PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

गोविन्द केसीका पक्षमा एक हुन आग्रह गर्दै देउवाले भने : माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ



नेत्र तामाङ

गोविन्द केसीका पक्षमा एक हुन आग्रह गर्दै देउवाले भने : माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ

ललितपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीको माग जायज भएको उल्लेख गर्दै उनको माग पुरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्। ३६ औं वीपी स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति देउवाले केसीको माग पुरा नभएसम्म कांग्रेसले आन्दोलन जारी राख्ने र यही नै वीपीप्रतिको सम्मान हुने बताए।

'डा गोविन्द केसीको माग जायज हो। यसमा हाम्रो समर्थन छ। जारी रहन्छ। उहाँको माग पुरा गर्न हामी लाग्छौ। उहाँलाई बचाउन एकतावद्ध हुनुपर्छ। वीपीप्रति यही हो सम्मान,' देउवाले अगाडि थपे, 'वीपीले भन्नुभएको थियो कम्युनिस्ट कहिल्यै प्रजातन्त्रवादी हुदैनन्। कम्युनिस्टसँग कहिल्यै मिल्नु हुदैन भन्नुहुन्थ्यो। हो रहेछ।'

आफ्नो सरकारको पालामा कम्युनिष्टहरुलाई नै राखेर माथेमा आयोगले ल्याएको कुरा सबैसँग सहमति गरेर ल्याएको चिकित्सा शिक्षा अध्यादेश उल्ट्याउन खोजेको भन्दै देउवाले आपत्तिसमेत जनाए। देउवाले भने, 'त्यो अध्यादेश पास गरेको हो मेरो पालामा। तथाकथित प्राइभेट कलेज पोस्नका लागि  कम्युनिस्ट सरकारले उल्ट्याउन खोजे।' 

ने क पाको सरकारले विश्वमै नभएको नियम ल्याएर तथाकथित निषेधित क्षेत्र घोषणा गरेको उल्लेख गर्दै देउवाले तानाशाही शासन ल्याउन खोजेको आरोप लगाए।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्तरीय स्वास्थ्य शिक्षामा माफियालाई पोसेर सरकार शोषक वर्गको स्थापना गर्नतिर लागेको आरोप लगाए। यस्तो किसिमको कम्युनिजम समाजवादी हुन नसक्ने उल्लेख गर्दै पौडेलले कांग्रेसले सरकारलाई अधिनायकवादी बाटोमा जान नदिन चेतावनी दिँदै आएको बताए।

महामन्त्री शशांक कोइरालाले देशको विकासका लागि कांग्रेस एक हुनैपर्ने धारणा राख्दै वीपीले कार्याकर्ता र देशप्रति गरेको योगदानको चर्चा गरे। कार्यक्रममा कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु गोपालमान श्रेष्ठ, डा रामशरण महत र कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले वीपीको योगदानबारे चर्चा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell