बाद भएको बताए। कुनै पक्षको समर्थन र विरोध गर्दैमा पार्टीको नाम झुण्डाउने प्रवृत्ति मन नपर्ने सुनाए। युवाहरु नै विभाजित भएको कारण देश विकास नभएको बताउँदैँ भने, 'डाक्टर केसी मरे भने देशलाई कलंक लाग्नेछ। देशमा आगो बल्नेछ।'
कुरा गर्दागर्दै भिँडतिर कतै हराए उनी। बानेश्वरमा भएको कोणसभाको रिपोर्टिङ गर्न थाले म। नागरिक समाजका अगुवा कृष्ण पहाडी बोल्दै गर्दा झडप भयो। नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार भयो। नेविसंघका युवाहरुले ढुंगा प्रहार गरे। म ती बालाई भिडमा खोज्न थाले। चारैतिर हेर्दा कतै देखिएनन्।
पूर्वप्रधान्याधीस सुशिला कार्कीले भाषण गर्दै गर्दा, 'डा केसीको माग पूरा नभए देशमा आगो बल्छ' भनिन्। त्यो सुन्नासाथ लौरा टेकेर आन्दोलनमा आएका ती बा आँखामा नाच्न थाले। आशा छ, सकुशल कोटेश्वर पुगे होलान्।