PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

जुम्लादेखि नयाँ बानेश्वरसम्म प्रहरीको बदनामी : किन संयम गुमाउँछ प्रहरी?



सविन ढकाल

जुम्लादेखि नयाँ बानेश्वरसम्म प्रहरीको बदनामी : किन संयम गुमाउँछ प्रहरी?

काठमाडौँ: गत बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिल्ला प्रहरी कार्यालय जुम्लाका एक प्रहरी निरीक्षकले आफ्नोतर्फ एक प्रहरीको मृत्यु भएको माइकिङ गरे। 

तर वास्तवमा यो सही थिएन। प्रहरीले अनसनरत डा. गोविन्द केसीलाई हेलिकप्टरमा राखेर काठमाडौँ ल्याउन एउटा प्रोपोगाण्डा गरेको थियो। यसको डिजाइनर को थियो? थाहा भए, तर कलाकार भने प्रहरी नै बन्यो। एक प्रहरी निरीक्षक।

जनताको शान्ति सुरक्षामा खटिएको प्रहरीले पनि झुटो बोल्दो रहेछ। अब प्रहरीलाई पत्याउने कसरी? बोली मात्र होइन अहिले अस्पताल हाताभित्र चलेको भनिएको गोलीले पनि प्रहरीको छवि झनै धमिल्याएको छ। प्रहरीले गोली नचलेको दाबी गरिरहँदा प्रत्यक्षदर्शीले भने गोलीको आवाज सुनेको बताएका छन्। एक्सरेमा पनि गोली जस्तै देखिएको सम्बन्धित चिकित्सकहरुले बताएका छन्। 

अस्पताल हाताभित्र नै तोडफोड भयो। अस्पतालमा क्षति पुग्यो। संयमता प्रहरीले गुमायो कि प्रदर्शनकारीले ? 

स्थानीय प्रशासन ऐन २०२८ अनुसार कुनै पनि भिड नियन्त्रण गर्ने प्रहरीले सुरुमा लाठिचार्ज, अश्रुग्यास, पानीको फोहोरा र त्यसपछि मात्र हवाई फाइरिङ गर्न पाउँछ। सिधै गोली हान्न कानुनले दिँदैन। तर जवान आचार्यको छातीमा लागेको गोली नै पुष्टि भए झनै डरलाग्दो देखिन्छ। प्रहरीले अन्तिम अवस्था खुट्टामा मात्र गोली हान्ने अधिकार दिएको छ। त्यसमा पनि अस्पताल हातामा त यो नियम पनि लागू हुँदैन।

ट्रेनिङमा सिकेको ज्ञान फिल्डमा लागू हुन नसक्दा कहिलेकाहीँ प्रहरीले संयमता गुमाउने गरेको पूर्व डिआइजी केशव अधिकारी बताउँछन्। पूर्वडिआइजी अधिकारी भन्छन्, 'प्रहरी भिड नियन्त्रणको बेला टेक्निकल ज्ञानको कमि हुन्छ। प्रर्दशनकारी एक हुल भएर माहुरीको रुपमा अगाडि बढ्छन्। प्रहरी पनि त्यही रुपमा अगाडि जान्छ। जसले गर्दा उसले आफ्नो कमान्डको निर्देशन नै देख्दैन र दुईतर्फ बढी क्षति हुने गरेको छ।' 

जुम्लाबाट शनिबार बानेश्वरसम्म आइपुग्दा प्रहरी फेरि आक्रोशको पात्र बन्यो। भिड नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरे। धेरैका टाउकामा लठ्ठी बज्रिए। प्रहरी माथि पनि ढुङ्गा हानियो। केही प्रहरी घाइते भए। तर बदनाम केवल प्रहरी नै बन्यो। अधिकारी भन्छन्,' डरको मानसिकता बोकेर भिड नियन्त्रणमा जाँदा प्रहरीले संयमता गुमाउँछ।'

एक सुरक्षाकर्मीले आफ्नो साथमा भएको पेस्तोल देखाउँदै भिड नियन्त्रण गर्न खोजेकोमा उनी सामाजिक सञ्जाल आलोचित बनिरहेका छन्। पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी प्रहरी भिड नियन्त्रण सम्बन्धी तालिमलाई नियमित गर्न नसक्दा यस्ता समस्या भएको बताउँछन्। उनी भन्छन्' एउटै प्रहरी दैवी प्रकोप, अपराध नियन्त्रणदेखि भिड नियन्त्रणसम्म खटिनु पर्ने हुन्छ। भिड नियन्त्रणमा नियमित तालिम हुँदैन। त्यसैले गर्दा कहिलेकाहीँ ओभर रियाक्ट गर्न पुग्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell