PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

९ वर्षीय बालक डेढ महिनादेखि अपहरितः 'परिवारले १५ लाख फिरौती बुझाए पनि अपहरणमुक्त भएनन्'



राधेश्याम पटेल

९ वर्षीय बालक डेढ महिनादेखि अपहरितः 'परिवारले १५ लाख फिरौती बुझाए पनि अपहरणमुक्त भएनन्'

वीरगंजः बाराबाट अपहरणमा परेका व्यवसायी ललनप्रसाद गुप्ताका ९ वर्षीय छोरा अंकित गुप्ताको अवस्था अझै अज्ञात छ। अपहरण भएको डेढ महिना बितिसक्दा पनि प्रहरीले प्रभावकारी रूपमा अनुसन्धान अघि नबढाएको परिवारको आरोप छ।

धान किनबेचको व्यवसाय गर्दै आएका जितपुर बजारका व्यवसायी ललनका अनुसार साथीको घरमा जान्छु भनेर निस्किएको छोरा अंकित घर फर्केका छैनन्।

अंकित जितपुरको भिजन केयर स्कुलको कक्षा ३ मा अध्ययनरत थिए। जेठ २३ गते नै हराएको जानकारी प्रहरीमा दिए पनि अवस्था पत्ता लाग्न सकेको छैन।

 

फिरौती दिइयो अपहरणमुक्त भएनन्

बालक हराएको केही समयपछि परिवारलाई फिरौतीका लागि धम्कीपूर्ण रूपमा फोन आउन लागेको परिवारको भनाई छ। फिरौतीका लागि फोन आएपछि परिवारले अपहरणको शङ्का गरेका थिए।

निरन्तर रूपमा फोनमा डेढ करोड फिरौतीको माग आएपछि १५ लाखमा बालकलाई अपहरणमुक्त गर्ने सहमति भएको बुबा ललन बताउँछन्।

शर्त अनुसार अंकितकी आमा संगीता देवीसमेतका आफन्तजनले असार ३२ गते भारत मोतिहारीमा गएर १५ लाख फिरौती पनि दिएको परिवारको दाबी छ। तर फिरौती दिएको एक साता बित्दा पनि अंकित अपहरणमुक्त नभएका हुन्।

‘छोराको बारेमा केही जानकारी छैन, प्रहरीले पनि सधैँ एउटै जवाफ दिने गरेको छ, खोजविन गर्दै छौँ भनेर’ अपहरणमा परेका अंकितका बुबा ललनले भने।

बाराकी एसपी मीरा चौधरीले अनुसन्धान भएता पनि सफलता प्राप्त नभएको बताइन्। 'अनुसन्धान भइरहेको छ। नम्बर भेरिफिकेशनदेखि लिएर घटनासँग सम्बन्धित मान्छे ल्याएर सोधपुछ गरिरहेका छौँ’ एसपी चौधरीले भनिन्, ‘तर घटनाको केही लिडमा पुग्न सकेका छैनौँ।’

घटनाको सम्बन्धमा प्रहरीले पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा बजारका ड्रम व्यवसायी ताज मियाँ, मियाको ड्रम उद्योगमा काम गर्ने सिक्टा बलथरका अजय पटेल र निजको भाई गरी तीन जनालाई नियन्त्रणमा लिई छानबिन गरिरहेको छ। पक्राउ परेका अजय पटेल र ताज मियाँको एनसेलको नम्बरबाट अपहरणकारीसँग फोन सम्पर्क गरेको आशंकामा उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिई छानबिन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell