PahiloPost

Nov 6, 2024 | २१ कात्तिक २०८१

सङ्घर्षको इतिहास बोकेको कोइराला निवास, कसरी जोगाइरहेछन् डाक्टर शेखरले?



अनन्तराज न्यौपाने

सङ्घर्षको इतिहास बोकेको कोइराला निवास, कसरी जोगाइरहेछन् डाक्टर शेखरले?

  • सन्दर्भः विपी स्मृति दिवस।

विराटनगरः निरङ्कुश पञ्चायती शासनकालमा शासनको बागडोर पक्रेर बसेका राजा वीरेन्द्रलाई विपी कोइरालाले निडरताका साथ भनेका थिए, ‘सरकार, विराटनगरमा मेरो घर छ। खेती छ। राजनीतिमा असफल भएँ भने म त्यहीँ जान्छु र खेती गरेर बस्छु। तर सरकार असफल हुनुभयो भने कहाँ जाने? के गर्ने ?’

तिनै दूरदर्शी राजनीतिज्ञ र नातामा आफ्ना ठूलो बुबा पर्ने विश्वेश्वरले राजा वीरेन्द्रलाई सगौरव बताएको घर अर्थात् कोइराला निवास जोगाउने जिम्मा डाक्टर शेखर कोइरालाको काँधमा आइपरेको छ।

आमा दिव्यातर्फका पछिसम्म जीवित र सक्रिय चार छोरा विपी, तारिणी, केशव र गिरिजामध्ये डाक्टर शेखर केशवका कान्छा छोरा हुन्। जेठा छोरा निरञ्जन (निरुदा) भारतको नयाँ दिल्लीमा बस्दैै आएका छन्।

शेखरकी आमा नोना कोइरालाले कोइराला निवास र यसले चर्चेको साढे ९ बिघा जमिनलाई राष्ट्रियकरण गरेर निवासलाई राष्ट्रिय सङ्ग्रहालय बनाउनु पर्ने आग्रह गरेकी थिइन्। जीवनको उत्तराद्र्धमा नोनाले गरेको आग्रहलाई सञ्चार माध्यमबाहेक अन्य क्षेत्रले त्यति महत्त्व दिएनन्। २०६३ माघमा नोनाको निधन भयो।

नोनाको निधनपछि कोइराला निवासको घरायसी व्यवहारलाई उमा शर्माले बहन गरिन्। २०१७ साल फागुन ७ गते राजा महेन्द्रलाई नोना र शैलजासँगै कालो झन्डा देखाउने साहसी महिलामा उमा पनि थिइन्। २०२१ मा जेलमुक्त भएपछि केही समय राजधानी बसेर उनी सोझै कोइराला निवास विराटनगर आएकी थिइन्। त्यसपछि निरन्तर यहीँ बसेकी उनको निधन २०७३ सालमा भयो।

तर, नोनाको भावना विपरीत कोइराला परिवारका सदस्यले आ–आफ्नो भागको जमिन विक्री गरे। विपी पुत्र प्रकाश, श्रीहर्ष र शशांक अनि तारिणी पुत्र ज्योतिले आफ्ना भागको सबै जमिन बेचे। काङ्ग्रेस कार्यकर्ताले यसको तीव्र विरोध गरे।

आफ्ना अंशको जमिन विक्री नगर्नेमा केशवका २ छोरा निरञ्जन र डाक्टर शेखर अनि काका गिरिजा भए। 

२०६६ सालको दशैँमा विराटनगर आएका बेला काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मोरङ काङ्ग्रेसको कार्यालयमा स्वर्गीय नोना कोइरालाको प्रतिमा अनावरण गरे। कार्यक्रममा उपस्थित काङ्ग्रेस कार्यकर्ताले कोइराला निवासको जमिन विक्री र निवासको अस्तित्वका बारेमा धेरै प्रश्न उठाए।

कार्यकर्ताको भावना देखेर गिरिजा पनि भावुक भए। आँखाभरि आँसु टल्पलिएका उनले भने ‘अब म फर्केर विराटनगर आउँदिन। खोटो कोइराला निवास हेर्न सक्दिनँ।’

यति बोलेर सोझै विमानस्थल पुगेका कोइराला साँच्चै विराटनगर फर्किएनन् उनको निधन त्यही सालको चैतमा काठमाडौँमा भयो।

00000
पिताजी कृष्णप्रसादले बनाएको यही घरबाट विपीले सात सालको क्रान्ति सम्पन्न गरे। २०१५ को पहिलो आमनिर्वाचनमा विपी यहीँबाट विजयी भए अनि २०३७ को जनमत सङ्ग्रहमा यही घरले प्रचारप्रसारको मुख्य नेतृत्व लियो।

विपी सँगसँगै भाइहरू तारिणी, केशव र गिरिजाले यही घरमा आफ्नो व्यक्तित्व बनाए। काठमाडौँमा तनाव भएपछि गिरिजा ‘उचित निर्णय लिन’ विराटनगरस्थित कोइराला निवास नै आइपुग्थे।

सत्याग्रह २०४२, पञ्चायतको आउटपोस्ट कब्जा गर्ने नाममा गाउँ पञ्चायत र नगर पञ्चायतको निर्वाचन २०४४ मा सहभागिता, जनआन्दोलन २०४६ र दोस्रो जनआन्दोलन २०६२–६३ मा पनि कोइराला निवासको योगदान नेतृत्वदायी थियो ।   

00000
‘हो, हामी यो जमिन र घर बेच्दैनौँ’, डाक्टर शेखरले भने, ‘गिरिजाबाबुबाट पाएको जमिनलाई सुजाताले पनि संरक्षण गरेकी छन्। ऊ बस्ने घर जिपी फाउन्डेसनका नाममा छ। बाँकी जमिन उसको आफ्नै नाममा छ।’

उनको भनाइ छ ‘हामी बाँचुन्जेल यसलाई जोगाएरै राख्नेछौँ । ‘निरुदा’ पनि यसमा सहमत हुनुहुन्छ। उहाँका २ छोरा हिमांशु र भास्कर अनि मेरी छोरी नेहा पनि कोइराला निवासलाई यथावत् राख्ने पक्षमा छन्। 

‘अझ म त सक्रिय राजनीतिमा छु’, शेखरको तर्क थियो, ‘पिताजीको पालादेखिको चेतना, संस्कार र सभ्यतालाई कायम राख्न पनि यो घरलाई संरक्षण गर्नुपर्छ भन्ने लाग्या छ।’ 

कोइराला निवासको यो घर एक सय वर्षअघि कृष्णप्रसाद कोइरालाले बनाएका हुन्। मातृका, विपी, गिरिजा लगायतका बुबा कृष्णप्रसादलाई पिताजी भन्ने गरिन्छ।

पिताजी राजनीतिक विद्रोही त छँदै थिए, आदर्श र मर्यादापूर्ण जीवनका प्रतिमूर्ति पनि थिए।

‘उहाँले हाम्रो परिवारलाई मात्र होइन, चिनेजानेका सबैलाई संस्कार, सभ्यता र मानवता सिकाउनु भयो’, शेखरको भनाइ छ, ‘उहाँकै संस्कार पाएर हामी अहिलेसम्म टिकेका छौँ भन्ने लाग्छ।’

उनका अनुसार अहिलेको कोइराला निवास अब २ बिघा र केही कट्ठामा अवस्थित छ। यो घर निरञ्जन र शेखरको संयुक्त अंशमा पर्छ।

काठको घर, टिनको छानो र बाँसका भित्तामा माटो लेपन गरिएको। एक सय वर्षभन्दा पुरानो घरलाई जोगाउन शेखरले निकै मेहनत गर्नुपरेको छ।
‘धमिराबाट जोगाउन घरलाई हरेक दुई वर्षमा उपचार गर्नुपर्छ, यो उपचार निकै महँगो छ’, डाक्टर कोइरालाले सुनाए, ‘आमाकै पालादेखि घरको हेरचाह गरेर बसेका बहिनीहरू छन्। उनीहरूलाई सामान्य भए पनि तलब दिएको छु। यसमा ३०–४० हजार जति खर्च छ। थप ३० हजारजति घरखर्च लाग्छ। अहिले त कर पनि राम्रै बढेको छ।’

‘अब तपाईँ सोध्नुहोला, यो खर्च कसरी जुटाउनु हुन्छ भनेर’, शेखरले आफैँ स्पष्ट पारे, ‘निरुदा र मेरो भागमा १०–१० बिघा खेती छ। त्यो २० बिघा खेत हामीले ठेक्कामा दिएका छौँ। त्यसको आम्दानी यही घरमा खर्च हुन्छ। खेतीको आम्दानीले निरुदाले केही लिनुहुन्न। मेरो खल्तीमा पनि पर्दैन। त्यही आम्दानीले यो घर चलेको छ।’

शेखरले भने, ‘नेपाली राजनीति र साहित्यसित अलिअलि परिचित जहाँसुकैका नेपाली हुन्, विराटनगर आएका बेला कोइराला निवासको अवलोकन गर्न आएको थुप्रै देखेको छु। विभिन्न मुलुकका राजदूत र नागरिक पनि विराटनगर आएका बेला कोइराला निवास हेर्ने इच्छा गरेर यहाँ आएको पाएको छु। पिता–पुर्खाले हामीलाई एउटा संस्कार, सभ्यता र शैली दिएर जानुभएको रहेछ। हाम्रो सम्पत्ति नै यही रहेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell